काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान, लोकतन्त्र र वर्तमान राजनीतिक व्यवस्थाको संरक्षणका लागि युवाहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै यादवले मुलुकको वर्तमान राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको भन्दै पार्टी र संवैधानिक व्यवस्थाको संरक्षणमा युवाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले संविधान र व्यवस्था संरक्षणका लागि आवश्यक परे आन्दोलन र जेल जानसमेत तयार रहन तरुण युवालाई आग्रह गरे। वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै यादवले सरकारले संविधान र राजनीतिक व्यवस्था कमजोर पार्न सक्ने भन्दै युवाहरू सचेत रहनुपर्ने बताए।
‘अहिलेको विषम राजनीतिक परिस्थितिमा प्रजातन्त्र र संविधान जोगाउन भोलि आन्दोलन गर्नुपर्ने वा जेल जानुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘त्यसका लागि पनि तयार हुनुस्। जतिबेला जे पनि हुन सक्ने भएकाले संविधान र व्यवस्था संरक्षणमा तरुण दल सजग भएर बस्नुपर्छ।’
यादवले पार्टीभित्र एकता कायम राख्दै संविधान र व्यवस्थाको संरक्षणका लागि कांग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए। उनले तरुण दलको संगठनलाई पनि थप एकताबद्ध र सशक्त बनाउनुपर्नेमा जोड दिए।
कांग्रेसको आगामी महाधिवेशनमा आफू मधेसी क्लस्टरतर्फबाट सहमहामन्त्री पदको उम्मेदवार रहेको जानकारी दिँदै यादवले आफ्नो उम्मेदवारीमा तरुणहरूको सहयोग र समर्थनको अपेक्षा गरेका छन्।