स्याङ्जा– स्याङ्जामा स्क्रब टाइफस संक्रमण पछिल्ला महिनामा तीव्र रूपमा बढेको पाइएको छ । तीन महिनाको अवधिमा जिल्लामा ४३९ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी प्रभावित क्षेत्र वालिङ नगरपालिका बनेको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६० जनामा संक्रमण देखिएकामा साउनमा बढेर १५९ र भदौमा २२० पुगेको छ । तथ्यांकअनुसार संक्रमण हरेक महिना बढ्दो क्रममा देखिएको हो ।
वालिङ नगरपालिकामा मात्रै तीन महिनामा २४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ असारमा ३४, साउनमा ९१ र भदौमा ११९ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै कालीगण्डकी गाउँपालिकामा ९४, चापाकोट नगरपालिकामा ३७ र अर्जुनचौपारी गाउँपालिकामा २५ जनामा संक्रमण पुष्टि भएको छ । भीरकोटमा १७, गल्याङमा १६ र पुतलीबजारमा ६ जनामा संक्रमण देखिएको छ ।
फेदीखोला, आँधीखोला, बिरुवा र हरिनास गाउँपालिकामा भने असारदेखि भदौसम्म संक्रमण पुष्टि नभएको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं तथ्यांक अधिकृत विनोदप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार जिल्लामा स्क्रब टाइफस संक्रमितको संख्या बढिरहेको छ र अवस्थालाई नियमित रूपमा अद्यावधिक गरिएको छ ।
स्वास्थ्यकर्मीले वर्षायाम र वर्षापछिको समयमा स्क्रब टाइफसको जोखिम बढी हुने भएकाले ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने लगायतका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन आग्रह गरेका छन् ।