कोशी–मधेसमा वर्षा र चट्याङको जोखिम, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने - Chaitanya News
  • 2026-11-22
  • 08:38:27
  • आइतबार,मंसिर ०७, २०८३
  • कोशी–मधेसमा वर्षा र चट्याङको जोखिम, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

    कोशी–मधेसमा वर्षा र चट्याङको जोखिम, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

    काठमाडौँ — देशका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान गरिए पनि कोशी र मधेस प्रदेशका केही भूभागमा चट्याङसहित हल्का वर्षा हुन सक्ने भएको छ। हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा भारतको ओडिसा आसपास विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीका कारण कोशी प्रदेशसहित देशका हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो कोशी र मधेस प्रदेश तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस क्रममा कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

    त्यसैगरी, आज राति पनि हिमाली क्षेत्र, कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

    सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। ती प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।