वैदेशिक रोजगार ठगीका फरार आरोपितमाथि कडाइ, बैंक खाता रोक्का गर्ने तयारी - Chaitanya News
  • 2026-11-22
  • 08:44:30
  • आइतबार,मंसिर ०७, २०८३
  • वैदेशिक रोजगार ठगीका फरार आरोपितमाथि कडाइ, बैंक खाता रोक्का गर्ने तयारी

    वैदेशिक रोजगार ठगीका फरार आरोपितमाथि कडाइ, बैंक खाता रोक्का गर्ने तयारी

    काठमाडौँ — वैदेशिक रोजगारीका नाममा ठगी गरेर फरार रहेका व्यक्तिहरूमाथि सरकारले आर्थिक कारोबारमै रोक लगाउने तयारी गरेको छ। पक्राउ पुर्जी जारी हुँदासमेत कानुनी प्रक्रियामा नआएका आरोपितहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने भएको हो।

    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा फरार रहेका व्यक्तिहरूलाई सम्पर्कमा आउन दिइएको ३५ दिनको समयसीमा सकिन लागेसँगै उनीहरूमाथि थप कदम चाल्न लागिएको हो।

    वैदेशिक रोजगार विभागले गत कात्तिक ९ गते सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको थियो। तोकिएको अवधिमा उपस्थित नभए उनीहरूको बैंक खाता तथा यात्रा अनुमतिसम्बन्धी प्रक्रिया रोक्का गरिने चेतावनीसमेत दिइएको थियो।

    विभागले समयसीमाभित्र सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण संकलन गरी बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरेको छ। यसका लागि आगामी मंसिर १४ गते राष्ट्र बैंकलाई औपचारिक पत्र पठाइने मन्त्री यादवले जानकारी दिएका छन्।

    फरार आरोपितहरूको सूची तयार गरी राष्ट्र बैंकमा पठाउन विभागले सम्बन्धित शाखालाई निर्देशनसमेत दिइसकेको छ। ३५ दिनको म्याद पूरा भएपछि बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

    वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने र पछि फरार हुने प्रवृत्ति नियन्त्रण गर्न यो कदम प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै, आरोपितहरूको आर्थिक गतिविधि नियन्त्रण गर्दै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग पुग्ने विश्वास मन्त्रालयको छ।

    वैदेशिक रोजगारसम्बन्धी ठगी न्यूनीकरण, पीडितको रकम फिर्ता तथा न्याय सुनिश्चित गर्ने र ठगीमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने उद्देश्यले मन्त्रालय र विभागले यो प्रक्रिया अघि बढाएका हुन्।