७ हजार २५५ प्रतिनिधिले आज कांग्रेसको नयाँ नेतृत्व चुन्दै - Chaitanya News
  • 2026-10-08
  • 08:58:08
  • बिहिबार,आश्विन २२, २०८३
  • ७ हजार २५५ प्रतिनिधिले आज कांग्रेसको नयाँ नेतृत्व चुन्दै

    ७ हजार २५५ प्रतिनिधिले आज कांग्रेसको नयाँ नेतृत्व चुन्दै

    काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।

    यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि वर्षा तथा केही प्राविधिक कारणले समय तीन घण्टा पछि सारिएको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहान १० बजेदेखि मतदान सुरु हुने जानकारी दिए।

    महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्रको व्यवस्था गरिएको छ।

    निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृह, प्रज्ञा भवन र खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा फरक–फरक मतदान केन्द्र निर्धारण गरिएको हो।

    राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

    खुलामञ्चमा भने कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाले पनि खुलामञ्चबाटै मतदान गर्नेछन्।

    तोकिएको मतदान केन्द्रमा पुगेर परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ।