काठमाडौं– नेपालमा सक्रिय रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै वर्षाको गतिविधि पनि क्रमशः घट्ने भएको छ। मौसमविद्का अनुसार आज दिउँसो भने देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना रहे पनि आज रातिदेखि मौसममा उल्लेख्य सुधार आउनेछ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएको छ। त्यसको प्रभावका कारण आज पनि केही स्थानमा वर्षा हुने भए पनि रातिको समयमा भारी वर्षाको सम्भावना नरहेको उनले बताए। न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागतर्फ रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित भएको हो। साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतर्फ प्रवेश गरेपछि गएराति मध्य भूभागका विभिन्न स्थानमा समेत ठूलो वर्षा भएको अधिकारीले बताए। अहिले न्यूनचापीय प्रणाली कमजोर भइसकेकाले यसको प्रभाव पनि घट्दै गएको छ। यद्यपि आज दिउँसोसम्म देशका विभिन्न भूभागमा वर्षाको सम्भावना कायमै रहनेछ। मधेश, बागमती र कोशी प्रदेशको पश्चिमी भूभागमा अहिले बादल लागेकाले ती क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ। पश्चिमी भूभागका धेरै स्थानमा बादल लागे पनि तत्काल ठूलो वर्षा भइरहेको अवस्था भने नरहेको अधिकारीले बताए। आज दिउँसो केही स्थानमा भारी वर्षाको सम्भावना: आज दिउँसो सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने पूर्वानुमान गरिएको छ। कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न भूभागमा वर्षाको क्रम जारी रहने भए पनि अधिकांश स्थानमा भारी वर्षाको सम्भावना नरहेको अधिकारीले बताए। तर एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेश प्रदेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीको तल्लो तथा पहाडी भूभाग, हिमाली क्षेत्र, लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र सुदूरपश्चिमका हिमाल, पहाड तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तर आज रातिदेखि भारी वर्षाको सम्भावना नरहने र न्यूनचापीय प्रणाली कमजोर हुँदै गएकाले मौसममा क्रमशः सुधार आउने मौसमविद् अधिकारीले बताएका छन्।


