काठमाडौँ– अस्ट्रेलियाले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ।
मेलबर्नमा बिहीबार भएको नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीचको भेटवार्तामा वङले थप सहयोग घोषणा गरेकी हुन्। उक्त रकम बाढीपछिको राहत, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका काममा परिचालन गरिने जनाइएको छ।
यसअघि अस्ट्रेलियाले नेपालको आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। नयाँ घोषणा त्यसमा थप हुने भएको हो।
भेटवार्तामा मन्त्री वङले बाढीबाट प्रभावित नेपाली परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उद्धार, पुनर्लाभ र पुनर्निर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहने बताइन्।
मन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार तथा अस्ट्रेलियाली जनताबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे। उनले संकटका समयमा प्राप्त सहयोगले दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको बताए।
भेटवार्तामा विपद् व्यवस्थापनसँगै जलवायु परिवर्तनका कारण नेपाल र प्रशान्त क्षेत्रका मुलुकले भोगिरहेको जोखिमबारे पनि छलफल भएको थियो। खनालले विशेषगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावलाई अन्तर्राष्ट्रिय तहमा उठाउन अस्ट्रेलियाले थप भूमिका खेल्नुपर्नेमा जोड दिए।
उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण, विपद् तयारी तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणमा नेपाल–अस्ट्रेलिया सहकार्य विस्तार गर्न प्रस्ताव गरे।
दुई मन्त्रीबीच शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम (टीभीईटी) संस्था स्थापना गर्ने र अस्ट्रेलियाका विश्वविद्यालयका सम्भावित स्याटेलाइट क्याम्पस नेपालमा स्थापना गर्ने विषयमा पहल अघि बढाउनेबारे विचार आदानप्रदान भएको छ।
मन्त्री खनालले अस्ट्रेलियाको अर्थतन्त्र तथा बहुसांस्कृतिक समाजमा नेपाली विद्यार्थी र डायस्पोराले पुर्याउँदै आएको योगदानको उल्लेख गर्दै विद्यार्थी भिसासम्बन्धी नीतिगत परिवर्तनमा वास्तविक तथा योग्य नेपाली विद्यार्थीका लागि न्यायोचित व्यवस्था गर्न आग्रह गरे।
भेटवार्तामा नेपाल–अस्ट्रेलिया आर्थिक साझेदारी विस्तारलाई पनि प्राथमिकता दिइएको थियो। व्यापार, प्रत्यक्ष वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन तथा श्रम गतिशीलताका क्षेत्रमा सहकार्य बढाउने सम्भावनाबारे छलफल भएको छ।
त्यसैगरी नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको छ। प्रत्यक्ष हवाई सम्पर्कले दुई देशबीच पर्यटन, व्यापार, लगानी तथा जनस्तरको आवतजावतलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
भेटवार्ताका क्रममा दुवै पक्षले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउँदै उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिने सहमति गरेका छन्। साथै छलफलमा उठेका विषयलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न आगामी दिनमा सहकार्यलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरिएको छ।