परराष्ट्र मन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता - Chaitanya News
  • 2026-09-27
  • 09:49:03
  • आइतबार,आश्विन ११, २०८३
  • परराष्ट्र मन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

    परराष्ट्र मन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

    काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनाल र आर्मेनियाका विदेश मन्त्री अरारात मिर्जोयानबीच भेटवार्ता भएको छ।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका खनाल र मिर्जोयानबीच आपसी हित र चासोका साथै नेपाल र आर्मेनियाबीचको मैत्रीपूर्ण तथा सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणमा सहकार्य, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा बहुपक्षीय मञ्चहरूमा साझा विषय उठाउने बारेमा विचारविमर्श भएको थियो।

    आजै परराष्ट्र मन्त्री खनाल र संयुक्त अरब इमिरेट्सका विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नह्यानसँग पनि भेटवार्ता गरेका छन्।

    भेटमा परराष्ट्र मन्त्री खनालले नेपालप्रति सद्भाव दर्शाएर २५ मिलियन अमेरिकी डलर प्रदान गर्ने युएईको प्रतिबद्धताप्रति कृतज्ञता ज्ञापन गरे।

    उनीहरुबीच श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो।