काठमाडौँ– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर यातायात प्रभावित हुनुका साथै नदी तथा खोलामा जलसतह बढेर विपद्को जोखिम उच्च बनेको छ।
गण्डकी प्रदेशमा वर्षाको प्रभाव बढी देखिएको छ। स्याङ्जाको कालिगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालिगण्डकी गाउँपालिका–१ हर्मिचौर जोड्ने पक्की पुल बाढीले बगाएपछि दुई जिल्लाबीचको आवागमन प्रभावित भएको छ।
वर्षाका कारण पर्वत, म्याग्दी र लमजुङका प्रमुख नदी तथा खोलामा जलसतह बढेको छ। लमजुङको चेपे खोला, पर्वतको कालीगण्डकी नदी र म्याग्दीको नारायणी नदीमा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।
लगातारको वर्षाले सडक यातायातसमेत प्रभावित भएको छ। बेँसीसहर–चामे, जोमसोम–कोरला, पोखरा–बागलुङ, बेनी–जोमसोम, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका विभिन्न खण्डमा बाढी तथा पहिरोका कारण यातायात अवरुद्ध भएको छ।
तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा क्षेत्रमा खसेको पहिरो हटाउन नेपाली सेनाको कालीभञ्जन गणबाट खटिएको टोली परिचालन गरिएको छ।
विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले उद्धार तथा पूर्वतयारीलाई तीव्र बनाएका छन्। पर्वतको घारखोला क्षेत्रमा पानीको बहाव बढेपछि नयाँ रणभीम गुल्मको सुरक्षा पोष्ट सुरक्षित स्थानमा सारिएको छ।
यसैगरी कास्कीको पञ्चासे, तनहुँको कोटेगाउँ, स्याङ्जाको पञ्चमुल र म्याग्दीको दरबाङ क्षेत्रमा वर्षाको मात्रा सतर्कता तहभन्दा माथि पुगेको जनाइएको छ।
वर्षा अझै जारी रहेकाले बाढी, पहिरो र सडक अवरोधको जोखिम कायमै रहेको भन्दै सम्बन्धित प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी, खोला र पहिरो प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।