सोह्र श्राद्ध आजदेखि सुरु, पितृका तिथिमा अपराह्नमै श्राद्ध गर्नुपर्ने - Chaitanya News
  • 2026-09-28
  • 11:49:34
  • सोमबार,आश्विन १२, २०८३
  • सोह्र श्राद्ध आजदेखि सुरु, पितृका तिथिमा अपराह्नमै श्राद्ध गर्नुपर्ने

    सोह्र श्राद्ध आजदेखि सुरु, पितृका तिथिमा अपराह्नमै श्राद्ध गर्नुपर्ने

    काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु हुँदैछ । यस अवधिमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृति प्राप्त पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ । प्रतिपदा तिथिको श्राद्धको पिण्डदान भने अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए ।

    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ तिथिमा पितृलाई श्रद्धापूर्वक तर्पण तथा पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । धार्मिक ग्रन्थहरूमा यस अवधिलाई अपर तथा प्रेत पक्षका नामले समेत उल्लेख गरिएको छ ।

    धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्ध पितृप्रतिको दायित्व पूरा गर्ने धार्मिक कर्मका रूपमा लिइन्छ । चाडपर्व तथा ठूला धार्मिक कार्य सुरु गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झने वैदिक सनातन परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो ।

    धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले सोह्र श्राद्ध पितृको तिथिका दिन अपराह्नकालमा गर्नुपर्ने शास्त्रीय व्यवस्था रहेको बताए । जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएका अवस्थाबाहेक सोह्र श्राद्ध नछोड्नुपर्ने उनको भनाइ छ ।

    यद्यपि, कुनै कारणवश निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा शास्त्रमा वैकल्पिक व्यवस्था पनि गरिएको छ । आपत् धर्मअनुसार आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म रोकिएको श्राद्ध गर्न सकिने धर्मशास्त्रविद्हरू बताउँछन् ।

    त्यस अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने व्यवस्था छ । कार्तिक कृष्ण औँसीमा पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने उल्लेख धर्मसिन्धुमा गरिएको छ ।

    आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन, भरणी नक्षत्र तथा व्यतीपात योग परेका दिन पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्प रहेको प्रा. डा. भट्टराईले बताए । यस्तो व्यवस्था निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    यी विकल्पबाट पनि श्राद्ध गर्न नसकिए आफैँ वा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्ने व्यवस्था रहेको उनले बताए । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्ने र यसबाट पनि पितृ तृप्त हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।

    धर्मशास्त्रविद्हरूले सोह्र श्राद्ध बिहान नभई अपराह्नकालमा गर्नुपर्नेमा जोड दिएका छन् । कतिपय पुरोहितले आफ्नो अनुकूल बिहानै श्राद्ध गर्न सुझाउने गरेको गुनासो आए पनि त्यो शास्त्रसम्मत नभएको उनीहरूको भनाइ छ ।

    पितृ पक्ष सकिएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँजस्ता ठूला पर्व मनाउनुअघि पितृको तृप्तिका लागि श्राद्ध गर्ने वैदिक सनातनी परम्परा रहँदै आएको छ । यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्धसँगै बडादसैँ पर्व पनि अघिल्ला वर्षको तुलनामा केही ढिलो परेको हो ।