पोखरा– उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा लगातार वर्षा र हिमपात हुँदा स्थानीय जनजीवन कष्टकर बनेको छ। बाली भित्र्याउने मुख्य समयमा मौसम प्रतिकूल बनेपछि किसानको वर्षभरिको मेहनत खेर जाने अवस्था आएको छ।
केही समयअघि गएको भूकम्पबाट प्रभावित भएर पालमुनि बस्दै आएका नागरिकसमेत वर्षा र हिमपातका कारण थप समस्यामा परेका छन्। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार लगातारको झरी र हिमपातका कारण भूकम्पपीडितका अस्थायी बासस्थान तथा क्षतिग्रस्त घरभित्र पानी पसेको छ।
‘अस्ति भर्खरको भूकम्पले घरहरू सबै खत्तम बनायो। त्यसमाथि अहिले लगातार पानी र हिउँ परिरहेको छ,’ उनले भने, ‘भत्किएका र चर्केका घर तथा पालभित्र पानी पसेर स्थानीय नागरिकहरूको अवस्था अत्यन्तै नाजुक बनेको छ।’
वर्षा र हिमपातले बस्तीमा मात्रै नभई पाकेको बालीनालीमा समेत क्षति पुर्याएको छ। खेतबारीमा रहेको बाली नष्ट भएपछि किसानहरू चिन्तित बनेका छन्।
‘पानी र हिउँ परेर खेतबारीको सबै बाली बिग्रियो। बाली भित्र्याउने बेलामै परेको यो विपद्ले किसानहरूको वर्षभरिको मेहनत खेर गएको छ,’ अध्यक्ष गुरुङले भने।
लगातारको वर्षा र हिमपातका कारण उपल्लो मुस्ताङमा चिसोसमेत अत्यधिक बढेको छ। मौसममा सुधार आएपछि मात्रै वर्षा र हिमपातबाट भएको क्षतिको यकिन विवरण प्राप्त हुने बताइएको छ।
अध्यक्ष गुरुङले प्रतिकूल मौसमका कारण थप समस्या आउन सक्ने भन्दै स्थानीय बासिन्दालाई धैर्य र सतर्क रहन आग्रह गरेका छन्।