काठमाडौँ– तिहारको उल्लास सुरु भएसँगै आज धनतेरस पर्व मनाइँदैछ। धन, समृद्धि र सौभाग्यको प्रतीक मानिने धनतेरसका अवसरमा सुनचाँदीका गहना तथा तामा, पित्तल, स्टिललगायत धातुका नयाँ भाँडाकुँडा किन्ने ग्राहकको बजारमा भीड लागेको छ। बिहानैदेखि सुनचाँदी पसलदेखि भाँडा पसलसम्म ग्राहकको चहलपहल बढेको छ।
धनतेरसलाई नयाँ वस्तु खरिद गर्ने शुभ दिनका रूपमा लिने धार्मिक तथा सांस्कृतिक मान्यताका कारण बजारमा किनमेलको रौनक छाएको हो। विशेषगरी तिहार सुरु हुनुअघि घरमा नयाँ भाँडाकुँडा भित्र्याउने, सुनचाँदीका गरगहना किन्ने र ती वस्तुलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने चलनले यस दिनको महत्त्व अझ बढाएको छ।
वैदिक सनातन हिन्दु परम्पराअनुसार कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरसलाई धनत्रयोदशी वा भाण्ड त्रयोदशी पनि भनिन्छ। यस दिन सुन, चाँदी, तामा तथा अन्य धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याउँदा धनधान्य र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। धनतेरसका दिन भित्र्याइएका भाँडाकुँडामा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन पूजा गर्ने परम्परा छ।
धार्मिक विश्वास र परम्पराले जोडिएको यो पर्व पछिल्लो समय किनमेल र उपहार आदानप्रदानको अवसरसमेत बन्दै गएको छ। आर्थिक अवस्था र आवश्यकताअनुसार कसैले सुनचाँदीका गहना किनिरहेका छन् भने कसैले घरायसी प्रयोजनका लागि नयाँ भाँडाकुँडा खरिद गरिरहेका छन्।
बजारमा देखिएको भीडले धनतेरसप्रतिको आकर्षण अझै कायम रहेको संकेत गर्छ। कतिपय ग्राहकले वर्षौंदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिन सामान्य भाँडाकुँडा मात्रै किनिरहेका छन् भने कतिपयले यसै दिनलाई गहना खरिद गर्ने अवसर बनाएका छन्।
काठमाडौँ बानेश्वरको एक भाँडा पसलमा भेटिएकी ग्राहक सविता आचार्यले धनतेरसमा केही नयाँ सामान घरमा भित्र्याउने आफ्नो पारिवारिक परम्परा रहेको बताइन्। उनले भनिन्, ‘धनतेरसमा नयाँ भाँडा किनेर घरमा ल्याउने हाम्रो पुरानै चलन हो। हरेक वर्ष धेरै महँगो सामान किन्न नसके पनि घरलाई आवश्यक पर्ने एउटा न एउटा भाँडा किन्ने गरेका छौँ। यसले धार्मिक आस्थासँगै चाडपर्वको खुसी पनि थप्छ।’
अर्का ग्राहक रमेश अधिकारी भने धनतेरसलाई आवश्यक सामान खरिद गर्ने उपयुक्त अवसरका रूपमा लिन्छन्। बजारमा विभिन्न मूल्य र गुणस्तरका सामान उपलब्ध हुने भएकाले आफूले बजेटअनुसार सामान छानेर किन्ने गरेको उनले बताए। ‘चाडपर्वमा किनमेल गर्ने रहर सबैलाई हुन्छ। तर, देखासिकी गरेर खर्च गर्नुभन्दा आवश्यक सामान मात्रै किन्नु उचित हुन्छ। धनतेरसको अवसरमा घरमा चाहिने केही भाँडा किनेको छु,’ उनले भने।
त्यस्तै, अर्की ग्राहक मञ्जु कार्कीले धनतेरसमा सुनचाँदी खरिद गर्ने इच्छा भए पनि मूल्यका कारण आफ्नो बजेटअनुसार निर्णय गर्नुपर्ने अवस्था रहेको बताइन्। ‘धनतेरसमा सुन वा चाँदी किन्न पाए राम्रो हुन्थ्यो भन्ने लाग्छ। तर, अहिलेको मूल्य हेर्दा सबैको पहुँचमा छैन। त्यसैले यसपटक घरमा प्रयोग हुने भाँडाकुँडा किनेर पर्व मनाउँदै छु,’ उनले भनिन्।
ग्राहकको चहलपहल बढेसँगै व्यापारी पनि व्यस्त बनेका छन्। धनतेरसलाई लक्षित गरी पसलमा विभिन्न डिजाइन र मूल्यका भाँडाकुँडा सजाइएको छ। ग्राहकको रोजाइअनुसार स्टिल, तामा, पित्तल, काँस तथा अन्य धातुका भाँडाकुँडाको माग देखिएको व्यापारीहरू बताउँछन्।
काठमाडौँ बानेश्वर मै भाडाँ पसल सञ्चालन गर्दै आएका भाँडा व्यवसायी मनोज श्रेष्ठका अनुसार धनतेरसका दिन सामान्य दिनको तुलनामा ग्राहकको आवागमन बढ्ने गरेको छ। उनले भने, ‘धनतेरस हाम्रो व्यवसायका लागि महत्त्वपूर्ण दिन हो। बिहानदेखि नै ग्राहक आउन थाल्नुभएको छ। कसैले पूजा गर्ने थाली खोज्नुहुन्छ, कसैले गाग्री, करुवा, ताउलो, कुकर तथा अन्य भाँडाकुँडा किन्नुहुन्छ। ग्राहकको आर्थिक क्षमता र आवश्यकताअनुसार सामानको माग फरकफरक छ।’
अर्का व्यापारी रामनाथ महर्जनका अनुसार ग्राहकले पछिल्लो समय परम्परागत भाँडाकुँडासँगै आधुनिक प्रयोगका सामानमा पनि रुचि देखाउन थालेका छन्। ‘पहिले तामा, पित्तल र काँसका भाँडाको माग बढी हुन्थ्यो। अहिले स्टिलका भाँडाकुँडा र दैनिक प्रयोगमा आउने सामान पनि उत्तिकै बिक्री हुन्छन्। धनतेरस भएकाले ग्राहकले सानो भए पनि नयाँ सामान घर लैजान खोज्नुहुन्छ,’ उनले बताए।
सुनचाँदी व्यवसायीका लागि पनि धनतेरस विशेष महत्त्वको दिन हो। धार्मिक विश्वासअनुसार यस दिन सुनचाँदी खरिद गर्दा शुभ हुने मान्यताका कारण ग्राहकले आफ्नो क्षमताअनुसार गहना तथा चाँदीका सामग्री खरिद गर्ने गर्छन्। विशेषगरी चाँदीका सिक्का, पूजा सामग्री र साना गरगहनामा ग्राहकको रुचि रहने गरेको व्यवसायीहरू बताउँछन्।
यद्यपि, धनतेरसमा किनमेलको उत्साहसँगै बढ्दो महँगी र आम्दानीको सीमितताले ग्राहकलाई सोचविचार गरेर खर्च गर्न बाध्य बनाएको छ। सुनचाँदीको मूल्य, घरायसी आवश्यकताको सूची र आफ्नो आर्थिक अवस्थालाई ध्यानमा राखेर ग्राहकले खरिदको निर्णय गरिरहेका छन्।
धनतेरसको महत्त्व केवल नयाँ सामान किन्ने वा बजारमा खर्च बढाउने पर्वमा मात्र सीमित छैन। यसले धनप्रतिको सम्मान, घरपरिवारको सुख, समृद्धिको कामना र परम्पराप्रतिको निरन्तरतासमेत झल्काउँछ। त्यसैले महँगो सुनचाँदी किन्न नसक्ने परिवारले पनि सामान्य भाँडाकुँडा खरिद गरेर पर्वको परम्परा धान्ने गरेका छन्।
धनतेरसपछि तिहारका मुख्य दिनहरू सुरु हुन्छन्। घरआँगन सफा गर्ने, दीप प्रज्वलन गर्ने, लक्ष्मीपूजा गर्ने र परिवारसँगै चाडपर्व मनाउने तयारीमा सर्वसाधारण जुटेका छन्। आज किनेर घर भित्र्याइएका नयाँ भाँडाकुँडा तथा सुनचाँदीका सामग्रीलाई लक्ष्मीपूजाका दिन पूजा गर्ने तयारीसमेत भइरहेको छ।
यसरी धनतेरसले धार्मिक आस्था, पारिवारिक परम्परा र बजारको आर्थिक गतिविधिलाई एकै ठाउँमा जोडेको छ। बजारमा लागेको भीडले चाडपर्वको रौनक त देखाएको छ नै, सीमित बजेटमै भए पनि परम्परा जोगाउने र घरमा खुसी भित्र्याउने नेपालीहरूको चाहनालाई पनि उजागर गरेको छ।