एनपीएल:आज कर्णाली–सुदूरपश्चिम र चितवन–पोखराबीच प्रतिस्पर्धा - Chaitanya News
  • 2026-11-06
  • 11:24:59
  • शुक्रबार,कार्तिक २१, २०८३
  • एनपीएल:आज कर्णाली–सुदूरपश्चिम र चितवन–पोखराबीच प्रतिस्पर्धा

    एनपीएल:आज कर्णाली–सुदूरपश्चिम र चितवन–पोखराबीच प्रतिस्पर्धा

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेल अपराह्न ५ः०० बजे हुनेछ।

    आजको पहिलो खेलमा दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रिनेछन्। तीन खेल खेलेको कर्णालीले दुई जित र एक हारसहित चार अंक जोडेको छ। लगातार दुई खेल जितेर प्रतियोगितामा राम्रो सुरुआत गरेको कर्णाली पछिल्लो खेलमा काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो। आज सुदूरपश्चिमलाई हराउँदै टोली जितको लयमा फर्कन चाहन्छ।

    यता चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हार बेहोरेको छ। पछिल्लो नतिजालाई निरन्तरता दिँदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको सुदूरपश्चिम पनि कर्णालीलाई हराएर अंक तालिकामा आफ्नो स्थिति सुधार्न चाहन्छ।

    आजको दोस्रो खेल भने पोखरा एभेन्जर्सका लागि जितको खाता खोल्ने अवसर हुनेछ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन। लगातार तीन हार बेहोरेको पोखरा आज चितवनलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने योजनामा हुनेछ।

    तर, पोखराका लागि चितवनविरुद्धको खेल सहज हुने देखिँदैन। चार खेल खेलेको चितवनले दुई जित, एक हार र वर्षाका कारण एक खेलमा अंक बाँडेको छ। प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा रहेको चितवन कमजोर लयमा रहेको पोखराविरुद्ध जित निकाल्न चाहन्छ।

    तेस्रो संस्करणको एनपीएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।