‘बजार र नागरिक जोगाउन बजेटको कमी हुन दिँदैनौँ’ : रवि लामिछाने - Chaitanya News
  • 2026-11-06
  • 11:50:55
  • शुक्रबार,कार्तिक २१, २०८३
  • ‘बजार र नागरिक जोगाउन बजेटको कमी हुन दिँदैनौँ’ : रवि लामिछाने

    ‘बजार र नागरिक जोगाउन बजेटको कमी हुन दिँदैनौँ’ : रवि लामिछाने

    चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्र र स्थानीयवासीको सुरक्षाका लागि तत्काल काम अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले नागरिकको ज्यान, बजारको ऐतिहासिक अस्तित्व र व्यवसायीको सम्पत्ति संरक्षणलाई सरकारको पहिलो प्राथमिकता बनाउनुपर्ने बताएका छन्।

    नारायणी नदीले कटान गरेको क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योग वाणिज्य संघ चितवनमा आयोजित सरोकारवालासँगको छलफलमा लामिछानेले समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका हुन्।

    उनका अनुसार बजार क्षेत्रमा देखिएको जोखिमबारे उद्योग वाणिज्य संघले जानकारी गराएपछि सम्बन्धित निकायलाई तत्कालै खबर गरी आवश्यक अध्ययन र योजना निर्माणका लागि टोली परिचालन गरिएको छ। उक्त टोलीले काम सुरु गरिसकेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए।

    लामिछानेले प्राविधिक अध्ययनका आधारमा तत्काल गर्नुपर्ने काम र दीर्घकालीन समाधानका उपाय पहिचान गर्नुपर्नेमा जोड दिए। अध्ययनले बजार क्षेत्र नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखाए त्यसबारे पनि सबै सरोकारवालासँग छलफल गरेर साझा निर्णयमा पुग्नुपर्ने उनको भनाइ छ।

    “जनता जोगाउनका लागि बजेट दोस्रो कुरा हो । जनतालाई कसरी जोगाउन सकिन्छ भन्ने पहिलो प्राथमिकता हो”, उनले भने।

    आफ्नो निर्वाचन क्षेत्र भएकै कारण चितवनलाई मात्रै विशेष प्राथमिकता दिनुपर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्दै लामिछानेले देशभरका बाढीपहिरो प्रभावित क्षेत्रको आवश्यकताका आधारमा राज्यले स्रोतसाधन परिचालन गर्नुपर्ने बताए। कर्णाली, सुदूरपश्चिम र मधेसलगायतका क्षेत्रमा प्रभावित नागरिकको समस्या पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे।

    उनले चितवनको नारायणी कटानको समस्या पनि आवश्यकताका आधारमा सम्बोधन हुने बताउँदै तत्काल गर्नुपर्ने कामको अध्ययन लगभग तयार भइसकेको जानकारी दिए। अध्ययनबाट पहिचान भएका योजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले सरोकारवालालाई आश्वस्त रहन आग्रह गरे।

    छलफलअघि लामिछानेले नारायणी नदीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका थिए। छलफलका क्रममा उनले जोखिमबारे समयमै जानकारी गराएर अध्ययन टोली परिचालन गर्न सहयोग गरेको भन्दै उद्योग वाणिज्य संघ चितवनलाई धन्यवाद दिए।

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नारायणी नदी कटानको समस्या समाधानका लागि लामिछानेले सुरुदेखि नै चासो र पहल गर्दै आएको बताए। उनले बजार क्षेत्रलाई जोखिमबाट जोगाउन दीर्घकालीन समाधानसहितको योजना बनाउन आग्रह गरे।