काठमाडौँ– मधेस प्रदेशमा सत्ता परिवर्तनको कसरत तीव्र बनेको छ। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकार विस्थापित गरी (जसपा) नेपालको नेतृत्वमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित नयाँ गठबन्धन सरकार गठन गर्ने तयारी अघि बढेको छ।
नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता सरोजकुमार यादवले नयाँ सरकार गठनका लागि तीन दलबीच सहमति जुटिसकेको दाबी गरेका छन्। उनका अनुसार केन्द्रस्तरमै एमाले, जसपा नेपाल र नेकपाका नेताहरूबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको हो। अब जसपाको नेतृत्वमा सरकार गठन गर्ने गरी थप गृहकार्य भइरहेको उनले बताए।
नयाँ गठबन्धन निर्माणको तयारीसँगै वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवको सरकार संकटमा परेको छ। विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री यादवले सरकार जोगाउन विभिन्न दलका नेताहरूसँग संवाद अघि बढाए पनि आवश्यक समर्थन जुट्ने सम्भावना कमजोर रहेको एमाले नेता यादवको दाबी छ।
वर्तमान कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन कांग्रेस सभापति गगन थापाले समेत केन्द्रस्तरमा पहल गरेका थिए। उनले नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। तर, ती भेटवार्ताबाट वर्तमान सरकार जोगाउने गरी सहमति जुट्न सकेन।
एमाले नेता यादवका अनुसार अब कांग्रेसलाई प्रतिपक्षमा राखेर जसपाको नेतृत्वमा एमाले र नेकपा सहभागी सरकार गठन गरिनेछ। यसका लागि तीनै दलका शीर्ष नेता र मधेस प्रदेशका नेताहरूबीच काठमाडौँमा थप छलफल गर्ने तयारी छ।
नयाँ गठबन्धनमा सहभागी दलका प्रदेश संसदीय दलका नेताहरू पनि अहिले काठमाडौँमै छन्। उनीहरूबीच सरकारको नेतृत्व, मन्त्रालय बाँडफाँट र सत्ता साझेदारीका विषयमा छलफल भइरहेको बताइएको छ।
‘केन्द्रमा पार्टीका अध्यक्षहरूबीच सहमति जुटिसकेको छ। अब काठमाडौँमा नेताहरूसँग बसेर भागबन्डासहित समीकरणलाई अन्तिम रूप दिने तयारी छ,’ यादवले भने।
मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार जोगाउन विभिन्न दलसँग छलफल गरिरहे पनि बहुमत प्राप्त गर्न नसक्ने एमाले नेता यादवको दाबी छ। उनका अनुसार तीन दलबीच भएको सहमति कार्यान्वयन भए वर्तमान कांग्रेस नेतृत्वको सरकार विस्थापित हुनेछ।
यद्यपि, नयाँ सरकार गठनको औपचारिक निर्णय, मुख्यमन्त्रीको उम्मेदवार र मन्त्रालय बाँडफाँटबारे तीनै दलले आधिकारिक घोषणा गर्न बाँकी छ।