धनगढीः सुदूरपश्चिमको कला, संस्कृति, पर्यटन तथा सांगीतिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा पहिलोपटक ‘सुरताल म्युजिक टुर २०८३’ आयोजना हुने भएको छ।
चलचित्र पत्रकार संघ कैलाली शाखाको आयोजना तथा सुरताल इभेन्ट एण्ड एन्जोयमेन्ट प्रालिको सहकार्यमा आगामी मंसिर ४ गते धनगढीस्थित रंगशालामा सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो।
‘अब गुञ्जिन्छ नेपाल, एउटै सुर एउटै ताल’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको कार्यक्रममा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपूत र प्रमोद खरेललगायतका कलाकारले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।
सांगीतिक प्रस्तुतिसँगै सुदूरपश्चिमको स्थानीय कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएको छ।
संगीत र मनोरञ्जनलाई स्थानीय कला, संस्कृति तथा पर्यटनसँग जोड्दै सुदूरपश्चिमको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्न कार्यक्रमले योगदान पुर्याउने अपेक्षा गरिएको छ।