‘नागरिकको सुरक्षामा सम्झौता नगर्नुस्, अपराध नियन्त्रणमा कडाइ गर्नुस्’ : प्रधानमन्त्री बालेन - Chaitanya News
  • 2026-11-05
  • 15:57:08
  • बिहिबार,कार्तिक २०, २०८३
  • ‘नागरिकको सुरक्षामा सम्झौता नगर्नुस्, अपराध नियन्त्रणमा कडाइ गर्नुस्’ : प्रधानमन्त्री बालेन

    ‘नागरिकको सुरक्षामा सम्झौता नगर्नुस्, अपराध नियन्त्रणमा कडाइ गर्नुस्’ : प्रधानमन्त्री बालेन

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मुलुकको शान्ति–सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई थप सक्रिय र जिम्मेवार बन्न निर्देशन दिएका छन्। उनले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि सम्झौता नगर्न र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन स्पष्ट निर्देशन दिएका हुन्।

    बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीनै सुरक्षा निकायका प्रमुखसँग भएको छलफलपछि प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा चाडपर्वका बेला नागरिकको सुरक्षा व्यवस्था, मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्था र समग्र सुरक्षा व्यवस्थापनबारे विस्तृत ब्रिफिङ लिइएको थियो।

    प्रधानमन्त्री शाहले शान्ति–सुरक्षाको अवस्थालाई थप चुस्त, प्रभावकारी र व्यवस्थित बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। सम्भावित सुरक्षा चुनौतीलाई समयमै पहिचान गरी नागरिकको सुरक्षामा कुनै कमजोरी हुन नदिन उनले जोड दिएका छन्।

    त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई थप प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्। तीनै सुरक्षा निकायबीचको सहकार्यले मुलुकको सुरक्षा व्यवस्था थप मजबुत हुने उनको अपेक्षा छ।

    सिंहदरबारमा भएको उक्त छलफलमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए।

    चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्दै आम नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने विषयलाई प्रधानमन्त्रीले विशेष प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ।