शान्ति–सुरक्षा मजबुत बनाउन प्रधानमन्त्री बालेन सक्रिय, तीनै सुरक्षा निकायका प्रमुखसँग गरे छलफल - Chaitanya News
  • 2026-11-05
  • 15:42:48
  • बिहिबार,कार्तिक २०, २०८३
  • शान्ति–सुरक्षा मजबुत बनाउन प्रधानमन्त्री बालेन सक्रिय, तीनै सुरक्षा निकायका प्रमुखसँग गरे छलफल

    शान्ति–सुरक्षा मजबुत बनाउन प्रधानमन्त्री बालेन सक्रिय, तीनै सुरक्षा निकायका प्रमुखसँग गरे छलफल

    काठमाडौँ–  प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मुलुकको समग्र शान्ति–सुरक्षा अवस्था र चाडपर्वमा नागरिकको सुरक्षालाई प्रभावकारी बनाउने विषयमा तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन्।

    बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी थिए।

    छलफलका क्रममा सुरक्षा निकायका प्रमुखहरूले पछिल्लो सुरक्षा अवस्था, चाडपर्व लक्षित सुरक्षा योजना तथा मुलुकमा शान्ति–सुरक्षा कायम राख्न भइरहेका गतिविधिबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए।

    प्रधानमन्त्री शाहले नागरिकको जीउधनको सुरक्षा सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा कुनै पनि कमजोरी हुन नदिन निर्देशन दिएका छन्।

    उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आपसी समन्वय, सहकार्य तथा सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। तीनै सुरक्षा निकायबीचको समन्वय बलियो भए मात्रै सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न सकिने उनको भनाइ छ।

    त्यसैगरी अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन, सम्भावित सुरक्षा चुनौतीप्रति सतर्क रहन र नागरिकले सुरक्षित महसुस गर्ने वातावरण बनाउन पनि प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

    चाडपर्वको समयमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्दै आम नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा व्यवस्थालाई थप चुस्त र दुरुस्त बनाउनुपर्नेमा उनले जोड दिएका छन्।