‘न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा विश्वास बढ्छ’ : मन्त्री गौतम - Chaitanya News
  • 2026-11-05
  • 15:16:54
  • बिहिबार,कार्तिक २०, २०८३
  • ‘न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा विश्वास बढ्छ’ : मन्त्री गौतम

    ‘न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा विश्वास बढ्छ’ : मन्त्री गौतम

    काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई थप विश्वसनीय र प्रभावकारी बनाउन न्यायाधीशलाई समेत मेलमिलापकर्ताको भूमिकामा राख्ने प्रस्ताव गरिएको बताएकी छन्।

    बिहीबार कानून, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसद तथा सरोकारवालाले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले यस्तो प्रस्तावको उद्देश्य स्पष्ट पारेकी हुन्।

    उनका अनुसार न्यायाधीशको रोहबरमा विवाद समाधान हुँदा सम्बन्धित पक्षमा निर्णयप्रति विश्वास बढ्ने र न्यायालयप्रतिको सामाजिक तथा संस्थागत विश्वसनीयता बलियो बन्ने अपेक्षा गरिएको छ।

    स्थानीय तहमा दुई वा दुईभन्दा बढी पक्षबीच विवाद हुँदा मेलमिलापकर्तामार्फत समाधान गर्ने व्यवस्था भए पनि पाँच वा सोभन्दा बढी न्यायाधीश रहेका स्थानमा तोकिएका न्यायाधीशले समेत मेलमिलाप गराउँदा त्यसको प्रभावकारिता बढ्ने उनको तर्क छ।

    यद्यपि न्यायाधीशलाई अनिवार्य रूपमा मेलमिलापकर्ता बनाउनुपर्ने सरकारको अडान नरहेको उनले स्पष्ट पारेकी छन्। प्रस्तावप्रति सबै सरोकारवालाको असहमति रहेमा त्यसको विकल्पबारे छलफल गर्न सरकार तयार रहेको पनि उनले बताइन्।

    समितिमा नेपाल बार एसोसिएसन, सांसद तथा अन्य सरोकारवालाले भने न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने प्रस्तावप्रति विरोध जनाएका छन्।

    मन्त्री गौतमले मेलमिलापबाट विवाद समाधान गर्दा दुवै पक्षको सहमतिमा न्यायोचित निकास निकाल्न सकिने उल्लेख गर्दै यसले नागरिकलाई सहज र पहुँचयोग्य न्याय प्रदान गर्ने बताइन्।

    विशेषगरी परिवारका सदस्य, दाजुभाइ तथा दिदीबहिनीबीच हुने विवाद अदालतसम्म पुग्दा लामो समयसम्म पारिवारिक तथा सामाजिक सम्बन्ध बिग्रन सक्ने भएकाले मेलमिलापमार्फत विवाद समाधानलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

    मेलमिलाप प्रक्रियालाई सबैको पहुँचमा पुर्‍याउने र सानातिना विवादमा नागरिकले लामो समय अदालत धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले विधेयकमा यस्तो प्रस्ताव समेटिएको मन्त्री गौतमले स्पष्ट पारेकी छन्।