१३ लाख नागरिकलाई खानेपानी पुर्‍याउने लक्ष्यसहित १७ अर्बका ९२ आयोजना अघि बढाइयो - Chaitanya News
  • 2026-11-05
  • 13:20:44
  • बिहिबार,कार्तिक २०, २०८३
  • १३ लाख नागरिकलाई खानेपानी पुर्‍याउने लक्ष्यसहित १७ अर्बका ९२ आयोजना अघि बढाइयो

    १३ लाख नागरिकलाई खानेपानी पुर्‍याउने लक्ष्यसहित १७ अर्बका ९२ आयोजना अघि बढाइयो

    काठमाडौँ– सरकारले आगामी ३० महिनाभित्र १३ लाख ७२ हजार नागरिकलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यसहित १७ अर्ब १५ करोड रुपैयाँ लागतका ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ ।

    चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती तीन महिनामै खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत विभिन्न जिल्लामा साना तथा ठूला गरी ९२ वटा आयोजनाको ठेक्का प्रक्रिया अघि बढाइएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।

    उनका अनुसार यी आयोजनाहरू सम्पन्न भएपछि विभिन्न जिल्लाका १३ लाख ७२ हजार नागरिक स्वच्छ खानेपानी सेवाबाट लाभान्वित हुनेछन् । सरकारले आयोजनाहरू आगामी ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

    गत आर्थिक वर्षमा स्रोत सहमति प्राप्त हुन नसक्दा खानेपानी आयोजनाका कुनै पनि ठेक्का लाग्न सकेका थिएनन् । तर, चालु आर्थिक वर्षमा खानेपानी क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले ठूला संख्यामा आयोजना अघि बढाएको मन्त्री लम्सालले बताए ।

    उनका अनुसार यस वर्ष सरकारले ४४ अर्ब रुपैयाँसम्मका खानेपानी आयोजनालाई खरिद प्रक्रियामा लैजाने तयारी गरेको छ ।

    सरकारले २०८७ सालसम्म देशका सबै नागरिकको घरघरमा सुरक्षित खानेपानी सेवा पुर्‍याउने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार खानेपानी पूर्वाधार विस्तार र नयाँ आयोजनाको कार्यान्वयनलाई तीव्रता दिइएको मन्त्री लम्सालको भनाइ छ ।