काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका भारतीय विदेश सचिव मिश्रीले बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप विस्तार गर्ने, आपसी हितका विषयमा सहकार्य बढाउने तथा विकास र समृद्धिका क्षेत्रमा साझेदारी अघि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा भारतीय विदेश सचिव मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै, दुई देशबीचको कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विविध पक्षमा पनि सकारात्मक छलफल भएको जनाइएको छ ।
बुधबार काठमाडौँ आइपुगेका मिश्रीले आफ्नो भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिएका छन् । उनको भ्रमणलाई दुई देशबीचको कूटनीतिक संवाद र आपसी समझदारीलाई थप अघि बढाउने अवसरका रूपमा हेरिएको छ ।
नेपाल र भारतबीच रहेका विभिन्न द्विपक्षीय विषयमा समझदारी निर्माण तथा उच्चस्तरीय संवादलाई निरन्तरता दिन यस्ता भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने कूटनीतिक वृत्तको बुझाइ छ ।