काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपिएल) को मैदानमा यसपटक विदेशी खेलाडीको चमकसँगै नेपाली क्रिकेटरको प्रदर्शनले पनि उत्तिकै चर्चा पाउन थालेको छ। प्रतियोगिताका सुरुआती १३ खेलले नेपाली खेलाडी विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्न मात्र होइन, व्यक्तिगत प्रदर्शनमा उनीहरूलाई चुनौती दिनसमेत सक्षम रहेको सङ्केत गरेका छन्।
विगतका संस्करणमा विदेशी खेलाडीको आक्रामक ब्याटिङ र प्रभावशाली बलिङले बढी चर्चा पाउने गरेको थियो। तर, तेस्रो संस्करणको सुरुआती खेलहरूमा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैतर्फ आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। अझ युवा खेलाडीको आत्मविश्वासपूर्ण प्रदर्शनले नेपाली क्रिकेटको भविष्यप्रति नयाँ आशा जगाएको छ।
यसको बलियो उदाहरण बनेका छन् विराटनगर किङ्सका ब्याटर लोकेश बम। प्रतियोगितामा चार खेल खेलेका उनले १८८ रन बनाउँदै सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थान कब्जा गरेका छन्। १६२.०६ को स्ट्राइक रेटमा ब्याटिङ गरेका लोकेशले दुई अर्धशतकसमेत प्रहार गरिसकेका छन्।
उनको आक्रामक ब्याटिङले विराटनगरलाई लगातार दुई खेलमा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। अझ अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेललाई समेत रनको सूचीमा पछि पार्दै लोकेश शीर्ष स्थानमा रहनु नेपाली ब्याटिङका लागि सुखद सङ्केत हो। रसेलले चार खेलमा एक अर्धशतकसहित १४१ रन बनाएका छन्।
लोकेश मात्रै होइनन्, नेपाली ब्याटर पवन सर्राफ र इमरान शेखले पनि आफ्नो प्रभाव देखाइरहेका छन्। पवनले १०३ र इमरानले १०० रन बनाइसकेका छन्। यसले नेपाली खेलाडी व्यक्तिगत रन जोड्न मात्र नभई विदेशी खेलाडीसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पनि सक्षम रहेको देखाएको छ।
ब्याटिङमा देखिएको यही आत्मविश्वास बलिङमा पनि दोहोरिएको छ। कर्णाली याक्सका कप्तान सोमपाल कामी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। तीन खेलमा सात विकेट लिएका उनले ८.२० को इकोनोमी रेट कायम गरेका छन्।
सोमपालको प्रदर्शनले अनुभवी नेपाली खेलाडीको महत्त्वलाई पुनः स्थापित गरेको छ। कप्तानीको जिम्मेवारीसँगै बलिङमा विपक्षीलाई दबाबमा राख्न र आवश्यक पर्दा ब्याटिङबाट पनि योगदान दिन सक्ने उनको क्षमताले कर्णालीलाई बलियो बनाएको छ।
बलिङमा नेपाली युवा प्रतिभाको अर्को उदाहरण बनेका छन् सुदूरपश्चिम रोयल्सका अनिल खरेल। उनले चार खेलमा ६.१२ को इकोनोमी रेटमा छ विकेट लिएका छन्। विपक्षी ब्याटरलाई खुलेर खेल्न नदिने उनको बलिङ शैलीले सुदूरपश्चिमको बलिङ आक्रमणलाई थप प्रभावकारी बनाएको छ।
यस संस्करणमा सबैभन्दा बढी ध्यान खिच्ने युवा खेलाडीमध्ये एक हुन् जनकपुर बोल्ट्सका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव। पहिलोपटक एनपिएल खेलिरहेका उनले चार खेलमा छ विकेट लिइसकेका छन्। सातको इकोनोमी रेटमा बलिङ गरिरहेका राहुलले जनकपुरको दुई जितमा महत्त्वपूर्ण योगदान दिएका छन्।
कम उमेरमै अनुभवी राष्ट्रिय तथा विदेशी खेलाडीसँग एउटै मैदानमा प्रतिस्पर्धा गर्दै उनले देखाएको आत्मविश्वास नेपाली क्रिकेटका लागि उत्साहजनक पक्ष बनेको छ। राहुलले ‘प्लेयर अफ द म्याच’ अवार्डसमेत जितिसकेका छन्।
जनकपुरमा आबद्ध इङ्ग्ल्यान्डका अलराउन्डर मोइन अलीले राहुलको बलिङ क्षमताको प्रशंसा गर्दै उनलाई ‘नेपाली मलिङ्गा’ को उपमासमेत दिएका छन्। अन्तरराष्ट्रियस्तरका खेलाडीबाट प्राप्त यस्तो प्रशंसाले राहुलको प्रदर्शनले मैदानबाहिर पनि चर्चा पाएको देखाउँछ।
यद्यपि, सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा विदेशी खेलाडी पनि नेपालीसँगै प्रतिस्पर्धामा छन्। मोइन अली र श्रीलंकाका एन्जेलो म्याथ्युजले समान सात विकेट लिएका छन्। तर, विदेशी खेलाडीसँगै नेपाली बलर पनि शीर्ष सूचीमा रहनुले घरेलु खेलाडीको स्तर र प्रतिस्पर्धात्मक क्षमतामा सुधार भइरहेको सङ्केत गर्छ।
विराटनगर किङ्सका निर्देशक तथा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र चौधरी पनि यसपटक नेपाली खेलाडीको प्रदर्शनलाई सकारात्मक रूपमा लिन्छन्। उनका अनुसार सुरुआती चरणमै नेपाली खेलाडीले विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दै व्यक्तिगत प्रदर्शनमा अग्रता लिनु नेपाली क्रिकेटका लागि सुखद उपलब्धि हो।
चौधरीका अनुसार एनपिएल नेपाली खेलाडीका लागि अन्तरराष्ट्रियस्तरका खेलाडीसँग एउटै प्रतियोगितामा खेल्ने, अनुभव बटुल्ने र आफ्नो क्षमता परीक्षण गर्ने महत्त्वपूर्ण मञ्च बनेको छ। यसपटक प्लेयर अफ द म्याच अवार्ड जित्ने खेलाडीको सूचीमा समेत नेपाली खेलाडी अगाडि देखिनु उत्साहजनक पक्ष रहेको उनको भनाइ छ।
उनले विगतका संस्करणमा विदेशी खेलाडीले सुरुआती चरणदेखि नै प्रभाव जमाउने गरेको भए पनि यसपटक नेपाली खेलाडीले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको बताए। प्रतियोगिताको बाँकी खेलमा पनि यही लय कायम रहे घरेलु खेलाडीले टोलीको नतिजामा निर्णायक भूमिका खेल्न सक्ने उनको विश्वास छ।
एनपिएलको सुरुआती प्रदर्शनले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ– नेपाली क्रिकेटको क्षमता अब विदेशी खेलाडीको प्रदर्शनसँग तुलना गरेर मात्र हेर्नुपर्ने अवस्थामा छैन। लोकेशको आक्रामक ब्याटिङ, सोमपालको अनुभव, अनिलको प्रभावकारी स्पिन र राहुलजस्ता किशोर बलरको उदयले घरेलु क्रिकेटमा प्रतिभाको अभाव नरहेको देखाएको छ।
अब चुनौती भनेको यही प्रदर्शनलाई निरन्तरता दिनु र प्रतियोगिताबाट प्राप्त अनुभवलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटमा उपयोग गर्नु हो। एनपिएल नेपाली खेलाडीका लागि केवल प्रतियोगिता मात्र नभई आफ्नो क्षमता प्रमाणित गर्ने अवसरसमेत बनिरहेको छ।