एनपीएलमा आज लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौँ भिड्दै - Chaitanya News
  • 2026-11-06
  • 10:38:26
  • शुक्रबार,कार्तिक २१, २०८३
  • एनपीएलमा आज लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौँ भिड्दै

    एनपीएलमा आज लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौँ भिड्दै

    काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्स र विराटनगर किंग्सले काठमाडौँ गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछन्।

    आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी प्रतियोगिताको शीर्ष स्थानमा छ। दुई जित र एक खेलमा अंक बाँडेको लुम्बिनी आज चौथो जित निकाल्दै आफ्नो अग्रता कायम राख्ने लक्ष्यमा हुनेछ।

    यता जनकपुर बोल्ट्स भने पाँचौँ खेल खेल्दैछ। यसअघि चार खेल खेलेको जनकपुरले दुई जित र दुई हारसहित चार अंक जोडेको छ। तालिकाको चौथो स्थानमा रहेको जनकपुर आज तेस्रो जितको खोजीमा मैदान उत्रनेछ। समान चार अंक भएका कर्णाली र विराटनगर रनरेटका आधारमा जनकपुरभन्दा अगाडि छन्।

    आजको दोस्रो खेलमा दिउँसो साढे ४ बजे विराटनगर किंग्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर चार खेलबाट दुई जित निकाल्दै चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ। विराटनगर आज पाँचौँ खेलमा तेस्रो जित निकाल्ने योजनामा हुनेछ।

    यता काठमाडौँ गोर्खाजका लागि भने आजको खेल महत्त्वपूर्ण हुनेछ। दुई खेल खेलेको काठमाडौँले एक जित र एक हार बेहोर्दै दुई अंक जोडेको छ। तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको काठमाडौँलाई अंकतालिकामा आफ्नो स्थिति सुधार्न आज जित आवश्यक छ। टोली आज दोस्रो जितको खोजीमा मैदान उत्रनेछ।

    आजका दुवै खेलले एनपीएलको अंकतालिकामा टोलीहरूको स्थान निर्धारणमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ।