आजदेखि तिहार सुरु, साँझ धनतेरस मनाइँदै - Chaitanya News
  • 2026-11-06
  • 09:29:10
  • शुक्रबार,कार्तिक २१, २०८३
  • आजदेखि तिहार सुरु, साँझ धनतेरस मनाइँदै

    आजदेखि तिहार सुरु, साँझ धनतेरस मनाइँदै

    महोत्तरी– नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। तिहारको सुरुवातसँगै प्राचीन मिथिला क्षेत्रमा आज साँझ दीपमालिका गरी धनतेरस मनाइँदैछ। तिथिको घटबढका कारण यस वर्ष मिथिला क्षेत्रमा दीपावली पर्व पाँच दिनको सट्टा छ दिनसम्म मनाइने भएको छ।

    मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा धनतेरस मनाउने चलन छ। यस दिन साँझ घरमा दीप प्रज्वलन गर्नुका साथै नयाँ धातुका भाँडाकुँडा, गरगहना तथा अन्य सामग्री किनेर पूजा गर्ने परम्परा रहेको मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए।

    उनका अनुसार आज सूर्योदयका समयमा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आजै धनतेरस मनाउन लागिएको हो।

    पञ्चाङ्गअनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भई शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ। त्रयोदशीकै दिन मनाइने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको पण्डित झाले स्पष्ट पारे।

    मिथिला क्षेत्रमा दीपावलीलाई बोलीचालीमा दिवालीसमेत भन्ने गरिन्छ। धनधान्यकी देवी लक्ष्मीलाई प्रसन्न पार्ने उद्देश्यले यस दिन नयाँ धातुका भाँडाकुँडा, गरगहना, खरेटो, धनियाँलगायतका सामग्री खरिद गरी घरमा लक्ष्मी स्थापना गरेर पूजा गर्ने चलन छ। साँझ घरघरमा दीपमालिका गरेर पर्वको सुरुवात गरिन्छ।

    मिथिला क्षेत्रमा चाडपर्व, तिथिश्राद्ध, शुभकार्य तथा दिन र नक्षत्रको निर्धारण मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गर्ने परम्परा रहेको छ।

    यस वर्ष आइतबार बिहान चतुर्दशी तिथिमा कुकुरपूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा मनाइनेछ। मैथिल परम्पराअनुसार आगामी बुधबार भैयादूज मनाएसँगै यस वर्षको दीपावली पर्व सम्पन्न हुनेछ।

    तिथिको घटबढका कारण पर्वका विभिन्न धार्मिक विधि फरक–फरक दिनमा परेकाले यस वर्ष मिथिला क्षेत्रमा छ दिनसम्म दीपावलीको उत्सव मनाइने भएको हो।