काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले विभिन्न तह र सेवाका स्थायी पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले आज सूचना जारी गर्दै प्राविधिक तथा प्रशासन सेवाअन्तर्गत इलेक्ट्रिकल र लेखा समूहका विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्ने जनाएको हो।
प्राधिकरणले दसौँ तहदेखि पाँचौँ तहसम्मका विभिन्न पदमा योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको छ।
जारी सूचनाअनुसार दसौँ तहको प्राविधिक सेवातर्फ प्रबन्धक एक जना माग गरिएको छ। त्यस्तै, आठौँ तहको प्रशासन सेवातर्फ सहायक निर्देशक एक जना, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एक जना तथा प्राविधिक सेवातर्फ सहायक प्रबन्धक तीन जनाका लागि दरखास्त खुलाइएको छ।
यसैगरी, प्राधिकरणले सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट र इन्जिनियरलगायतका विभिन्न पदमा पनि कर्मचारी माग गरेको छ।
त्यस्तै, विभिन्न प्रदेशमा कार्यरत रहने गरी मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजरलगायत सहायकस्तरका पदमा समेत पदपूर्ति गरिने प्राधिकरणले जनाएको छ।
इच्छुक तथा आवश्यक योग्यता पुगेका नेपाली नागरिकले आजदेखि आगामी मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिमा आवेदन दिन नसक्नेका लागि दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेसम्म दरखास्त दिने व्यवस्था गरिएको छ।
पद, आवश्यक योग्यता, उमेर हद, दरखास्त दस्तुर तथा आवेदन प्रक्रियासम्बन्धी विस्तृत जानकारी प्राधिकरणले जारी गरेको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।



