यमपञ्चकको वैदिक दर्शन, सामाजिक चेतना, शिक्षा, प्रकृति संरक्षण र रूपान्तरणको सन्देश :
१. उत्सवभन्दा माथि उत्प्रेरणा
नेपाली समाज विविध भाषा, संस्कृति, परम्परा, धर्म, दर्शन र जीवनशैलीको सुन्दर संगम हो। हाम्रो सांस्कृतिक पहिचान केवल चाडपर्व, जात्रा, उत्सव र धार्मिक अनुष्ठानमा मात्र सीमित छैन; यसभित्र मानव जीवनलाई सभ्य, सुसंस्कृत, अनुशासित, सहअस्तित्वमूलक र अर्थपूर्ण बनाउने गहिरो जीवनदर्शन पनि अन्तर्निहित छ।हाम्रा पर्वहरू मनोरञ्जन र उत्सवका अवसर मात्र होइनन्। ती पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका ज्ञान, अनुभव, विश्वास, सामाजिक सम्बन्ध र जीवनमूल्यका जीवन्त पाठशाला हुन्। यिनले मानिसलाई आफ्नो अस्तित्व, परिवार, समाज, प्रकृति र राष्ट्रप्रतिको जिम्मेवारीबोध गराउँछन्।
तिहार अर्थात् दीपावली यस्तै एउटा अनुपम सांस्कृतिक पर्व हो। पाँच दिनसम्म मनाइने यमपञ्चकले मानव जीवनका विभिन्न आयामलाई एउटै सांस्कृतिक सूत्रमा जोडेको छ। काग, कुकुर, गाई र गोरूजस्ता प्राणीप्रतिको सम्मानदेखि लक्ष्मीपूजा, गोवर्धन पूजा, म्हःपूजा र भाइटीकासम्मका परम्परामा प्रकृतिप्रेम, कृतज्ञता, श्रमको सम्मान, आत्मचेतना, पारिवारिक आत्मीयता र सामाजिक सद्भावका अनेकौँ सन्देश समेटिएका छन्।
तिहारलाई केवल बत्ती, फूलमाला, देउसीभैलो, मिठाई र मनोरञ्जनको पर्वका रूपमा बुझ्नु यसको वास्तविक अन्तर्यलाई सीमित गर्नु हो। यसको गहिरो अर्थ मानिसलाई बाहिरी संसारसँग मात्र होइन, आफ्नै अन्तर्मनसँग पनि जोड्नुमा छ। आजको विश्व विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता, आर्थिक प्रतिस्पर्धा र भौतिक विकासको तीव्र गतिमा अघि बढिरहेको छ। तर, विकाससँगै वातावरणीय संकट, पारिवारिक विखण्डन, मानसिक तनाव, सामाजिक असहिष्णुता, नैतिक विचलन र मानवीय संवेदनाको क्षयजस्ता चुनौती पनि बढिरहेका छन्। यस्तो समयमा तिहारको वैदिक तथा मौलिक जीवनदर्शनलाई नयाँ दृष्टिकोणबाट बुझ्नु आवश्यक छ।हामीले पर्वको बाहिरी स्वरूपलाई मात्र निरन्तरता दिने होइन, यसको अन्तर्यमा रहेका शाश्वत जीवनमूल्यलाई समकालीन समाजको आवश्यकता र व्यवहारसँग जोड्नुपर्छ।
२. यमपञ्चक : प्रकृति, प्राणी र मानव जीवनबीचको सहअस्तित्व
यमपञ्चकको पहिलो महत्त्वपूर्ण सन्देश प्रकृतिप्रतिको सम्मान र सम्पूर्ण जीवजगतविचको सहअस्तित्व हो। काग तिहार, कुकुर तिहार, गाई तिहार र गोवर्धन पूजाका परम्परालाई नियाल्दा हाम्रो सांस्कृतिक चेतनाले मानव जीवनलाई प्रकृतिबाट अलग राखेको छैन भन्ने स्पष्ट हुन्छ। कागलाई सन्देशवाहकका रूपमा सम्मान गर्ने परम्परा, कुकुरलाई निष्ठा र सुरक्षाको प्रतीक मान्ने संस्कार, गाईलाई मातृत्व तथा पोषणको प्रतीकका रूपमा पूजा गर्ने प्रचलन र गोरूलाई कृषि तथा श्रमको सहयात्रीका रूपमा सम्मान गर्ने अभ्यासले जीवजगतप्रतिको हाम्रो संवेदनशीलता अभिव्यक्त गर्दछन्।
गोवर्धन पूजाले प्रकृति, कृषि, भूमि, पशुधन र मानव जीवनबीचको अन्तरसम्बन्धलाई स्मरण गराउँछ। यी परम्पराको अन्तर्यमा एउटा महत्त्वपूर्ण जीवनसत्य लुकेको छ: मानव जीवन प्रकृतिको विकल्प होइन, प्रकृतिको अभिन्न अङ्ग हो। आज जलवायु परिवर्तन, वन विनाश, जलस्रोतको क्षय, वायु प्रदूषण, जैविक विविधताको ह्रास र प्राकृतिक स्रोतको अविवेकी दोहन विश्वव्यापी चुनौती बनेका छन्। मानवकेन्द्रित विकासको अवधारणालाई प्रकृतिमैत्री र दिगो विकासको दिशामा रूपान्तरण गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ। यस्तो अवस्थामा हाम्रो सांस्कृतिक परम्पराले दिएको प्रकृतिप्रतिको सम्मानको सन्देशलाई व्यवहारमा उतार्नु अझ महत्त्वपूर्ण हुन्छ।
प्रकृतिको पूजा गर्ने तर नदी, वनजङ्गल र सार्वजनिक स्थल प्रदूषित गर्ने व्यवहार संस्कृतिको मर्मसँग मेल खाँदैन। प्राणीलाई सम्मान गर्ने तर तिनको संरक्षणप्रति उदासीन रहने प्रवृत्तिमा परिवर्तन आउनुपर्छ। प्रकृति संरक्षण कुनै एउटा संस्था, सरकार वा समुदायको मात्र जिम्मेवारी होइन। यो प्रत्येक नागरिकको साझा कर्तव्य हो। विद्यालयमा वातावरणीय शिक्षा, समुदायमा वृक्षरोपण, स्थानीय तहमा फोहोर व्यवस्थापन, पानीका स्रोतको संरक्षण, जैविक विविधताको संवर्द्धन र वातावरणमैत्री उत्सवको अभ्यासले तिहारको प्रकृतिमैत्री दर्शनलाई व्यवहारमा रूपान्तरण गर्न सक्छ। प्रकृतिको पूजा विधिमा मात्र होइन, संरक्षणमा देखिनुपर्छ। प्राणीप्रतिको प्रेम एक दिनको अनुष्ठानमा मात्र होइन, हाम्रो दैनिक व्यवहारमा प्रतिबिम्बित हुनुपर्छ।
३. सम्बन्धको संस्कृति : परिवारदेखि समाजसम्म प्रेम र सहृदयताको विस्तार
मानव जीवनको सबैभन्दा सुन्दर पक्ष सम्बन्ध हो। मानिस सामाजिक प्राणी हो। उसको अस्तित्व, पहिचान, विकास र खुसी परिवार तथा समाजसँगको अन्तरसम्बन्धमा आधारित हुन्छ। तिहारको भाइटीका पारिवारिक आत्मीयता, प्रेम, विश्वास, समर्पण र पारस्परिक जिम्मेवारीको सुन्दर सांस्कृतिक अभिव्यक्ति हो। दाजुभाइ तथा दिदीबहिनीबीच गरिने शुभकामना, टीका, माला र दीर्घायुको कामनाले सम्बन्धप्रतिको सम्मानलाई जीवन्त बनाउँछ। तर सम्बन्धको वास्तविक सुन्दरता चाडपर्वमा भेटघाट गर्नुमा मात्र सीमित हुँदैन। सुखमा सँगै रमाउनु, दुःखमा सहारा बन्नु, विचारमा भिन्नता हुँदा पनि सम्मान गर्नु र कठिन परिस्थितिमा एकअर्काको साथ दिन सक्नु नै सम्बन्धको वास्तविक मूल्य हो।
आज आधुनिक जीवनशैली, व्यक्तिगत स्वार्थ, भौतिक प्रतिस्पर्धा र प्रविधिको बढ्दो प्रभावले मानिसहरूबीच भावनात्मक दूरी बढाउने चुनौती सिर्जना गरेको छ। एउटै घरमा बस्ने परिवारका सदस्यबीच समेत संवाद, आत्मीयता र भावनात्मक साझेदारीको अभाव देखिन थालेको छ।
यस सन्दर्भमा तिहारले परिवार र सम्बन्धको महत्त्व पुनः स्मरण गराउँछ। सम्बन्धको दायरा परिवारमा मात्र सीमित हुनु हुँदैन। छिमेकी, समुदाय, फरक जाति, भाषा, धर्म, संस्कृति र सामाजिक पृष्ठभूमिका मानिसहरूबीच पनि पारस्परिक सम्मान र सद्भाव आवश्यक छ।
सामाजिक सद्भाव भनेको सबैको विचार समान हुनु होइन; विचार फरक भए पनि एकअर्काको अस्तित्व र सम्मान स्वीकार गर्न सक्नु हो। हाम्रो समाजमा प्रेम, सहिष्णुता, सहकार्य, सहयोग र सहृदयताको संस्कृति बलियो बनाउन आवश्यक छ। सम्बन्ध अधिकारले होइन, विश्वासले टिक्छ। समाज शक्तिले मात्र होइन, सद्भावले जोडिन्छ। प्रेमपूर्ण व्यावहारले जीवन अझ सुन्दर बन्छ।
४. दीपावलीको उज्यालो : अज्ञानबाट ज्ञान र नकारात्मकताबाट सकारात्मकतातर्फको यात्रा ।
दीपावली अर्थात् दीपहरूको उत्सव। अन्धकारमाथि प्रकाश, अज्ञानमाथि ज्ञान र नकारात्मकतामाथि सकारात्मकताको विजयको प्रतीकका रूपमा दीपावलीलाई लिइन्छ।
घर, आँगन, मन्दिर र सार्वजनिक स्थलमा बालिने दीपले बाहिरी संसारलाई उज्यालो बनाउँछ। तर यसको वास्तविक सन्देश मानिसको अन्तर्मनलाई पनि उज्यालो बनाउनु हो।
उपनिषद्को प्रसिद्ध प्रार्थना छ :
तमसो मा ज्योतिर्गमय।
अर्थात् अन्धकारबाट प्रकाशतर्फ ।
असतो मा सद्गमय।
असत्यबाट सत्यतर्फ।
मृत्योर्मा अमृतं गमय।
नश्वरताबाट अमरत्वको बोधतर्फ । यी प्रार्थना मानव जीवनको ज्ञान, विवेक, सत्य, चेतना र आध्यात्मिक उन्नयनका शाश्वत आकाङ्क्षा हुन्।
आजको समयमा मानिस सूचना र प्रविधिको दृष्टिले अत्यन्त शक्तिशाली भएको छ। तर सूचना प्राप्त गर्नु र विवेकशील बन्नु एउटै कुरा होइन। शिक्षित हुनु र संस्कारित हुनु पनि समानार्थी होइनन्। मानिसको वास्तविक उन्नति उसले प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्न सक्ने क्षमता, सत्य र असत्य छुट्याउन सक्ने विवेक तथा अरूको दुःख बुझ्न सक्ने मानवीय संवेदनामा निर्भर गर्दछ। हामीले बाहिरी घरसँगै आफ्नो सोच, दृष्टिकोण र व्यवहार पनि स्वच्छ बनाउन आवश्यक छ। अहंकारको अन्धकार हटाएर विनम्रताको उज्यालो, घृणाको अन्धकार हटाएर प्रेमको उज्यालो, अज्ञानको अन्धकार हटाएर ज्ञानको उज्यालो र निराशाको अन्धकार हटाएर आशाको उज्यालो फैलाउन सक्नुपर्छ।
उज्यालोले घर मात्र झिलिमिली वनाउने होईन । ज्ञान, विवेक र सद्भावको प्रकाशले हरेक मन उज्यालो वनाउनु पर्छ।
५. लक्ष्मीपूजाको व्यावहारिक दर्शन : श्रम, उद्यमशीलता र समृद्धि
लक्ष्मीपूजा तिहारको अर्को महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक पक्ष हो। लक्ष्मीलाई धन, ऐश्वर्य, सौभाग्य र समृद्धिकी देवीका रूपमा आराधना गरिन्छ।
यस पर्वमा घर, कार्यालय, व्यापारिक प्रतिष्ठान र कार्यस्थल सफा तथा व्यवस्थित बनाउने, दीप प्रज्वलन गर्ने र आर्थिक समृद्धिको कामना गर्ने परम्परा छ।
यसको व्यावहारिक दर्शनलाई बुझ्दा समृद्धिका केही आधारभूत पक्ष स्पष्ट हुन्छन्।
पहिलो, स्वच्छता र व्यवस्थापन। स्वच्छ वातावरण, व्यवस्थित जीवनशैली र अनुशासित कार्यसंस्कृति समृद्धिका आधार हुन्। दोस्रो, श्रम र उद्यमशीलता। आर्थिक समृद्धि केवल कामना गरेर प्राप्त हुँदैन। त्यसका लागि परिश्रम, सिर्जनशीलता, सीप, लगनशीलता र निरन्तर प्रयास आवश्यक हुन्छ। तेस्रो, इमानदारी र नैतिकता। अनैतिक माध्यमबाट आर्जित सम्पत्तिले क्षणिक सुख दिन सक्ला, तर दिगो सम्मान र आत्मसन्तुष्टि दिन सक्दैन। चौथो, स्रोतसाधनको विवेकपूर्ण उपयोग। बचत, लगानी, उत्पादन, आर्थिक अनुशासन र स्रोतसाधनको उचित परिचालनले आर्थिक स्थायित्व निर्माण गर्दछ। पाँचौँ, सामाजिक उत्तरदायित्व। वास्तविक समृद्धि आफू मात्र सम्पन्न हुनु होइन; आफ्नो समृद्धिबाट परिवार, समुदाय र राष्ट्रको विकासमा योगदान पुर्याउन सक्नु पनि हो।
वैदिक दर्शनमा धर्म, अर्थ, काम र मोक्षलाई मानव जीवनका चार पुरुषार्थका रूपमा व्याख्या गरिएको छ। यसले अर्थ अर्थात् धन आर्जनलाई महत्त्वपूर्ण माने पनि त्यसलाई धर्म र नैतिकताको मर्यादाभित्र राख्न प्रेरित गर्दछ। आज नेपालको सन्दर्भमा उत्पादन, उद्यमशीलता, रोजगारी, सीप विकास, कृषि आधुनिकीकरण, पर्यटन, उद्योग र नवप्रवर्तनलाई प्रोत्साहन गर्नु आवश्यक छ। हामीले युवालाई केवल रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्न सक्ने उद्यमशील जनशक्तिका रूपमा विकास गर्नुपर्छ।
लक्ष्मीपूजाको वास्तविक व्यावहारिक सन्देश नै यही हो: धनलाई सम्मान गरौँ, श्रमलाई पूजा गरौँ, इमानदारीलाई संस्कार बनाऔँ र समृद्धिलाई सामाजिक कल्याणसँग जोडौँ।
समृद्धि धनले मात्र होइन, इमानदार कर्म, उद्यमशीलता, सकारात्मक सोच र असल संस्कारले प्राप्त हुन्छ।
६. शिक्षा र संस्कार : नयाँ पुस्तामा जीवनमूल्यको पुस्तान्तरण
कुनै पनि समाजको भविष्य त्यस समाजले आफ्ना बालबालिका र युवालाई कस्तो शिक्षा, संस्कार, दृष्टिकोण र जीवनमूल्य प्रदान गर्दछ भन्ने कुरामा निर्भर हुन्छ।
शिक्षा केवल सूचना, ज्ञान र प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया होइन। यसको वास्तविक उद्देश्य मानिसलाई विवेकशील, जिम्मेवार, सिर्जनशील, आत्मनिर्भर, अनुशासित र मानवीय बनाउनु हो। यस अर्थमा हाम्रा चाडपर्वहरू पनि अनौपचारिक शिक्षाका महत्त्वपूर्ण माध्यम हुन्। तिहारले बालबालिकालाई प्रकृतिप्रतिको सम्मान, प्राणीप्रतिको दया, परिवारप्रतिको श्रद्धा, श्रमप्रतिको सम्मान, आर्थिक अनुशासन, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानका विषयमा व्यवहारिक ज्ञान प्रदान गर्न सक्छ।
विद्यालयले यी मूल्यलाई पाठ्यपुस्तकको सीमाभित्र मात्र नराखी विद्यार्थीको दैनिक व्यवहारसँग जोड्नुपर्छ।
उदाहरणका लागि, काग तथा कुकुर तिहारको सन्दर्भमा जैविक विविधता र पशुपन्छी संरक्षणसम्बन्धी परियोजना सञ्चालन गर्न सकिन्छ। गोवर्धन पूजाको अवसरमा कृषि, माटो, पानी र वातावरण संरक्षणसम्बन्धी गतिविधि गर्न सकिन्छ। भाइटीकाको सन्दर्भमा पारिवारिक सम्बन्ध, लैङ्गिक समानता र पारस्परिक सम्मानबारे चिन्तन गर्न सकिन्छ। लक्ष्मीपूजाको अवसरमा उद्यमशीलता, बचत र आर्थिक साक्षरताका विषयमा सिकाउन सकिन्छ।
यसरी चाडपर्वलाई जीवनोपयोगी शिक्षासँग जोड्न सकियो भने विद्यार्थीले संस्कृतिलाई केवल सुन्ने वा दोहोर्याउने होइन, बुझ्ने र व्यवहारमा उतार्ने अवसर प्राप्त गर्छन्।
आजको शिक्षामा विज्ञान र प्रविधिसँगै नैतिक शिक्षा, भावनात्मक साक्षरता, वातावरणीय चेतना, सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र अनुसन्धान संस्कृतिलाई पनि महत्त्व दिनुपर्छ। पूर्वीय ज्ञान र आधुनिक विज्ञानबीचको सार्थक संवाद स्थापित गर्न सक्नु आजको शिक्षाको महत्त्वपूर्ण आवश्यकता हो। वेद र विज्ञान, शिक्षा र संस्कार, प्रकृति र संस्कृति, ज्ञान र विवेक तथा क्षमता र चेतनाको समन्वयबाट मात्र समग्र मानव विकास सम्भव हुन्छ।
नयाँ पुस्तालाई आफ्नो संस्कृति र पहिचानप्रति गौरव गर्न सिकाउँदै विश्वस्तरीय प्रतिस्पर्धाका लागि सक्षम बनाउनु आजको शिक्षाको दायित्व हो।
संस्कारविनाको ज्ञान अपूर्ण हुन्छ, विवेकविनाको क्षमता जोखिमपूर्ण हुन्छ र मूल्यविनाको सफलता अर्थहीन हुन्छ।
७. म्हःपूजा र आत्मचेतना : आफ्नो अस्तित्वको सम्मान
तिहारसँग जोडिएको नेवार समुदायको म्हःपूजा नेपालको विशिष्ट सांस्कृतिक सम्पदा हो। नेपाल संवत्को नयाँ वर्षका अवसरमा मनाइने यस पर्वमा आफ्नो शरीर, अस्तित्व र जीवनप्रति सम्मान तथा कृतज्ञता व्यक्त गरिन्छ। म्हःपूजाले मानिसलाई आफ्नै जीवनको महत्त्व बुझ्न र आत्मचेतनाको विकास गर्न प्रेरित गर्दछ।
आधुनिक जीवनमा मानिस बाहिरी सफलता, सामाजिक प्रतिष्ठा र भौतिक उपलब्धिको पछि लाग्ने क्रममा आफ्नो स्वास्थ्य, मानसिक शान्ति र आत्मिक सन्तुलनलाई बेवास्ता गरिरहेको हुन्छ। तर जीवनको आधार स्वयं आफ्नो अस्तित्व हो।
आत्मसम्मान अहंकार होइन। आत्मचेतना स्वार्थ होइन। आफ्नो क्षमता पहिचान गर्नु, कमजोरी स्वीकार्नु, आत्मअनुशासन कायम राख्नु र निरन्तर सुधारको प्रयास गर्नु नै आत्मविकासको वास्तविक मार्ग हो। व्यक्ति शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा सन्तुलित, भावनात्मक रूपमा संवेदनशील र आध्यात्मिक रूपमा जागृत हुन सके मात्र उसको जीवन समग्र रूपमा समृद्ध बन्न सक्छ। यसैले म्हःपूजाको सन्देशलाई व्यक्तिगत विकास, आत्मसम्मान, स्वास्थ्य, सकारात्मक सोच र जीवन व्यवस्थापनसँग जोडेर बुझ्न सकिन्छ। आफूलाई बुझौँ, आफ्नो अस्तित्वलाई सम्मान गरौँ र प्रत्येक दिन आफूलाई अझ राम्रो बनाउने प्रयास गरौँ।
८. संस्कृतिको संरक्षण र रूपान्तरण : आधुनिकता र मौलिकताको संगम
संस्कृति कुनै समाजको पहिचान र सभ्यताको आधार हो। भाषा, साहित्य, कला, परम्परा, चाडपर्व, रीतिरिवाज र जीवनशैलीले समाजको ऐतिहासिक चेतना र सामूहिक स्मृतिलाई जीवन्त राख्छन्। तर संस्कृति संरक्षणको अर्थ पुराना अभ्यासलाई जस्ताको तस्तै दोहोर्याउनु मात्र होइन। त्यसको अन्तर्य बुझ्नु, समयसापेक्ष परिमार्जन गर्नु र जीवनोपयोगी पक्षलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पनि हो। हामीले मौलिकता जोगाउँदै आधुनिकतालाई आत्मसात् गर्न सक्नुपर्छ। आधुनिकता र संस्कृति परस्पर विरोधी होइनन्। विज्ञान र संस्कार, प्रविधि र प्रकृति, विश्वव्यापी सोच र स्थानीय पहिचानबीच सन्तुलित सम्बन्ध स्थापित गर्न सकिन्छ। देउसीभैलो हाम्रो सांस्कृतिक अभिव्यक्ति हो। यसलाई सामाजिक सद्भाव, जनचेतना, स्थानीय कला र सामूहिक सिर्जनशीलताको माध्यम बनाउन सकिन्छ।
फूलमाला, माटाका दियो र परम्परागत सामग्रीको प्रयोगलाई प्रोत्साहन गरेर स्थानीय उत्पादन, कृषि र घरेलु उद्योगलाई सहयोग गर्न सकिन्छ। त्यसैगरी, पटाका र अत्यधिक ध्वनि प्रदूषणको सट्टा वातावरणमैत्री तथा सुरक्षित उत्सवको संस्कृति विकास गर्न सकिन्छ। परम्पराको संरक्षण विवेकसहित हुनुपर्छ। संस्कृतिको निरन्तरता जीवनोपयोगी मूल्यको निरन्तरतामा आधारित हुनुपर्छ।
९. तिहार र राष्ट्र निर्माण : व्यक्तिगत खुसीदेखि राष्ट्रिय समृद्धिसम्म
कुनै पनि राष्ट्रको विकास केवल भौतिक पूर्वाधार, आर्थिक सूचकाङ्क र प्रविधिगत उपलब्धिबाट मात्र मापन हुँदैन। त्यस राष्ट्रका नागरिकको नैतिकता, सामाजिक सद्भाव, श्रमप्रतिको सम्मान, नागरिक जिम्मेवारी, सांस्कृतिक चेतना र सामूहिक उत्तरदायित्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।
तिहारले यिनै मूल्यलाई आत्मसात् गर्ने अवसर प्रदान गर्दछ। हामीले पर्वलाई व्यक्तिगत उपभोग, प्रदर्शन र प्रतिस्पर्धामा सीमित गर्नु हुँदैन। यसलाई समाजमा सकारात्मक सम्बन्ध निर्माण गर्ने, स्थानीय अर्थतन्त्रलाई सहयोग गर्ने, सामाजिक सेवाभाव विस्तार गर्ने र सामूहिक जिम्मेवारी विकास गर्ने अवसरका रूपमा लिनुपर्छ।
विशेषतः नेपालजस्तो विविधतायुक्त समाजमा चाडपर्वले सामाजिक एकता र राष्ट्रिय सद्भावलाई बलियो बनाउन सक्छन्। आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने, ज्येष्ठ नागरिकको सम्मान गर्ने, असहाय तथा विपन्न समुदायसँग खुसी बाँड्ने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने र वातावरण संरक्षणमा योगदान गर्ने अभ्यासले पर्वलाई सामाजिक रूपान्तरणसँग जोड्न सक्छ। हाम्रो समाजमा समृद्धि केवल केही व्यक्तिको आर्थिक सफलतामा सीमित हुनु हुँदैन।
प्रत्येक नागरिकले सम्मानपूर्वक बाँच्न पाउने, शिक्षा र स्वास्थ्यमा पहुँच प्राप्त गर्ने, श्रमको उचित मूल्य पाउने र आफ्नो क्षमता विकास गर्ने अवसर प्राप्त गर्नु नै समावेशी समृद्धिको आधार हो। राष्ट्र निर्माणको वास्तविक शक्ति जिम्मेवार नागरिक, संस्कारित समाज, गुणस्तरीय शिक्षा, उद्यमशील अर्थतन्त्र र प्रकृतिमैत्री विकासमा निहित हुन्छ। तिहारले हामीलाई व्यक्तिगत खुसीलाई सामाजिक खुसीसँग र व्यक्तिगत समृद्धिलाई राष्ट्रिय समृद्धिसँग जोड्ने प्रेरणा दिन्छ।
१०. निष्कर्ष : तिहार मनाउने मात्र होइन, यसको जीवनदर्शन आत्मसात् गरौँ
तिहारको वास्तविक सुन्दरता यसको बाहिरी झिलिमिलीमा मात्र छैन। यसको अन्तर्यमा रहेको प्रकृतिप्रेम, प्राणीप्रतिको सम्मान, पारिवारिक आत्मीयता, श्रमको महत्त्व, समृद्धिको चेतना, आत्मसम्मान, सांस्कृतिक पहिचान र सामाजिक सद्भावमा यसको वास्तविक शक्ति निहित छ।
यमपञ्चकका पाँच दिनले हामीलाई जीवनका अनेकौँ पक्षबारे सोच्न, बुझ्न र व्यवहार सुधार्न प्रेरित गर्दछन्।
हामीले पर्व मनाइरहँदा आफैँलाई केही प्रश्न गर्न आवश्यक छ :
के हाम्रो जीवन प्रकृतिमैत्री र वातावरणप्रति उत्तरदायी छ?
के हाम्रा सम्बन्ध प्रेम, विश्वास र पारस्परिक सम्मानमा आधारित छन्?
के हाम्रो सोच ज्ञान, विवेक र सकारात्मकताले निर्देशित छ?
के हाम्रो कर्म इमानदार, अनुशासित र समाजोपयोगी छ?
के हाम्रो शिक्षा ज्ञानसँगै संस्कार र चेतना विकास गर्न सक्षम छ?
के हामीले आफ्नो संस्कृति र मौलिक पहिचान भावी पुस्तालाई हस्तान्तरण गर्न सकेका छौँ?
यी प्रश्नको उत्तर खोज्ने र आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास नै तिहारको वास्तविक साधना हो। पर्वको सार उत्सवमा मात्र होइन, उत्सवले हाम्रो सोच, संस्कार र व्यवहारमा ल्याउने सकारात्मक परिवर्तनमा हुन्छ। परम्पराले हामीलाई सभ्यताको जग वुझ्न प्रेरित गर्छ, शिक्षाले विवेक दिन्छ, संस्कारले व्यवहार सुधार्छ र चेतनाले समाज रूपान्तरण गर्छ। हामीले यस्तो समाज निर्माण गर्न सक्नुपर्छ, जहाँ प्रकृतिको सम्मान होस्, श्रमको मूल्य होस्, सम्बन्धमा आत्मीयता होस्, व्यवहारमा इमानदारी होस्, संस्कृतिमा गौरव होस् र प्रत्येक मानिसको जीवनमा सम्मान, अवसर तथा खुसीको अनुभूति होस्।
यही तिहारको अन्तर्य हो। यही यमपञ्चकको वैदिक तथा व्यावहारिक दर्शन हो। र यही हाम्रो मौलिक सांस्कृतिक जीवनदर्शनको शाश्वत सन्देश हो।
तिहारलाई परम्पराका रूपमा मनाऔँ, संस्कारका रूपमा अपनाऔँ, शिक्षाका रूपमा बुझौँ र सामाजिक रूपान्तरणको प्रेरणाका रूपमा जीवनमा उतारौँ।
तमसो मा ज्योतिर्गमय।
असतो मा सद्गमय।
मृत्योर्मा अमृतं गमय।
ज्ञानको उज्यालोले चेतना प्रकाशित होस्, प्रेम र सद्भावले सम्बन्ध सुदृढ बनून्, इमानदार कर्मले समृद्धि सिर्जना गरोस् र संस्कार तथा मानवीय मूल्यले समाजलाई सभ्य, सुसंस्कृत र समुन्नत बनाओस्। शुभ दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना!