विराटनगर– दिदीबहिनीले भाइटीकामा दाजुभाइलाई दिने स्नेह, माया र आशीर्वादको प्रतीक ‘भाइ मसला’को ठूलो हिस्सा विदेशबाट आयात हुने गरेको छ। नेपाली चाडपर्व र परम्परासँग जोडिएको भाइ मसलाका लागि मात्रै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम विदेशिएको छ। यसबाट राज्यले ५९ करोड ३३ लाख रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ।
तिहार र छठ पर्वलाई लक्षित गरेर नेपालमा सुक्खा फलफूल तथा पूजाआजामा प्रयोग हुने सामग्रीको आयात बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ। ओखर, नरिवल, बदाम, काजु र किसमिसजस्ता वस्तुको आयातमा भएको खर्चले चाडपर्वको बजारसमेत विदेशी उत्पादनमा कति निर्भर छ भन्ने स्पष्ट पार्छ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा यी पाँच प्रकारका वस्तुको आयातमा २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ। अझ चाखलाग्दो पक्ष त के छ भने यो रकम गत आर्थिक वर्षभरि यस्ता वस्तु आयातमा खर्च भएको कुल रकमको आधाभन्दा बढी हो।
ओखर र नरिवलमा सबैभन्दा ठूलो कारोबार
आयात मूल्यका आधारमा सबैभन्दा बढी रकम ओखर खरिदमा खर्च भएको छ। तीन महिनामा ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको १५ लाख २५ हजार २५० किलोग्राम ओखर आयात भएको छ। ओखर आयातबाट मात्रै सरकारले १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ। यसको मुख्य आपूर्तिकर्ता चीन र अमेरिका हुन्।
त्यस्तै, परिमाणका हिसाबले नरिवल सबैभन्दा अगाडि छ। तीन महिनामा एक करोड १४ लाख ६ हजार २०७ किलोग्राम नरिवल आयात हुँदा ५६ करोड ६० लाख ७० हजार रुपैयाँ विदेशिएको छ। नरिवल आयातबाट ११ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यसको आयातका लागि नेपाल पूर्ण रूपमा भारतमा निर्भर देखिएको छ।
बदाम आयातमा ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ। यस अवधिमा पाँच लाख नौ हजार ७८ किलोग्राम बदाम आयात हुँदा ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व उठेको छ। बदामको मुख्य आपूर्तिकर्ता अमेरिका रहेको छ।
भाइ मसलामा लोकप्रिय काजु आयातका लागि ४६ करोड ५७ लाख २६ हजार रुपैयाँ बाहिरिएको छ। यसबाट सरकारले १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ। काजुको मुख्य आयात भारत र भियतनामबाट भएको छ।
त्यस्तै, किसमिस आयातमा २७ करोड ६३ लाख ४९ हजार रुपैयाँ खर्च भएको छ। सात लाख ३३ हजार ५९८ किलोग्राम किसमिस आयात हुँदा राज्यले ६ करोड ७१ लाख ९६ हजार रुपैयाँ राजस्व पाएको छ। यसको मुख्य स्रोत चीन र भारत हुन्।
एक वर्षमै साढे चार अर्बको सुक्खा फलफूल आयात:
नेपालमा सुक्खा फलफूलको माग चाडपर्वमा मात्रै सीमित छैन। भन्सार विभागको गत आर्थिक वर्ष २०८२/०८३ को तथ्यांकले पनि यसको ठूलो बजार देखाउँछ।
गत आर्थिक वर्षभरिमा तीन करोड ६८ लाख ४८ हजार ४४५ किलोग्राम सुक्खा फलफूल तथा नरिवल आयात भएको थियो। यसको कुल मूल्य चार अर्ब ४४ करोड ६६ लाख ७७ हजार रुपैयाँ पुगेको थियो। उक्त आयातबाट सरकारले ९२ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।
गत वर्ष रकमका आधारमा सबैभन्दा बढी किसमिस आयात भएको थियो। ३३ लाख १० हजार ३३ किलोग्राम किसमिस आयात गर्दा एक अर्ब २२ करोड ९९ लाख ५९ हजार रुपैयाँ विदेशिएको थियो। यसको ठूलो हिस्सा चीनबाट आएको थियो।
बदाम आयातमा ९० करोड १७ लाख चार हजार रुपैयाँ खर्च भएको थियो भने काजु आयातमा ८७ करोड ७० लाख २३ हजार रुपैयाँ बाहिरिएको थियो। नरिवल आयातमा एक अर्ब पाँच करोड ८४ लाख रुपैयाँ खर्च भएको तथ्यांक छ। नरिवलको मुख्य स्रोत भारत रहेको छ।
त्यस्तै, बोक्रा नभएको ओखर आयातमा ३७ करोड ९५ लाख ८१ हजार रुपैयाँ खर्च भएको थियो। यसको लगभग सम्पूर्ण आयात चीनबाट भएको थियो।
चाडपर्वमा विदेशी बजारलाई अर्बौंको फाइदा:
तथ्यांकले नेपाली चाडपर्वको उपभोग संस्कृतिसँगै आयातमा आधारित बजारको आकार पनि उजागर गरेको छ। भाइटीकामा दाजुभाइलाई सगुनका रूपमा दिइने मसलादेखि पूजाआजामा प्रयोग हुने नरिवलसम्मका सामग्रीका लागि नेपालले बर्सेनि ठूलो रकम विदेश पठाइरहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामै यी पाँच वस्तुको आयातमा भएको खर्च गत आर्थिक वर्षको कुल वार्षिक आयातको करिब ५५ प्रतिशत बराबर पुगेको छ। यसले चाडपर्वको समयमा बढ्ने मागले आयातलाई थप गति दिने गरेको देखाउँछ।
नेपाली बजारमा चाडपर्वको रौनक बढ्दा चीन, अमेरिका, भारत र भियतनामजस्ता मुलुकका उत्पादक तथा व्यापारीले ठूलो बजार पाइरहेका छन्। अर्कोतर्फ, स्वदेशमै उत्पादन र प्रशोधनको सम्भावना भएका वस्तुमा समेत आयात निर्भरता कायम रहँदा ठूलो रकम बाहिरिने क्रम रोकिएको छैन।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने मसलाको थाली परम्परा र आत्मीयताको प्रतीक हो। तर त्यही थाली तयार पार्न विदेशिने अर्बौं रुपैयाँले नेपालको उत्पादन क्षमता, कृषि प्रशोधन र आयात प्रतिस्थापनको कमजोर अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।