पोखरा– तिहारमा सयपत्री फूलको माग बढ्दै जाँदा पोखरा महानगरपालिकाले स्थानीय उत्पादनबाटै बजारको ठूलो हिस्सा धान्ने तयारी गरेको छ। यस वर्ष पोखरामा करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ। महानगरपालिकाका अनुसार तिहारमा आवश्यक पर्ने फूलको करिब ७५ प्रतिशत माग स्थानीय उत्पादनले धान्ने अनुमान छ।
स्थानीय कृषि उत्पादन बढाउने र किसानको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले महानगरपालिकाले विगत तीन वर्षदेखि तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिँदै आएको छ। यसका लागि किसानलाई अनुदान, बीउ, मल्चिङ प्लास्टिक, आवश्यक कृषि सामग्री तथा प्राविधिक तालिम उपलब्ध गराउँदै आएको महानगरले जनाएको छ।
पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाका अनुसार महानगरको सहयोग, किसानको मेहनत र विभिन्न संघसंस्थाको सहकार्यले पछिल्ला वर्षमा पोखरामा सयपत्री फूल खेती विस्तार हुँदै गएको छ।
स्थानीय स्तरमै फूल उत्पादन बढ्दा तिहारका बेला बजारको माग पूरा गर्न सहज हुनुका साथै किसानका लागि आम्दानीको नयाँ स्रोतसमेत बनेको कडरियाले बताए।
तिहारलाई लक्षित गरी कृषि महाशाखाले किसानको खेतबारीमै पुगेर फूल खेतीको अवस्था, उत्पादन र बजारमा आपूर्तिको तयारीबारे अनुगमन गरिरहेको छ। यस वर्ष तिहार केही ढिलो परेकाले फूल उत्पादन र बजारमा आपूर्ति व्यवस्थापनमा केही चुनौती देखिएको कडरियाको भनाइ छ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र किसानले उचित मूल्य पाउने वातावरण बनाउन महानगरपालिकाले सहजीकरण गरिरहेको छ।
विगतमा तिहारका लागि बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्था रहे पनि पछिल्ला वर्षमा पोखरामै खेती विस्तार भएपछि स्थानीय उत्पादनले बजारमा आफ्नो हिस्सा बढाउँदै लगेको छ।
स्थानीय उत्पादनमा वृद्धि हुँदै जाँदा किसानको आम्दानी बढ्ने, फूल आयातमा निर्भरता घट्ने र कृषि क्षेत्रबाटै स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा महानगरपालिकाले गरेको छ।