काठमाडौँ– देशका विभिन्न स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुने र केही स्थानमा वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा समेत आंशिक बदली हुने महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।