धनगढीः नेपाल शिक्षक महासंघ धनगढी उपमहानगरपालिका कार्यसमितिले दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा अवकाशप्राप्त शिक्षक कर्मचारीलाई सम्मान गरेको छ।
महासंघ धनगढी उपमहानगरपालिका कार्यसमिति अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा सेवा निवृत्त शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई सम्मान गरिएको हो।
महासंघका केन्द्रीय सचिव धनबहादुर सिंह प्रमुख अतिथि रहेको कार्यक्रममा सेवा निवृत्त शिक्षकहरू लक्ष्मणदत्त भट्ट, ज्ञानेन्द्रबहादुर शाह, गणेशदत्त जोशी, राजेन्द्र पोखरेल, हेमराज जोशी, नवराज अवस्थी, लक्ष्मी पाण्डेय, सवितादेवी उपाध्याय, चक्र विक., जयप्रकाश मिश्र, नवराज ओझा, खेमा शाह, सावित्री जोशी, दामोदर बस्नेत, हरिना सिंह, बाबुराम चौधरी, बसन्ती भण्डारी र अनिता श्रेष्ठलाई सम्मान गरिएको थियो।
त्यसैगरी विद्यालय कर्मचारीहरू रुद्रराज भुजेल, क्रिमलाल चौधरी, भीमबहादुर मगरलगायत शिक्षासेवीहरूलाई पनि सम्मान गरिएको महासंघले जनाएको छ।
कार्यक्रममा नेपाल शिक्षक महासंघको केन्द्रीय समितिमा मनोनित केन्द्रीय सदस्य भूपालसिंह खड्कालाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो।
धनगढी उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा शिक्षक नेताहरू धनबहादुर सिंह, खडक खड्का, भूपालसिंह खड्का, डिल्लीराज पन्त, ज्ञानेन्द्रबहादुर शाह, नेत्रनाथ, प्रेम शाही, तेजबहादुर सिंह, लक्ष्मणदत्त भट्ट, सीताराम अवस्थी र गंगाराम ओझालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उनीहरूले शिक्षकहरूबीच एकता र सहकार्यको आवश्यकता औँल्याउँदै नेपाल शिक्षक महासंघ धनगढीले आयोजना गरेको सहिष्णुतापूर्ण शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमको प्रशंसा गरेका थिए।
कार्यक्रममा संस्थागत सहअध्यक्ष गगनबहादुर सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहसचिव गौरीशंकर जोशीले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रमको प्रायोजन गरेको नवजीवन अस्पताल प्रालि धनगढीले सहभागी शिक्षक तथा कर्मचारीलाई लक्षित गरी ‘टिचर स्पेसल हेल्थ केयर डिस्काउन्ट कार्ड’ समेत वितरण गरेको थियो।