काठमाडौँ– नेपालको संस्कृति, आध्यात्मिकता, प्राकृतिक सम्पदा र परम्परागत जीवनशैलीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा स्थापित गर्न सके वेलनेस पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्न सकिने सरोकारवालाले बताएका छन् । उनीहरूले विदेशी अवधारणाको नक्कल गर्नुभन्दा नेपालको आफ्नै मौलिक विशेषतालाई पर्यटनको ब्रान्ड बनाउनुपर्नेमा जोड दिएका छन् ।
सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारी भइरहेका बेला नेपाल पर्यटन बोर्डले बुधबार काठमाडौँको लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना गरेको अन्तरक्रियामा सहभागी अन्तर्राष्ट्रिय विज्ञ तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले यस्तो धारणा राखेका हुन् ।
‘वेलनेस टुरिजम इन नेपाल : ग्लोबल पर्स्पेक्टिभ्स एन्ड स्ट्राटेजिक प्रायोरिटिज’ विषयक कार्यक्रममा अन्तर्राष्ट्रिय वेलनेस विज्ञ निगेल फ्र्याङ्कलिनले नेपालसँग विश्व बजारमा छुट्टै पहिचान बनाउन सक्ने प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक सम्पदा रहेको बताए ।
विश्वका प्रतिष्ठित लक्जरी होटल तथा वेलनेस संस्थाहरूसँग दुई दशकभन्दा लामो अनुभव हासिल गरेका फ्र्याङ्कलिनले नेपालको मौलिक संस्कृति र जीवनदर्शनलाई प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नुपर्ने धारणा राखे ।
उनका अनुसार नेपालले वेलनेस पर्यटन प्रवर्द्धन गर्दा अन्य देशका अभ्यासलाई जस्ताको तस्तै पछ्याउनु उपयुक्त हुँदैन । यहाँका मन्दिर, परम्परा, संस्कृति, समुदाय र प्रकृतिसँग जोडिएका अनुभवलाई पर्यटनसँग जोडेर विश्वसामु पुर्याउन आवश्यक रहेको उनले बताए ।
वेलनेस पर्यटनलाई स्पा, मसाज र आराममा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै फ्र्याङ्कलिनले आत्मिक शान्ति, प्रकृतिसँगको सम्बन्ध, अपनत्व र जीवनशैलीलाई समेत यसको अभिन्न हिस्सा बनाउनुपर्ने बताए । बढ्दो व्यस्तता र शहरी कोलाहलबाट थकित विश्व समुदायलाई नेपालको प्राकृतिक तथा सांस्कृतिक जीवनशैलीसँग जोड्ने अवसर रहेको उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक लक्ष्मण गौतमले भने वेलनेस पर्यटन विकास गर्दा मौलिक सम्पदाको संरक्षण र पर्यटनबाट प्राप्त हुने आर्थिक लाभबीच सन्तुलन कायम गर्नुपर्ने बताए ।
नेपालले एकातिर प्राचीन सम्पदा, धार्मिक आस्था, संस्कृति र मौलिक पहिचान जोगाउनुपर्ने तथा अर्कोतर्फ पर्यटकको संख्या र बसाइ अवधि बढाएर आर्थिक लाभ विस्तार गर्नुपर्ने चुनौती रहेको उनले उल्लेख गरे ।
गौतमका अनुसार वेलनेस पर्यटनको उद्देश्य मानिसलाई आफैँसँग जोडिन, आफ्नो अस्तित्व बुझ्न र आत्मिक शान्ति प्राप्त गर्न सहयोग गर्नु हो । नेपालको संस्कृति, प्रकृति र जीवनशैलीमा रहेका यस्ता विशेषतालाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिने उनले बताए ।
अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान मुख्यतः हिमाल र पर्वतारोहणमा केन्द्रित रहेको उल्लेख गर्दै गौतमले वेलनेस पर्यटनका लागि छुट्टै पहिचान र नयाँ मानक स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । नेपालका मौलिक विशेषतालाई अन्तर्राष्ट्रिय पर्यटकले बुझ्ने भाषामा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल वेलनेस पर्यटनको विशिष्ट पहिचान निर्माण, सन् २०२७ को वेलनेस पर्यटन वर्षको तयारी, अन्तर्राष्ट्रिय बजारमा नेपालको स्थान निर्धारण तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यका प्राथमिकताबारे छलफल भएको थियो ।
अन्तरक्रियामा सरकार तथा निजी क्षेत्रका वेलनेस पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए । सहभागीहरूले वेलनेस पर्यटनलाई नेपालको समग्र पर्यटन व्यवसायसँग जोड्दै विकास गर्न स्पष्ट रणनीति, मौलिक पर्यटन अनुभव र अन्तर्राष्ट्रिय बजार लक्षित प्रभावकारी प्रवर्द्धन आवश्यक रहेकोमा जोड दिएका थिए ।