काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुत बनाउन शिक्षा, प्रविधि, नवप्रवर्तन र जनस्तरको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
साउथ एसिया फेडेरेसन अफ जापानिज युनिभर्सिटी अल्मुनाई एसोसिएसन (साफजुआ) द्वारा आयोजित ‘साफजुआ सिम्पोजियम २०२६’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खनालले शैक्षिक आदानप्रदानबाट विकसित सम्बन्ध दुई देशबीचको दीर्घकालीन मित्रताको बलियो आधार बन्ने बताए।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको सन्दर्भ उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध औपचारिक कूटनीतिक सम्बन्धभन्दा धेरै पुरानो रहेको स्मरण गरे। सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाई कावागुची बौद्ध धर्मसम्बन्धी ग्रन्थको खोजीमा नेपाल आएको र सन् १९०० को सुरुआतमा आठ नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएको घटनाले दुई देशबीचको सम्बन्धको ऐतिहासिक जग बसालेको उनको भनाइ थियो।
उनले सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता जापान नेपालको भरपर्दो विकास साझेदारका रूपमा रहँदै आएको उल्लेख गरे। जापानको आर्थिक रूपान्तरण र प्राविधिक विकासले नेपालको विकास यात्रालाई प्रेरणा दिएको बताउँदै उनले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपद् उत्थानशीलता र मानव संसाधन विकासमा जापानले पुर्याएको योगदानको प्रशंसा गरे।
मन्त्री खनालका अनुसार नेपाल–जापान सम्बन्धलाई थप जीवन्त बनाउने अर्को महत्त्वपूर्ण आधार जनस्तरको आवतजावत र शैक्षिक सहकार्य हो। हाल जापानमा तीन लाखभन्दा बढी नेपाली बसोबास गरिरहेको तथा गत वर्ष जापानमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली दोस्रो ठूलो समूह बनेको तथ्यले दुई देशबीचको सम्बन्धको गहिराइ देखाउने उनले बताए।
जापानमा अध्ययन गरेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र पेसाकर्मीले स्वदेश फर्किएर संस्थागत विकास, उद्योग तथा सामुदायिक क्षेत्रमा योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले शिक्षालाई द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा व्याख्या गरे। जापान सरकारको ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसिप’ (जेडीएस) कार्यक्रमले नेपाली सरकारी अधिकारीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नुका साथै सार्वजनिक नीति, सुशासन र विकास प्रशासनमा नेपालको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याएको उनको भनाइ थियो।
उनले दक्षिण एसियाली मुलुकहरूले जलवायु परिवर्तन, प्राकृतिक विपद्, तीव्र सहरीकरण र युवाका लागि उत्पादनमूलक अवसर सिर्जना गर्नेजस्ता साझा चुनौती सामना गरिरहेको उल्लेख गर्दै यी क्षेत्रमा जापानसँग सहकार्य विस्तार गर्न सकिने सम्भावना औँल्याए।
यसैबीच, नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिप्रति जापानी प्रधानमन्त्री साने ताकाइचीले प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवादमार्फत व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि मन्त्री खनालले धन्यवाद व्यक्त गरे। विपद्का बेला जापानले उपलब्ध गराएको राहत सामग्री, फरेन्सिक विशेषज्ञता तथा डीएनए पहिचानमा गरेको सहयोगले दुई देशबीचको मित्रता र आपसी विश्वासलाई थप प्रगाढ बनाएको उनले बताए।
राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण तथा जापानी सम्राट र प्रधानमन्त्रीसँग भएका भेटवार्ताले पनि द्विपक्षीय सम्बन्धलाई थप उचाइ दिएको उनले उल्लेख गरे। नेपाल–जापान सम्बन्धमा योगदान पुर्याएका पूर्वपरराष्ट्र सचिव तथा पूर्वराजदूत मदनकुमार भट्टराईलाई जापान सरकारले यस वर्ष ‘अर्डर अफ द राइजिङ सन, गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान प्रदान गरेकोमा पनि उनले खुसी व्यक्त गरे।
मन्त्री खनालले नेपाल र जापानबीचको सात दशक लामो कूटनीतिक सम्बन्धलाई आगामी दिनमा शिक्षा, प्रविधि, आर्थिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत अझ फराकिलो तथा उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए।