काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहँदा दुवै कोषमा गरी १८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म कोषका विभिन्न खातामा कुल १८ अर्ब ३७ करोड ४७ लाख ११ हजार ५७४ रुपैयाँ मौज्दात रहेको छ ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ६२ करोड ५३ लाख ३६ हजार ९७१ रुपैयाँ जम्मा भएको छ ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड १४ लाख ९ हजार ७५७ अमेरिकी डलर मौज्दात रहेको छ ।
भोटेकोशी बाढीपछि विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था र निकायबाट कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।