विशेष सुरक्षा सल्लाहकार बन्न कार्कीको अस्वीकार - Chaitanya News
  • 2026-11-05
  • 16:33:26
  • बिहिबार,कार्तिक २०, २०८३
  • विशेष सुरक्षा सल्लाहकार बन्न कार्कीको अस्वीकार

    विशेष सुरक्षा सल्लाहकार बन्न कार्कीको अस्वीकार

    काठमाडौँ– नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले सरकारले दिएको नयाँ जिम्मेवारी अस्वीकार गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा नियुक्त गर्ने निर्णय भए पनि उनले नियुक्ति पत्र नै बुझ्न नमानेका हुन्।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा सरुवा गर्ने निर्णय गरेको थियो। उक्त पदमा उनलाई नेपाल सरकारको सचिवसरह सेवा–सुविधा उपलब्ध गराउने निर्णयसमेत गरिएको थियो।

    तर, कार्कीले नयाँ पद र त्यससँग जोडिएका सुविधासमेत स्वीकार नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक सचिवले रातोपाटीलाई जानकारी दिएका छन्।

    सरकारले कार्कीलाई आईजीपीबाट हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको थियो। डा. केसीले दर्ज्यानी चिह्न लगाइसकेका छन् भने पदभारसमेत ग्रहण गरिसकेका छन्।

    आफ्नो कार्यकाल बाँकी रहँदै सरकारले गैरकानुनी र पूर्वाग्रहपूर्ण तरिकाले प्रहरी प्रमुखबाट हटाएको दाबी गर्दै कार्की कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्। उनले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दायर गरेका छन्।

    सरकारको निर्णयलाई अदालतमा चुनौती दिएका कार्कीले नयाँ जिम्मेवारीको नियुक्ति पत्रसमेत नबुझेको उनीनिकट स्रोतले जनाएको छ। सरकारले गरेको निर्णयविरुद्ध न्यायिक लडाइँमा जाने तयारी गरेकै कारण उनले विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी स्वीकार नगरेको बताइएको छ।