काठमाडौँः नेपालको मौलिक संस्कृति र चाडपर्वलाई डिजिटल माध्यमबाट विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ।
नेपाल पर्यटन बोर्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा पहिलोपटक उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा उत्कृष्ट रिल निर्माण गर्ने सहभागीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ।
नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्पराको डिजिटल प्रवर्द्धनका लागि बोर्डले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसअघि मन्त्री पौडेलको निर्देशनअनुसार बडादसैँको अवसरमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा देशभरका १०० स्थानमा लिङ्गे पिङ राखिएको थियो।
नेपालको पर्यटनलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने योजनाअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको बोर्डले जनाएको छ। प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई श्रव्यदृश्य सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले कुकुर तिहारसँग सम्बन्धित मौलिक र सिर्जनात्मक भिडियो तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुक खातामा सार्वजनिक गर्नुपर्नेछ। सहभागीले तयार पार्ने भिडियो अङ्ग्रेजी भाषामा हुनुपर्नेछ। भिडियोमा अङ्ग्रेजी उपशीर्षक वा अङ्ग्रेजी भाषाको वाचन अनिवार्य गरिएको छ।
सहभागीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दा नेपाल फेस्टिबल र कुकुर तिहारसम्बन्धी ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। साथै, इन्स्टाग्राममा नेपाल टुरिजमको आधिकारिक खातालाई र फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ।
सामाजिक सञ्जालमा प्रकाशित भिडियोसँगै डाउनलोड तथा हेर्न मिल्ने अनुमति दिइएको गुगल ड्राइभको लिङ्क इमेलमार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ। प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्ने जनाएको छ।
प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति नोभेम्बर २१ अर्थात् मङ्सिर ५ गते तोकिएको छ।
नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्ने परम्परा छ। तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका र माला लगाइदिएर मीठा परिकार खुवाउने चलन छ।
यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोडेर कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउने बोर्डको लक्ष्य छ।
डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवा तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।