नसर्ने रोग नियन्त्रणमा सरकारको जोड, उपचारभन्दा रोकथामलाई प्राथमिकता - Chaitanya News
  • 2026-11-04
  • 13:24:07
  • बुधबार,कार्तिक १९, २०८३
  • नसर्ने रोग नियन्त्रणमा सरकारको जोड, उपचारभन्दा रोकथामलाई प्राथमिकता

    नसर्ने रोग नियन्त्रणमा सरकारको जोड, उपचारभन्दा रोकथामलाई प्राथमिकता

    काठमाडौँः सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासलाई तीव्रता दिएको छ।

    यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्था र नियन्त्रणका उपायबारे छलफल भएको छ।

    बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि पहल गर्ने निष्कर्ष निकालेको छ। साथै, बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।

    बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना प्रभावकारी रूपमा विस्तार गर्ने, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने, विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने तथा विशेषज्ञ चिकित्सकलाई स्वदेशमै टिकाउने विषयमा छलफल भएको थियो।

    त्यस्तै, सुर्तीजन्य पदार्थ, शक्तिवर्द्धक पेय पदार्थ, पत्रु खाना, विषादीयुक्त खाद्यवस्तु र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख कारकका रूपमा औँल्याइएको छ। यस्ता वस्तुको प्रयोग तथा बिक्री वितरणमा प्रभावकारी नियन्त्रण र नियमन गर्नुपर्नेमा पनि जोड दिइएको छ।

    सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारमा मात्र निर्भर नभई रोकथाम, जनचेतना, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ।

    नेपालले सन् २०३० सम्ममा नसर्ने रोगका कारण हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्यप्रति प्रतिबद्धता जनाएको छ। सोही लक्ष्य हासिल गर्न सरकारले रोकथाममुखी स्वास्थ्य नीति र बहुक्षेत्रीय समन्वयलाई प्राथमिकता दिएको हो।