इनम सापकोटा प्रकरणले संसद् तात्यो, प्रधानमन्त्रीदेखि आईजीपीसम्मलाई बोलाउन विपक्षीको माग - Chaitanya News
  • 2026-11-04
  • 12:45:30
  • बुधबार,कार्तिक १९, २०८३
  • इनम सापकोटा प्रकरणले संसद् तात्यो, प्रधानमन्त्रीदेखि आईजीपीसम्मलाई बोलाउन विपक्षीको माग

    इनम सापकोटा प्रकरणले संसद् तात्यो, प्रधानमन्त्रीदेखि आईजीपीसम्मलाई बोलाउन विपक्षीको माग

    काठमाडौं– बिचौलिया इनम सापकोटासँग जोडिएको भनिएको अडियो प्रकरण र त्यसपछि सार्वजनिक भएका घटनाक्रमलाई लिएर विपक्षी दलहरूले सरकारमाथि संसदीय निगरानी बढाउन माग गरेका छन्। प्रकरणमा उठेका प्रश्नहरूको जवाफ माग्दै विपक्षी दलहरूले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक तत्काल बोलाउन दबाब दिएका हुन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले समितिको बैठकमार्फत सरकार र प्रहरी प्रशासनसँग जवाफ माग्नुपर्ने बताएका छन्। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र नेकपाका प्रमुख सचेतक युवराज दुलालले समितिका सभापतिलाई पत्र पठाउँदै बैठक बोलाउन माग गरेका छन्।

    शाहीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाललाई सम्बोधन गर्दै लेखेको पत्रमा पछिल्लो समय सरकार र नेपाल प्रहरीका महानिरीक्षकबीच देखिएको तिक्तता, पत्रकार पक्राउ, राज्यशक्तिको दुरुपयोग तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा रहेका व्यक्तिको मोबाइल फोन जफत गरिएको विषयलाई गम्भीर रूपमा उठाएका छन्।

    राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सम्बन्धित यी घटनाबारे समितिमा छलफल गरी आवश्यक छानबिन गर्नुपर्ने उनको माग छ। त्यसका लागि प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव र नेपाल प्रहरीका महानिरीक्षकलाई समितिमा अनिवार्य उपस्थित गराएर जवाफ माग्नुपर्ने शाहीले बताएका छन्।

    ‘मैले लिखित रूपमा नै समितिको बैठक बोलाउन माग गरेको छु,’ शाहीले अनलाइनखबरसँग भने।

    त्यस्तै, नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि समितिको बैठक तत्काल बोलाउन माग गर्दै पत्र पठाएका छन्। उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी सार्वजनिक भयो, प्रधानमन्त्री र प्रमुख सल्लाहकारका अभिव्यक्तिको आधार के हो तथा पत्रकार पक्राउ र रिहाइका घटनामा सरकारको भूमिका के छ भन्ने प्रश्न उठाएका छन्।

    दुलालले प्रहरी प्रशासन र सरकारी निकायको कामकारबाहीमाथि गम्भीर प्रश्न उठिरहेको भन्दै गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई समितिमा उपस्थित गराएर जवाफ माग्नुपर्ने बताएका छन्।

    ‘सरकारका निकायहरू किन गैरकानुनी रूपमा चलिरहेका छन्? प्रहरी कस्टडीमा भएका इनम सापकोटाको भनिएको अडियो कसरी लिक भयो?’ भन्दै उनले पत्रमा प्रश्न गरेका छन्।

    उनका अनुसार समितिका सभापतिसँग बैठक बोलाउने विषयमा कुराकानी भइसकेको छ र सभापतिले मागलाई सकारात्मक रूपमा लिएका छन्।

    अन्य विपक्षी दलहरूले पनि अनौपचारिक रूपमा समितिको बैठक बोलाउन माग गरिरहेको बताएका छन्।

    इनम सापकोटासँग जोडिएको भनिएको अडियो प्रकरण अब व्यक्तिसँग सम्बन्धित विवादमा मात्र सीमित नरही प्रहरी प्रशासनको कार्यशैली, सरकारी निकायको जवाफदेहिता र राज्यशक्तिको प्रयोगसँग जोडिएको विषय बनेको छ। विपक्षी दलहरूले यसलाई संसदीय समितिमा उठाएपछि सरकारमाथि घटनाक्रमको जवाफ दिन थप दबाब परेको छ। अब समितिले बैठक बोलाएर सम्बन्धित पदाधिकारीसँग जवाफ माग्छ वा यो विषय राजनीतिक आरोप–प्रत्यारोपमै सीमित रहन्छ भन्ने चासो बढेको छ।