गोदावरी–६ मा आतङ्क मच्चाउँदै आएको चितुवा पासोमा पर्‍यो - Chaitanya News
  • 2026-11-04
  • 12:34:27
  • बुधबार,कार्तिक १९, २०८३
  • गोदावरी–६ मा आतङ्क मच्चाउँदै आएको चितुवा पासोमा पर्‍यो

    गोदावरी–६ मा आतङ्क मच्चाउँदै आएको चितुवा पासोमा पर्‍यो

    धनगढी: कैलालीको गोदावरी नगरपालिका–६ का विभिन्न बस्तीमा आतङ्क मच्चाउँदै आएको चितुवा नियन्त्रणमा लिइएको छ। घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको चितुवा मंगलबार साँझ वन कार्यालयले राखेको पासोमा परेपछि नियन्त्रणमा लिइएको हो।

    सवडिभिजन वन कार्यालय अत्तरियाका प्रमुख चन्दु भण्डारीका अनुसार नियन्त्रणमा लिइएको चितुवालाई हाल डिभिजन वन कार्यालयमा राखिएको छ। त्यसलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोड्ने तयारी भइरहेको उनले जानकारी दिए।

    उक्त चितुवाले दसैँयता गोदावरी–६ का विभिन्न बस्तीमा आधा दर्जनभन्दा बढी घरपालुवा जनावर मारेको थियो। वडाध्यक्ष जग्गुराम चौधरीका अनुसार दसैँपछि मानव बस्तीमा प्रवेश गरेको चितुवाले बाख्रा, कुकुर र बंगुरमाथि आक्रमण गर्दै आएको थियो।

    चितुवा नियन्त्रणका लागि वन कार्यालयले उक्त क्षेत्रमा दुईवटा पासो राखेको थियो। तीमध्ये ओम शान्तिको घरनजिक राखिएको पासोमा चितुवा परेको वडाध्यक्ष चौधरीले बताए।

    यसअघि पनि गोदावरी–६ को लालपुर र रामजानकी टोलमा वन्यजन्तु देखिएपछि स्थानीय त्रसित बनेका थिए। स्थानीयका अनुसार रामजानकी टोलमा घरसँगै जोडिएको उखुबारीमा समेत वन्यजन्तु देखिएको थियो।

    बस्ती नजिकै वन्यजन्तु देखिन थालेपछि स्थानीयले साँझबिहान आवतजावत गर्नसमेत असुरक्षित महसुस गर्दै आएका थिए। वन कार्यालयले वन्यजन्तुको अवस्था पत्ता लगाउन खोजी तथा निगरानीसमेत बढाएको थियो।