काठमाडौँ : नेपाल संस्कृत विश्वविद्यालयले संस्कृत वाङ्मयको अध्ययन, अनुसन्धान र नवप्रवर्तनका गतिविधिलाई प्रभावकारी बनाउन ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गर्ने भएको छ।
विश्वविद्यालयलाई संस्कृत वाङ्मयको विशिष्ट अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले उक्त केन्द्र स्थापना गर्न लागिएको हो।
मंगलबार सम्पन्न विश्वविद्यालयको सिनेट बैठकले केन्द्र स्थापनासम्बन्धी प्रस्तावलाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय गरेको छ। विश्वविद्यालयका संस्थापक राष्ट्रगुरु योगी नरहरिनाथको योगदानको सम्मान गर्दै उहाँको नाममा अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।
केन्द्रमार्फत संस्कृत वाङ्मयको अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनका कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
यसैगरी, विश्वविद्यालयको अर्को महत्त्वपूर्ण अङ्गका रूपमा रहेको आयुर्वेद अध्ययन संस्थान र यसअन्तर्गतका निकायमार्फत सामुदायिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ।
संस्थानमार्फत स्वास्थ्ययोजना निर्माण, जडीबुटी प्रशोधन तथा जनस्तरमा स्वास्थ्य र आहारविहारसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।
यी कार्यक्रममार्फत आयुर्वेदिक ज्ञान, जडीबुटीको उपयोग तथा सामुदायिक स्वास्थ्य सेवाको विस्तारमा योगदान पुर्याउने विश्वविद्यालयको लक्ष्य रहेको छ।