एनपीएलमा कर्णालीको ब्याटिङ बलियो बनाउन डेभिड मिलर नेपाल आइपुगे - Chaitanya News
  • 2026-11-04
  • 11:07:28
  • बुधबार,कार्तिक १९, २०८३
  • एनपीएलमा कर्णालीको ब्याटिङ बलियो बनाउन डेभिड मिलर नेपाल आइपुगे

    एनपीएलमा कर्णालीको ब्याटिङ बलियो बनाउन डेभिड मिलर नेपाल आइपुगे

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्न दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। अनुभवी विदेशी खेलाडीको आगमनसँगै कर्णालीको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ।

    बुधबार बिहान मिलर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए।

    ३७ वर्षीय बायाँ हाते ब्याटर मिलर विश्व क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन्। दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट खेलेका उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग, पाकिस्तान सुपर लिगलगायत विश्वका चर्चित फ्रेन्चाइज प्रतियोगितामा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।

    आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक आईपीएल उपाधि जित्दा मिलरको प्रदर्शन महत्वपूर्ण बनेको थियो।

    मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै दुई हजार ८०४ रन बनाएका छन्। यसक्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। त्यस्तै, समग्र टी–२० क्रिकेटमा ५८४ खेलबाट १२ हजार ४३५ रन बनाइसकेका छन्। जसमा चार शतक र ५३ अर्धशतक समावेश छन्।

    उनको नाममा टी–२० क्रिकेटका केही आक्रामक कीर्तिमानसमेत छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध उनले ३५ बलमै शतक प्रहार गरेका थिए । यस्तै, आईपीएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमा शतक बनाएका थिए।

    कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपाली क्रिकेटसँगै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

    यस सिजन कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेलेको छ। टोलीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई चार विकेटले हराएको थियो। तर, तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो।

    तीन खेलबाट दुई जित निकालेको कर्णालीले अब शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलबाटै मिलरले एनपीएलमा आफ्नो उपस्थिति जनाउनेछन् । उनको आगमनले कर्णालीको मध्यक्रम र फिनिसिङ क्षमता थप मजबुत हुने अपेक्षा गरिएको छ ।