अपि हिमालको पर्यटन प्रवर्द्धनबाट रोजगारी र आर्थिक उपार्जन गर्नुपर्छ: मुख्यमन्त्री भट्ट - Chaitanya News
  • 2026-11-05
  • 10:56:07
  • बिहिबार,कार्तिक २०, २०८३
  • अपि हिमालको पर्यटन प्रवर्द्धनबाट रोजगारी र आर्थिक उपार्जन गर्नुपर्छ: मुख्यमन्त्री भट्ट

    अपि हिमालको पर्यटन प्रवर्द्धनबाट रोजगारी र आर्थिक उपार्जन गर्नुपर्छ: मुख्यमन्त्री भट्ट

    धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अपि हिमालजस्ता अनुपम पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी आर्थिक उपार्जन र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताएका छन्।

    अपि हिमाल गाउँपालिकाले आयोजना गरेको अपि हिमाल पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनाको पहिचान, विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताए।

    प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले अपि हिमाल सुदूरपश्चिमको मात्र नभई सिंगो देशकै अमूल्य धरोहर भएको उल्लेख गरे। यसको संरक्षण, विकास र प्रवर्द्धनका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए।

    कार्यक्रममा सभामुख भीम भण्डारीले अपि हिमाललगायतका पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्ने बताए।

    उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले अपि हिमालसहित प्रदेशका पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको बताए। आर्थिक मामिलामन्त्री चक्र मल्लले पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक योजना निर्माण तथा कार्यान्वयनमा प्रदेश सरकार जुटिरहेको उल्लेख गरे।

    त्यस्तै, कृषि मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।

    प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मानबहादुर धामीले पर्यटकीय क्षेत्रको विकासका लागि तयार गरिएका योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए। अर्का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विक्रम धामीले अपि हिमाल क्षेत्र धार्मिक पर्यटनका दृष्टिले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै धार्मिक पर्यटक भित्र्याउन आवश्यक पहल गर्नुपर्ने बताए।

    अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराले अपि हिमाल सुदूरपश्चिमको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

    कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव उत्तर खत्रीले सुदूरपश्चिमको पर्यटनको अनुपम सम्पदाका रूपमा रहेको अपि हिमालको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए।

    सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अपि हिमाल गाउँपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो।