धनगढी: सुदूरपश्चिम प्रदेशको धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारीस्थित श्री पञ्चोदय माध्यमिक विद्यालयको प्राङ्गणमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, श्रृङ्गारिक महाआरती एवं शैक्षिक तथा धार्मिक महोत्सव–२०८३ सुरु भएको छ।
कार्तिक १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवको शुभारम्भ सयौँ भक्तजनको सहभागितामा भव्य कलश यात्रा निकालेर गरिएको हो। धार्मिक भजनकीर्तन, बाजागाजा र भक्तिमय वातावरणमा निकालिएको कलश यात्रामा स्थानीयवासी, श्रद्धालु भक्तजन तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
महायज्ञमा सुदूरपश्चिमका चर्चित भागवत कथा वाचक आचार्य श्री सत्यराज अवस्थीले प्रमुख वाचकका रूपमा कथा प्रवचन गरिरहनुभएको छ। भागवत कथा प्रवचनमार्फत सनातन धर्म, संस्कार, संस्कृति, नैतिकता, आध्यात्मिक चेतना, विद्यालयको शैक्षिक स्तरोन्नति तथा मानव जीवनका आदर्शबारे भक्तजनलाई ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा १००८ स्वामी लोकानन्द जी महाराजको उपस्थिति रहेको छ। आध्यात्मिक साधना, धार्मिक चेतना तथा सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समर्पित स्वामी लोकानन्द जी महाराजको उपस्थितिले महोत्सवलाई थप आध्यात्मिक गरिमा प्रदान गरेको आयोजकले जनाएको छ।
सात दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन्। महोत्सव अवधिभर आकर्षक झाँकी प्रदर्शन, भागवत कथा वाचन, नाचगान, तुलादान तथा प्रत्येक दिन सन्ध्याकालीन भव्य महाआरती आयोजना गरिनेछ।
धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने, शैक्षिक तथा सामाजिक जागरण फैलाउने र स्थानीय समुदायबीच धार्मिक सद्भाव तथा एकता कायम गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
आयोजकले महोत्सवको पुण्य अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी, समाजसेवी तथा स्थानीयवासीलाई उपस्थित भई भागवत कथा श्रवण गर्न तथा महाआरतीलगायत धार्मिक र सांस्कृतिक कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।