काठमाडौं– कर्णाली प्रदेशका उद्योगहरूको उत्पादन क्षमता उपयोगमा गिरावट आएको छ । उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको एक तिहाइभन्दा कम मात्र उपयोग गरिरहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार आर्थिक वर्ष २०८१/८२ मा कर्णालीका उद्योगहरूको औसत क्षमता उपयोग ३९.१२ प्रतिशत रहेकामा गत आर्थिक वर्ष २०८२/८३ मा घटेर ३०.९८ प्रतिशतमा सीमित भएको छ । यसले प्रदेशको औद्योगिक गतिविधिमा संकुचन आएको देखाउँछ ।
यद्यपि उद्योगहरूको समग्र अवस्था कमजोर देखिए पनि राडीपाखी उत्पादन गर्ने उद्योगले तुलनात्मक रूपमा बढी क्षमता उपयोग गरेका छन् । गत आर्थिक वर्ष राडीपाखी उद्योगले ६६.६७ प्रतिशत उत्पादन क्षमता उपयोग गरेका छन् । यसको विपरीत प्रशोधित दूध उत्पादन गर्ने उद्योगको क्षमता उपयोग १०.१९ प्रतिशत मात्रै रहेको छ ।
उद्योगहरूको उत्पादन प्रवृत्तिमा पनि मिश्रित अवस्था देखिएको छ । गत वर्ष चाउमिन, अन्य घरेलु कपडा, गलैँचा, राडीपाखी, चिरेको काठ र बिजुली बल्ब उत्पादन गर्ने उद्योगको उत्पादन बढेको छ । तर प्रशोधित दूध, अन्न तथा पशुदाना, कागज र छालाका जुत्ता उत्पादन गर्ने उद्योगको उत्पादन घटेको अध्ययनले देखाएको छ ।
कर्णालीको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदानसमेत सीमित देखिएको छ । गत आर्थिक वर्ष प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान १०.०७ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । उत्पादनमूलक उद्योगको कुल मूल्य अभिवृद्धि दर १.५१ प्रतिशत र निर्माण क्षेत्रको २.७२ प्रतिशत रहने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत आर्थिक वर्ष कर्णालीको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान छ । प्रदेशको जीडीपीमा कृषि क्षेत्रको योगदान ३१.५२ प्रतिशत, उद्योगको १०.०७ प्रतिशत र सेवा क्षेत्रको ५८.४१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
औद्योगिक गतिविधि कमजोर देखिए पनि कृषि क्षेत्रमा भने केही उत्पादन वृद्धि भएको छ । गत वर्ष समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको तुलनामा ०.६५ प्रतिशत घटेको भए पनि खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ३.५५ प्रतिशत बढेको छ ।
प्रमुख खाद्य बालीमध्ये धान, मकै, गहुँ, कोदो, जौ र फापरको उत्पादन क्रमशः ६.७६, ०.२५, २.५०, ०.३४, १३.७४ र २.५१ प्रतिशतले बढेको छ । तरकारी तथा बागबानी बालीको उत्पादन ३.७६ प्रतिशत र फलफूल उत्पादन ४.०५ प्रतिशत घटेको छ ।
कृषि उत्पादनमा आएको यस्तो उतारचढावसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा पनि कृषि क्षेत्रको हिस्सा सीमित छ । प्रदेशमा प्रवाहित कुल कर्जामध्ये ७.२७ प्रतिशत मात्रै कृषि क्षेत्रमा गएको छ । औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ७.२४ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ ।
यसको तुलनामा सेवा क्षेत्रमा भने बैंक तथा वित्तीय संस्थाको ८५.२१ प्रतिशत कर्जा प्रवाह भएको छ । गत वर्ष सेवा क्षेत्रको कर्जा ८.३४ प्रतिशतले बढेको छ ।
कर्णालीको आर्थिक गतिविधिमा पर्यटन क्षेत्रको अवस्था पनि उत्साहजनक देखिएको छैन । गत वर्ष प्रदेशमा आउने बाह्य पर्यटकको संख्या २७.६८ प्रतिशत घटेको छ । भारतबाट आउने पर्यटक ४६.३९ प्रतिशत, चीनबाट आउने ६७.६० प्रतिशत र तेस्रो मुलुकबाट आउने पर्यटक ३९.३९ प्रतिशतले घटेका छन् ।
पूर्वाधार विकासका क्षेत्रमा भने विभिन्न आयोजना निर्माणाधीन छन् । पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, मदन भण्डारी राजमार्ग र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यले गति लिइरहेको अध्ययनले देखाएको छ ।
कृषि तथा औद्योगिक उत्पादन र पर्यटनमा देखिएको उतारचढावका बीच प्रदेशमा वित्तीय पहुँच विस्तार हुँदै गएको छ । २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ४८१ पुगेको छ भने कर्जा निक्षेप अनुपात ६०.१५ प्रतिशत रहेको छ ।
यसैबीच गत आर्थिक वर्ष साउनदेखि असार मसान्तसम्म कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ३० हजार ४९० पुगेको छ ।