स्मार्ट सीमा व्यवस्थापनमा नेपाल–भारतको जोड, निगरानी र सूचना आदानप्रदानमा सहकार्य - Chaitanya News
  • 2026-10-30
  • 16:38:42
  • शुक्रबार,कार्तिक १४, २०८३
  • स्मार्ट सीमा व्यवस्थापनमा नेपाल–भारतको जोड, निगरानी र सूचना आदानप्रदानमा सहकार्य

    स्मार्ट सीमा व्यवस्थापनमा नेपाल–भारतको जोड, निगरानी र सूचना आदानप्रदानमा सहकार्य

    काठमाडौं– खुला सीमाको दुरुपयोग गरी हुने आपराधिक गतिविधि नियन्त्रणदेखि आधुनिक प्रविधिको प्रयोगमार्फत सीमा निगरानी प्रभावकारी बनाउने विषयमा नेपाल र भारतबीच सहकार्य विस्तार गर्ने सहमति भएको छ ।

    सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच काठमाडौंमा १०औँ समन्वय बैठक सम्पन्न भएको हो ।

    सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा भएको बैठकले सीमापार अपराध नियन्त्रण, अवैध गतिविधि रोकथाम, सूचना आदानप्रदान र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको छ ।

    बैठकमा खुला सीमाको दुरुपयोग गरी हुने मानव बेचबिखन, लागूपदार्थ तथा अवैध वस्तुको तस्करी, नक्कली नोटको कारोबार र तेस्रो मुलुकका नागरिकको अनधिकृत आवागमन नियन्त्रणका लागि दुवै सुरक्षा निकायबीच समन्वय बढाउने सहमति भएको छ ।

    त्यसका लागि सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरणलाई कडा बनाउने, दशगजा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने र शंकास्पद व्यक्तिका गतिविधिबारे तत्काल सूचना आदानप्रदान गर्ने निर्णय गरिएको छ । सीमापार आपराधिक सञ्जाल नियन्त्रणमा समयमै प्राप्त हुने सूचनाले प्रभावकारी नतिजा दिएको भन्दै दुवै पक्षले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

    बैठकले परम्परागत सीमा सुरक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउने विषयलाई समेत प्राथमिकतामा राखेको छ । दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी जडान गर्ने, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर राख्ने र आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा छलफल भएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

    त्यस्तै सामाजिक सञ्जालको दुरुपयोग र भ्रामक सूचनाबाट उत्पन्न सुरक्षा तथा सामाजिक सद्भावका चुनौती सामना गर्न दुवै सुरक्षा निकायबीच संस्थागत सहकार्य विस्तार गर्ने सहमति भएको छ ।

    सीमा क्षेत्रको व्यवस्थापनका क्रममा दशगजामा हुने अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचना हटाउन संयुक्त प्रयास जारी राख्ने निर्णय पनि बैठकले गरेको छ । सीमा स्तम्भहरूको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) र सर्भे अफिसियल्स कमिटी (एसओसी) का निर्णयअनुसार फिल्ड तहमा समन्वय बढाइने भएको छ ।

    नेपाल–भारत सीमा क्षेत्रको समग्र सुरक्षा अवस्था शान्तिपूर्ण राख्न दुवै देशका सुरक्षा निकायले निर्वाह गरेको भूमिका र व्यावसायिक सहकार्यको बैठकमा प्रशंसा गरिएको थियो । अघिल्लो नवौँ समन्वय बैठकका निर्णय कार्यान्वयनको प्रगतिसमेत समीक्षा गरिएको बैठकमा रणनीतिक, अपरेशनल र कार्यक्षेत्रका तीनवटै तहमा सहकार्य तथा शीघ्र सूचना आदानप्रदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    प्राकृतिक विपद् व्यवस्थापनमा समेत दुवै सुरक्षा निकायबीच सहकार्य विस्तार गर्ने विषयले बैठकमा स्थान पाएको छ । बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला उद्धार कार्यलाई प्रभावकारी बनाउन चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त स्वीफ्ट वाटर रेस्क्यु अभ्यास सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको छ ।

    यसैगरी सीमा नाकाबाट आवतजावत गर्ने वैधानिक यात्रुको सहजताका लागि सहायता कक्ष विस्तार गर्ने तथा मैत्रीपूर्ण खेलकुद, अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सहमति पनि भएको छ ।

    बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतसहित गृह तथा परराष्ट्र मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी थिए । भारतका तर्फबाट सशस्त्र सीमा बलका उच्च अधिकारी, काठमाडौंस्थित भारतीय दूतावास तथा विदेश र गृह मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।

    सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको दुई सुरक्षा निकायबीचको समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना गरिने भएको छ ।