बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध, वैकल्पिक लाइनबाट आंशिक सञ्चालन - Chaitanya News
  • 2026-10-30
  • 16:54:05
  • शुक्रबार,कार्तिक १४, २०८३
  • बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध, वैकल्पिक लाइनबाट आंशिक सञ्चालन

    बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध, वैकल्पिक लाइनबाट आंशिक सञ्चालन

    बाजुरा: बाजुरामा बिहीबार बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएको छ। साँफे–मार्तडी सडकखण्डअन्तर्गत नुनेपानीमा फाइबर इन्टरनेटको तार काटिएपछि जिल्लाभर सञ्चार सेवा प्रभावित भएको हो।

    नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहका अनुसार नुनेपानीमा बिहीबार तार काटिएपछि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएको हो।

    काटिएको तार मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको उनले जानकारी दिए। मुख्य लाइन मर्मत गर्न केही समय लाग्ने भएपछि खप्तड छेडेदह गाउँपालिकाको आटिचौरबाट वैकल्पिक लाइन जडान गरी सदरमुकाम मार्तडीमा आंशिक रूपमा सेवा सञ्चालन गरिएको सिंहले बताए।

    दिनभर सञ्चार सेवा अवरुद्ध हुँदा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह र सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए।

    मुख्य लाइनको मर्मत कार्य जारी रहेकाले पूर्ण रूपमा सेवा नियमित हुन केही समय लाग्ने कार्यालयले जनाएको छ।