चैतन्य पाठशालाको "ब्रान्ड एम्बेस्डर" बने क्रिकेटर किरण कुमार ठगुन्ना - Chaitanya News
  • 2026-10-01
  • 13:07:10
  • बिहिबार,आश्विन १५, २०८३
  • चैतन्य पाठशालाको “ब्रान्ड एम्बेस्डर” बने क्रिकेटर किरण कुमार ठगुन्ना

    चैतन्य पाठशालाको “ब्रान्ड एम्बेस्डर” बने क्रिकेटर किरण कुमार ठगुन्ना

    धनगढी- सुदूरपश्चिमका उदियमान क्रिकेटर किरण कुमार ठगुन्ना धनगढीस्थित चैतन्य पाठशालाको ब्रान्ड एम्बेस्डर बनेका छन्। शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउँदै स्थानीय प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले चैतन्य पाठशाला र क्रिकेटर ठगुन्नाबीच सहकार्य भएको हो।

    सहकार्यअनुसार क्रिकेटर ठगुन्नाले आगामी दिनमा हुने नेपाल प्रिमियर लिग (एनपिएल) लगायतका विभिन्न राष्ट्रिय तथा अन्य प्रतियोगितामा चैतन्य पाठशालाको प्रतिनिधित्व गर्नेछन्। उनले प्रतियोगिताका क्रममा चैतन्य पाठशालाको लोगो अंकित ब्याट प्रयोग गर्नेछन्। यस सहकार्यले चैतन्य पाठशालाको पहिचानलाई खेलकुद क्षेत्रमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    सुदूरपश्चिमबाट क्रिकेटमा आफ्नो पहिचान बनाउँदै आएका ठगुन्ना दायाँहाते ब्याटर तथा दायाँहाते अफ-स्पिन बलरका रूपमा खेल्दै आएका छन्। उनी अलराउन्डर हुन्; उनको ७३ खेलमा १ हजार ३११ रन र १७ विकेट रहेको तथ्यांक छ।

    ठगुन्नाले सुदूरपश्चिम प्रदेशसँगै कञ्चनपुर, भीमदत्त नगरपालिका, टीकापुरका विभिन्न टोली तथा स्थानीय र क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। पछिल्लो समय उनी विभिन्न फ्रेन्चाइज तथा प्रतियोगितासँग समेत जोडिएका छन्। नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा उनी पोखरा एभेन्जर्ससँग आबद्ध छन्। त्यस्तै, २०२६ को T10 राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा उनी चैतन्य पाठशालाको टोलीबाट समेत खेलेका छन्।

    चैतन्य पाठशालाले शिक्षा मात्रै नभई खेलकुदलाई पनि विद्यार्थीको सर्वाङ्गीण विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएको छ । स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन, अवसर र आवश्यक साथ उपलब्ध गराउने उद्देश्यले ठगुन्नालाई ब्रान्ड एम्बेस्डर घोषणा गरिएको पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए ।

    पाठशालाका अनुसार सुदूरपश्चिमबाट राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउँदै गरेका किरण कुमार ठगुन्नाजस्ता युवा खेलाडीलाई साथ दिन पाउनु संस्थाका लागि खुशी र गौरवको विषय हो । यस्ता सहकार्यले स्थानीय प्रतिभालाई थप हौसला मिल्नुका साथै नयाँ पुस्ताका विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाउनसमेत सहयोग पुग्ने विद्यालयको विश्वास छ ।

    यता क्रिकेटर किरण कुमार ठगुन्नाले आफ्नो गृह–शहर धनगढीको शैक्षिक संस्थासँग जोडिन पाउँदा आफूलाई गर्व लागेको बताएका छन् । चैतन्य पाठशालासँगको सहकार्यले आगामी प्रतियोगितामा आफूलाई थप ऊर्जा, आत्मविश्वास र प्रेरणा मिल्ने उनको विश्वास छ। स्थानीय संस्थाबाट प्राप्त साथले मैदानमा अझ राम्रो प्रदर्शन गर्न आफूलाई प्रेरित गर्ने उनले बताएका छन् ।

    चैतन्य पाठशालाको ब्रान्ड एम्बेस्डर हुन पाउनु आफ्नो शहर, आफ्नो क्षेत्र र नयाँ पुस्तासँग जोडिने अवसर समेत भएको र चैतन्य पाठशालाको लोगो अंकित ब्याटसहित राष्ट्रिय स्तरका प्रतियोगितामा मैदानमा उत्रिँदा यसले ‘शिक्षासँगै खेलकुद र स्थानीय प्रतिभाको सम्मान’ भन्ने संस्थाको अभियानलाई समेत प्रतिनिधित्व गर्ने उनले विश्वास व्यक्त गरे ।

    चैतन्य पाठशालाले आयोजना गर्ने विभिन्न खेलमा सहभागीसँगै विद्यार्थीहरूलाई प्रशिक्षणमा समेत सहयोग आदानप्रदानसँगै आगामी एनपिएल लगायतका प्रतियोगितामा चैतन्य पाठशालाको ब्रान्डसमेत राष्ट्रिय क्रिकेटको मञ्चमा देखिने भएको छ।