एक वर्षमा राष्ट्र बैंकले कमायो ४ खर्ब १० अर्ब नाफा, सरकारलाई दियो ४२ अर्ब - Chaitanya News
  • 2026-11-18
  • 17:35:50
  • बुधबार,मंसिर ०३, २०८३
  • एक वर्षमा राष्ट्र बैंकले कमायो ४ खर्ब १० अर्ब नाफा, सरकारलाई दियो ४२ अर्ब

    एक वर्षमा राष्ट्र बैंकले कमायो ४ खर्ब १० अर्ब नाफा, सरकारलाई दियो ४२ अर्ब

    काठमाडौं– नेपाल राष्ट्र बैंकको खुद नाफा एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा बैंकले ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ खर्ब ७२ अर्ब रुपैयाँ रहेको थियो । विदेशी विनिमय तथा सुनचाँदीको पुनर्मूल्याङ्कनबाट भएको लाभले नाफामा उल्लेख्य वृद्धि भएको हो ।

    समीक्षा अवधिमा विदेशी विनिमय पुनर्मूल्याङ्कनबाट राष्ट्र बैंकले २ खर्ब ५४ अर्ब रुपैयाँ लाभ प्राप्त गरेको छ । त्यस्तै, सुन तथा चाँदीको पुनर्मूल्याङ्कनबाट ७१ अर्ब ७१ करोड रुपैयाँ आम्दानी भएको छ ।

    अघिल्लो आर्थिक वर्षमा विदेशी विनिमय पुनर्मूल्याङ्कन लाभ ४५ अर्ब ३ करोड र सुनचाँदी पुनर्मूल्याङ्कन लाभ ४६ अर्ब ८८ करोड ६७ लाख रुपैयाँ मात्रै थियो ।

    पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ र हानि समायोजन गर्नुअघिको बैंकको नियमित खुद आय भने ३.८४ प्रतिशतले बढेर ८३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८० अर्ब ४८ करोड रुपैयाँ थियो ।

    त्यस्तै, बैंकको कुल खुद सञ्चालन आम्दानी ६.४८ प्रतिशतले वृद्धि भई ९३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा खुद ब्याज आम्दानी ८.६३ प्रतिशतले बढेर ९४ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ ।

    यद्यपि, विदेशी विनिमय खरिद–बिक्रीबाट हुने आम्दानी २ अर्ब १३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । अन्य आम्दानी १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन खर्च १० अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

    सरकारलाई ४२ अर्ब रुपैयाँ हस्तान्तरण:

    राष्ट्र बैंकले आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न भएपछि आफ्नो सञ्चालन नाफाबाट सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले विभिन्न कोषमा रकम विनियोजन गरेपछि बाँकी रकम सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंक ऐनअनुसार विदेशी विनिमय पुनर्मूल्याङ्कन लाभ विनिमय समीकरण कोषमा र सुनचाँदी पुनर्मूल्याङ्कन लाभ सुन तथा चाँदी समीकरण कोषमा राखिएको छ ।

    त्यसैगरी, खुला बजार कारोबार स्थिरीकरण कोषमा ३६ अर्ब ५० करोड रुपैयाँ र साधारण जगेडा कोषमा १३ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    नाफामा भएको वृद्धिसँगै राष्ट्र बैंकको वासलातको आकारसमेत बढेको छ । २०८३ असार मसान्तसम्म बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।

    यसैगरी, बैंकको कुल इक्विटी ५४.०५ प्रतिशतले बढेर १० खर्ब ४१ अर्ब रुपैयाँ कायम भएको छ भने जगेडा कोषमा १० खर्ब ३६ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।