नेपालका विपद् र शिक्षा क्षेत्रका चुनौतीबारे जेनेभामा बहस - Chaitanya News
  • 2026-11-18
  • 16:39:39
  • बुधबार,मंसिर ०३, २०८३
  • नेपालका विपद् र शिक्षा क्षेत्रका चुनौतीबारे जेनेभामा बहस

    नेपालका विपद् र शिक्षा क्षेत्रका चुनौतीबारे जेनेभामा बहस

    जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा उठाउँदै रुपन्देहीको भैरहवाकी युवा नेतृ स्वाती थापाले विश्व समुदायको ध्यानाकर्षण गराएकी छन् ।

    स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी थापाले जलवायु परिवर्तनको असर कुनै एक देश वा क्षेत्रको मात्रै समस्या नभई विश्वव्यापी चुनौती भएको बताएकी हुन् । उनले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न विश्व समुदायबीच सहकार्य र साझा प्रयास आवश्यक रहेकोमा जोड दिइन् ।

    सम्मेलनमा उनले नेपालका भोटेकोशी, बूढीगण्डकी र त्रिशूली नदी क्षेत्रमा देखिएका बाढीजन्य विपद्का घटनालाई जलवायु परिवर्तनको प्रभावसँग जोड्दै यस्ता घटनाले मानव जीवन, शिक्षा र सामाजिक संरचनामा गम्भीर असर पारिरहेको उल्लेख गरिन् ।

    थापाले जलवायु परिवर्तनसँगै शिक्षा क्षेत्रमा देखिएका चुनौतीलाई पनि अन्तर्राष्ट्रिय बहसको विषय बनाएकी थिइन् । विशेषगरी विपद्का समयमा विद्यालय बन्द हुने, शिक्षक तथा विद्यार्थी प्रभावित हुने र बालबालिकाको सिकाइ प्रक्रिया अवरुद्ध हुने समस्याबारे उनले विश्व समुदायको ध्यानाकर्षण गराइन् ।

    अन्तर्राष्ट्रिय सिम्पोजियममा वक्ताका रूपमा सहभागी उनले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एजुकेशनल जस्टिस’ विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट शिक्षामा समान पहुँच र अवसर विस्तार गर्न सकिने सम्भावनाबारे चर्चा गरिएको थियो ।

    उनले प्रविधिको विकाससँगै ग्रामीण, दुर्गम तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकालाई पनि गुणस्तरीय शिक्षाको अवसर सुनिश्चित गर्नुपर्ने बताइन् । त्यसका लागि दक्ष शिक्षक, सशक्त शैक्षिक संस्था र समावेशी शैक्षिक नीतिको आवश्यकता रहेको उनको भनाइ थियो ।

    नेपालका प्राकृतिक विपद् र शैक्षिक चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेकी थापाले विभिन्न देशका संस्था, शिक्षाविद्, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सञ्जालसँग सहकार्य विस्तार गर्नुपर्नेमा समेत जोड दिइन् । अन्तर्राष्ट्रिय सहकार्यबाट नेपालले दीर्घकालीन सहयोग र नयाँ अवसर प्राप्त गर्न सक्ने उनले बताइन् ।

    उनका अनुसार सम्मेलनले जलवायु परिवर्तन, शिक्षा र विपद् व्यवस्थापनका विषयलाई विश्वव्यापी बहससँग जोड्ने अवसर प्रदान गरेको छ । साथै, नेपालका समस्या र सम्भावनाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै भविष्यमा सहकार्यका नयाँ ढोका खोल्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    इन्टरनेसनल एजुकेटर्स विदाउट बोर्डर्स (IEWB) को संयोजनमा आयोजित सम्मेलनमा विभिन्न देशका विषयविज्ञ तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।