लोकसेवाको तयारीमा अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गर्नुपर्छ: उपसचिव हरिकृष्ण बुढाथोकी - Chaitanya News
  • 2026-09-30
  • 15:28:03
  • बुधबार,आश्विन १४, २०८३
  • लोकसेवाको तयारीमा अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गर्नुपर्छ: उपसचिव हरिकृष्ण बुढाथोकी

    लोकसेवाको तयारीमा अरूसँग होइन, हिजोको आफूसँग प्रतिस्पर्धा गर्नुपर्छ: उपसचिव हरिकृष्ण बुढाथोकी

    नेपाल सरकारका उपसचिव हरिकृष्ण बुढाथोकीले उपसचिव पदको प्रतिस्पर्धात्मक परीक्षामा एक नम्बर (Rank 1) हासिल गर्नुभएको छ। गणित विषयबाट अध्ययन सुरु गरी सार्वजनिक प्रशासन र कानुनसम्मको उच्च शिक्षा, करिब एक दशक लामो शिक्षण अनुभव हुँदै निजामती सेवामा प्रवेश गर्नुभएका बुढाथोकीको यात्रा निरन्तर मेहनत, अध्ययन, अनुशासन र आत्मसुधारसँग जोडिएको छ। शाखा अधिकृतबाट निजामती सेवाको यात्रा सुरु गर्नुभएका उहाँले विभिन्न जिम्मेवारी सम्हाल्दै अहिले उपसचिवको एक नम्बर (Rank 1) सफलतासम्मको यात्रा तय गर्नुभएको हो।

    लोकसेवा तयारीको शैली, समय व्यवस्थापन, लेखन कला, गणितीय सोचको उपयोग, असफलताबाट सिकाइ, प्रशासनिक अनुभव तथा सफलताको रणनीतिलगायत विषयमा केन्द्रित रहेर चैतन्य खबरले बुढाथोकीसँग चैतन्य संवाद गरेको छ। प्रस्तुत छ, उपसचिव हरिकृष्ण बुढाथोकीसँगको विशेष संवाद।

    १– यहाँको शैक्षिक पृष्ठभूमि निकै विविध छ। गणित, सार्वजनिक प्रशासन र कानुनजस्ता फरक–फरक विषयमा उच्च शिक्षा हासिल गर्नुभएको छ। दशक लामो शिक्षण अनुभवसँगै अहिले निजामती सेवामा शाखा अधिकृत हुँदै उपसचिव बन्नुभएको छ। बाल्यकालदेखि अहिलेसम्मको यो यात्रालाई फर्केर हेर्दा कसरी सम्झिनुहुन्छ?

    मेरो प्रारम्भिक यात्रा निकै चाखलाग्दो छ। म र मेरा दुई दिदीहरू कक्षा १ देखि एसएलसीसम्म एउटै कक्षामा पढ्यौँ। बुबाले सानैदेखि दिदीहरूसँगै स्कुल पठाउनुभएकाले कम उमेरमै पढाइ सुरु गर्ने अवसर पाएँ। हामी सरकारी विद्यालयमै पढेका हौँ।

    मेरो घर दोलखाको कालिञ्चोक गाउँपालिका, साविक बाबरे गाविसमा पर्छ। बुबा नेपाली सेनामा हुनुहुन्थ्यो। अवकाशपछि गाउँमा विद्यालयको आवश्यकता महसुस गरेर उहाँकै पहलमा श्री विन्धवासिनी आधारभूत विद्यालय स्थापना भयो। उहाँले धेरै पढ्न नपाए पनि शिक्षाको महत्त्व बुझ्नुभएको थियो। त्यसैले गाउँले र समुदायलाई समेटेर विद्यालय सुरु गर्नुभयो र त्यसको सुरुआती कक्षाबाटै हाम्रो पढाइ अघि बढ्यो।

    सानै उमेरमा पढाइ सुरु भएकाले मैले १३ वर्षमै एसएलसी परीक्षा दिएँ। पाँच कक्षासम्म गाउँकै विद्यालयमा पढेपछि अन्यत्र गएर अध्ययन गरेँ। माध्यमिक तह पढ्न दैनिक करिब दुई घण्टा पैदल हिँडेर विद्यालय आउजाउ गर्नुपर्थ्यो। परिवारसँगै बसेर पढ्नुको महत्त्व भएकाले त्यो कठिनाइलाई पनि निरन्तरता दिएँ।

    माध्यमिक शिक्षामा राम्रो प्रदर्शन गरेपछि थप अध्ययनका लागि काठमाडौँ आउने अवसर मिल्यो। त्यसपछि करिब २०६१–६२ सालदेखि निरन्तर काठमाडौँमै अध्ययन र कर्मक्षेत्रमा सक्रिय छु। गणित, सार्वजनिक प्रशासन र कानुनको अध्ययन तथा शिक्षण पेसाबाट प्राप्त अनुभवलाई जोड्दै निजामती सेवामा प्रवेश गरेर अहिले उपसचिवसम्म आइपुगेको छु। यो यात्रा मेहनत, परिवारको साथ र शिक्षाप्रतिको लगावको परिणामका रूपमा लिन्छु।

    २–हजुरले करिब १० वर्ष शिक्षण पेसामा सेवा गर्नुभयो। समाजमा सम्मानित र पूजनीय मानिने शिक्षण पेसाबाट सार्वजनिक प्रशासनतर्फ जानुपर्छ भन्ने सोच कसरी आयो ?

    स्नातकोत्तर पूरा गरेपछि रोजगारी खोज्ने क्रममा शिक्षक सेवा आयोगको निम्न माध्यमिक तहको विज्ञापन खुलेको थियो। मैले गणितमा स्नातक गरेको र गणित, विज्ञान तथा ऐच्छिक गणित पढाउन सक्ने शिक्षकको माग पनि राम्रो भएकाले शिक्षक सेवा आयोगको परीक्षा दिएँ। पहिलो प्रयासमै नाम निस्किएपछि ललितपुर रोजेँ।

    पहिलो पोस्टिङ ललितपुरको शंखुस्थित मगरगाउँ उच्च माध्यमिक विद्यालयमा भयो, जहाँ करिब ९–१० महिना पढाएँ। त्यसपछि चापागाउँस्थित श्रमिक शान्ति उच्च माध्यमिक विद्यालयमा सरुवा भएँ। त्यहाँ प्रधानाध्यापक, शिक्षक र सहकर्मीहरूले निकै प्रेरणा दिनुभयो। उहाँहरूले मेरो क्षमता विद्यार्थी पढाउने काममा मात्र सीमित नराखी देश सञ्चालन र नीति निर्माणमा पनि उपयोग गर्न सकिने भएकाले निजामती सेवामा जान सुझाव दिनुभयो। त्यसैबाट प्रेरित भएर निजामती सेवाको तयारी सुरु गरेँ र २०७४ सालमा सिधै शाखा अधिकृतमा नाम निकालेर प्रवेश गरेँ,र अहिले उचसचिवमा एक नम्बरमा सिफारिस भए।

    ३– गणित, सार्वजनिक प्रशासन र कानुनजस्ता फरक–फरक विषयमा अध्ययन गर्नुभएको छ। विषय परिवर्तन गर्दाको अनुभव कस्तो रह्यो?

    गणित मेरो आधारभूत विषय थियो भने सार्वजनिक प्रशासन र कानुनको अध्ययन सेवाको आवश्यकता र अनुभवबाट अघि बढेको हो। निजामती सेवामा प्रवेश गरेपछि प्रशासनिक कामलाई अझ प्रभावकारी बनाउन सार्वजनिक प्रशासनको ज्ञान आवश्यक महसुस भयो, त्यसैले सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेँ। विभिन्न निकायमा काम गर्दा कानुनी पक्ष बुझ्नुपर्ने आवश्यकता देखिएपछि फुर्सदको समय सदुपयोग गर्दै कानुनमा स्नातक पनि पूरा गरेँ। यी फरक विषयको अध्ययनले अहिले सार्वजनिक प्रशासनमा जिम्मेवारी निर्वाह गर्न र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याइरहेको छ।

    ४– लोकसेवा आयोगको तयारी विषयवस्तु धेरै व्यापक भएकाले प्रतिस्पर्धीलाई सुरुमा कहाँबाट र कसरी तयारी गर्ने भन्ने अन्योल हुन्छ। हजुरले पनि यस्तो कठिनाइ महसुस गर्नुभयो ? गणितको अध्ययनले यसमा कस्तो सहयोग गर्‍यो ?

    मेरो अनुभव अलि फरक रह्यो। मैले गणितमा स्नातकोत्तर गरेको हुँ। गणितको अध्ययनले मलाई विषयगत ज्ञान मात्र दिएन, कुनै विषयलाई विश्लेषण गर्ने, तर्क गर्ने र समस्या समाधान गर्ने क्षमता पनि विकास गर्‍यो। त्यसैले लोकसेवाको तयारीमा गणित प्रत्यक्षभन्दा पनि विश्लेषणात्मक सोचका रूपमा निकै उपयोगी भयो।

    विशेषगरी लोकसेवामा सोधिने बौद्धिक परीक्षणका प्रश्नहरूमा यसको ठूलो फाइदा भयो। सामान्यतया प्रश्नबाट चरणबद्ध रूपमा उत्तर खोजिन्छ, तर समय सीमित हुने भएकाले गणितमा सिकेको विश्लेषणात्मक विधि प्रयोग गरेर दिइएका विकल्पमध्ये कुन प्रश्नसँग मिल्छ भनेर उल्टो तरिकाबाट पनि छिटो उत्तर पहिचान गर्न सकिन्छ।

    त्यस्तै, सार्वजनिक प्रशासनका पुराना सिद्धान्तदेखि नयाँ सार्वजनिक व्यवस्थापन र नयाँ सार्वजनिक शासनजस्ता आधुनिक अवधारणासम्म बुझ्न पनि विश्लेषणात्मक दृष्टिकोणले सहयोग गर्छ। माथिल्लो तहका परीक्षामा केवल तथ्य सम्झेर पुग्दैनस समस्या पहिचान, कारणको विश्लेषण, तथ्य तथा तथ्याङ्कको प्रयोग र नतिजामुखी समाधान प्रस्तुत गर्नुपर्छ। गणितले यही ढङ्गको सोच विकास गर्न मद्दत गरेको छ।

    हाम्रो समाजमा गणितलाई गाह्रो विषयका रूपमा लिने प्रवृत्ति पनि छ। तर गणित सूत्र र हिसाबमा मात्र सीमित छैन। यसले तर्क, निर्णय क्षमता, धैर्यता र समस्या समाधान गर्ने बानी विकास गर्छ। त्यसैले लोकसेवाको तयारी होस् वा दैनिक जीवनका निर्णय, गणितबाट प्राप्त विश्लेषणात्मक सोच निकै उपयोगी हुन्छ।

    ५– गणित, अङ्ग्रेजी वा प्राविधिक विषयमा राम्रो भएका परीक्षार्थीले वस्तुगत प्रश्नमा राम्रो अंक ल्याए पनि लिखित परीक्षामा भने अलि समस्या भोग्ने गरेको देखिन्छ। लिखित उत्तर लेख्ने कुनै निश्चित ढाँचा वा विधि हुन्छ ? उत्तरलाई प्रभावकारी कसरी बनाउन सकिन्छ ?

    लिखित उत्तरको एउटै निश्चित ढाँचा हुन्छ भन्ने होइन। परीक्षार्थीले प्रश्नको प्रकृति र मागअनुसार आफ्नै ढाँचा विकास गर्नुपर्छ। उत्तर लेख्दा दुई कुरा महत्त्वपूर्ण हुन्छन्, पहिलो, आफूले लेखेको उत्तरबाट आफू सन्तुष्ट हुनुपर्छ र दोस्रो, उत्तरपुस्तिका जाँच्ने परीक्षकले खोजेको विषय पनि त्यसमा समेटिएको हुनुपर्छ। त्यसैले प्रश्नले वास्तवमा के मागेको छ भन्ने बुझेर त्यसैलाई स्पष्ट र सान्दर्भिक रूपमा सम्बोधन गर्नु नै मुख्य कुरा हो।

    मेरो आफ्नै अनुभवमा गणित मेरो मुख्य पृष्ठभूमि भए पनि नेपाली साहित्यमा रुचि थियो। स्वतन्त्र लेखन, ब्लग र कविता लेख्ने अभ्यासले लिखित परीक्षामा निकै सहयोग गर्‍यो। साहित्यले विचारलाई क्रमबद्ध रूपमा प्रस्तुत गर्न र उत्तरमा सहज प्रवाह ल्याउन मद्दत गर्छ।

    प्राविधिक पृष्ठभूमिका परीक्षार्थीमा धेरै तथ्य र तथ्याङ्कको ज्ञान भए पनि त्यसलाई प्रश्नले मागेको भन्दा बढी वा असान्दर्भिक रूपमा प्रयोग गर्ने समस्या हुन सक्छ। त्यसैले धेरै लेख्नु भन्दा प्रश्नले मागेको कुरा कति र कसरी सान्दर्भिक रूपमा प्रस्तुत गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ।

    अङ्ग्रेजी पनि मेरो रुचिको विषय थियो। लामो समय अङ्ग्रेजी माध्यमबाट गणित पढाएकाले त्यसले भाषाको आधार बलियो बनायो। परीक्षामा प्रश्नमा प्रयोग भएका प्राविधिक शब्दको सही अर्थ बुझ्नु पनि उत्तिकै आवश्यक हुन्छ। प्रश्नको गहिराइ र त्यसले खोजेको विषय बुझ्न सके उत्तर पनि प्रभावकारी हुन्छ।

    अन्ततः उत्तर लेखिसकेपछि आफैँले एकपटक पढेर मूल्याङ्कन गर्नुपर्छ। कहाँ सुधार गर्न सकिन्छ भनेर हेर्दै निरन्तर लेखन अभ्यास गर्ने हो भने उत्तर लेख्ने शैली क्रमशः परिपक्व र प्रभावकारी बन्दै जान्छ।

    ६– विश्वविद्यालयबाट उत्तीर्ण भएका धेरै युवामा ठूलो सपना र सम्भावना हुँदाहुँदै पनि देशमा भविष्य छैन भन्ने सोच देखिन्छ। रोजगारीका लागि विदेश जाने चाहना पनि बढ्दो छ। यस्तो अवस्थामा देशभित्रै उपलब्ध लोकसेवा, बैंक, सुरक्षा निकाय, शिक्षक सेवा तथा अन्य अवसरका लागि युवाले आफूलाई कसरी तयार गर्न सक्छन् ?

    अहिलेको शिक्षा प्रणालीमा केही कमजोरी देखिन्छ। विद्यार्थीको ध्यान अङ्ग्रेजी भाषा, आइएलटिएस वा पिटिईमा राम्रो अंक ल्याएर विदेश जानेतर्फ बढी केन्द्रित भएको छ, तर व्यवहारिक सीप र नैतिक शिक्षालाई पर्याप्त महत्त्व दिइएको छैन। पहिले विद्यालयमा नैतिक शिक्षा, मूल्य–मान्यता र देशप्रतिको जिम्मेवारीबारे सिकाइन्थ्यो। अब विद्यार्थीलाई देशभित्रै रहेका अवसर पहिचान गरेर आफ्नो क्षमता विकास गर्न प्रेरित गर्नुपर्छ।

    लोकसेवाको तयारीमा थोरै सिट देखेर डराउनु हुँदैन। एउटा पदमा एउटा व्यक्ति नै छनोट हुने हो, त्यसैले प्रतिस्पर्धालाई त्रासका रूपमा होइन, आफ्नो क्षमता सुधार गर्ने अवसरका रूपमा लिनुपर्छ। अरूसँग तुलना गर्नुभन्दा हिजोको आफूभन्दा आज कति सुधार भयो भन्नेमा ध्यान दिनुपर्छ।

    त्यस्तै, केवल धेरै विषय पढेर वा तथ्य घोकेर मात्र पुग्दैन। विश्वविद्यालयमा पढेका सिद्धान्त र अवधारणालाई नेपालको समाज, प्रशासन र व्यवहारमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने क्षमता विकास गर्नुपर्छ। लोकसेवाले यही व्यावहारिक र व्यापक दृष्टिकोणलाई पनि मूल्याङ्कन गर्छ।

    असफलता भयो भन्दैमा यात्रा रोक्नु हुँदैन। छनोट नभएपछि आफ्नो कमजोरी पहिचान गरेर कहाँ सुधार गर्नुपर्ने हो भन्ने समीक्षा गर्नुपर्छ। असफलतालाई सिकाइको अवसरका रूपमा लिनुपर्छ।

    अहिले प्रविधि ज्ञानको ठूलो स्रोत बनेको छ। विश्वमा विकसित भइरहेका नयाँ सिद्धान्त र ज्ञानलाई प्रविधिमार्फत सिकेर नेपालको सन्दर्भमा प्रयोग गर्ने अभ्यास गर्न सके युवाका लागि देशमै धेरै सम्भावना छन्। सही सोच, निरन्तर अभ्यास र आफ्नो क्षमतामा सुधार गर्ने प्रतिबद्धता भयो भने लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्न सकिन्छ।

    ७– लोकसेवाको तयारी र सफलताको यात्रा सहज छैन, तर असम्भव पनि त छैन नि ?

    पक्कै पनि असम्भव छैन। मुख्य कुरा आफूले के हासिल गर्न खोजेको हो भन्ने स्पष्ट हुनुपर्छ। लक्ष्यप्रति समर्पण, दृढ विश्वास र निरन्तर प्रतिबद्धता आवश्यक हुन्छ। मैले पनि पढाइलाई कहिल्यै अनावश्यक दबाबका रूपमा लिइनँ। दबाबभन्दा कसरी अघि बढ्ने र सफलता कसरी हासिल गर्ने भन्ने विषयमा चिन्तन र रणनीति बनाउनुपर्छ। असफलतालाई निराशाको कारण होइन, सिकाइको अवसरका रूपमा लिनुपर्छ। गत वर्ष सहसचिवको लिखित परीक्षामा सफल भएर अन्तर्वार्तासम्म पुगेँ, तर अन्तिम नतिजामा वैकल्पिक सूचीमा परेँ। त्यसले केही समय दुःख त दियो, तर निराश भएर बसिनँ। कहाँ कमी भयो भनेर विश्लेषण गरेँ र आफ्नो मेहनत तथा निरन्तरतालाई अझ बढाएँ। त्यसैले एउटा नतिजाले लक्ष्य नै परिवर्तन गर्नु हुँदैन।

    ८– तयारी गर्दा प्रविधि र साथीहरूसँगको अध्ययनलाई कसरी प्रयोग गर्न सकिन्छ ?

    प्रविधि र इन्टरनेटलाई सहयोगीका रूपमा प्रयोग गर्नुपर्छ, तर त्यहाँ भेटिएका सबै कुरा जस्ताको त्यस्तै प्रयोग गर्नु हुँदैन। आफ्नो आवश्यकता, परिवेश र वस्तुस्थितिअनुसार उपयोग गर्नुपर्छ। अध्ययनका लागि ठूलो समूहभन्दा समान लक्ष्य र समर्पण भएका दुई–तीन जना साथीको सानो समूह प्रभावकारी हुन्छ। छलफल र अन्तरक्रियाबाट आफ्ना कमजोरी थाहा हुन्छ र अरूका राम्रा पक्ष सिक्न सकिन्छ।

    ९– नमुना परीक्षाले कत्तिको सहयोग गर्छ ?

    नमुना परीक्षा नियमित रूपमा दिनु निकै उपयोगी हुन्छ। विभिन्न पृष्ठभूमिका प्रतिस्पर्धीसँग परीक्षा दिँदा उनीहरूको उत्तर लेख्ने शैली बुझ्न सकिन्छ। आफ्नो उत्तरमा कहाँ कमी छ, कसरी सुधार गर्ने र वास्तविक प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने पनि थाहा हुन्छ। प्राप्त प्रतिक्रियालाई सुधारको आधार बनाउनुपर्छ।

    १०– हिजो आम नागरिक हुँदा र आज सार्वजनिक सेवा प्रवाह गर्ने जिम्मेवारीमा पुग्दा प्रशासनलाई हेर्ने दृष्टिकोणमा कस्तो फरक पाउनुभयो ?

    आम नागरिक हुँदा सरकारी कार्यालयमा काम ढिलो हुने, सेवा जनमुखी र पारदर्शी नहुने जस्ता प्रश्न स्वाभाविक रूपमा उठ्थे। तर सार्वजनिक सेवामा आएपछि प्रशासन नियम र प्रक्रियामा आधारित हुने भएकाले केही समय लाग्ने कारण पनि बुझ्न पाएँ। यद्यपि प्रक्रियाका नाममा सेवाग्राहीलाई अनावश्यक दुःख दिने वा काम लम्ब्याउने प्रवृत्ति भने उचित होइन।

    कर्मचारीतन्त्रको स्वभाव नै केही हदसम्म प्रक्रियामुखी हुन्छ। तर लामो समयसम्म कानुनी जटिलता, ढिलासुस्ती र प्रक्रियाको बहानामा काम लम्ब्याउने प्रवृत्ति रहँदा त्यसले रातो फिताशाहीको रूप लिन्छ। यस्तो विकृति रातारात हटाउन सकिँदैन। नियम र प्रक्रिया पालना गर्नु आवश्यक भए पनि त्यसलाई सेवाग्राही अल्झाउने माध्यम बनाउनु हुँदैन।

    ११– पछिल्लो समय नागरिकका अपेक्षा पनि निकै बढेका छन् नि ?

    अवश्य। प्रविधि, विश्वव्यापीकरण र वैदेशिक रोजगारीका कारण नागरिकले अन्य देशको सेवा र सुविधाबारे सहजै जानकारी पाउन थालेका छन्। त्यसैले राज्यबाट छिटो, सरल, पारदर्शी र गुणस्तरीय सेवा पाउने अपेक्षा बढ्नु स्वाभाविक हो। प्रशासनले पनि समयअनुसार आफूलाई परिवर्तन गर्नुपर्छ।

    १३– सेवा प्रवाह सुधारका लागि अब के गर्नुपर्छ ?

    सबैभन्दा पहिले सेवा प्रक्रिया सरल बनाउनुपर्छ। प्रविधिको अधिकतम प्रयोग गर्दै प्रत्यक्ष उपस्थितिविनाको सेवा र कागजरहित प्रणालीलाई अघि बढाउनुपर्छ। जहाँ डिजिटल पहुँच छैन, त्यहाँ थप जनशक्ति परिचालन गरेर नागरिकलाई सहजीकरण गर्नुपर्छ।

    १४– नयाँ पुस्ताको प्रवेशलाई प्रशासनमा कसरी उपयोग गर्न सकिन्छ ?

    अनुभवी अग्रजको ज्ञान र अनुभव तथा नयाँ पुस्ताको प्रविधि, आधुनिक ज्ञान र उत्साहलाई संयोजन गर्नुपर्छ। यसबाट प्रशासनलाई थप प्रभावकारी र जनमुखी बनाउन सकिन्छ। मुख्य कुरा प्रशासनको ध्येय सेवाग्राहीको सन्तुष्टि र सेवा प्रवाहबाट वास्तविक मूल्य सिर्जना गर्नु हो।

    १५– राजनीति र प्रशासनबीच सहसम्बन्ध हुनुपर्ने हो। तर, व्यवहारमा कहिलेकाहीँ अन्तरद्वन्द्व देखिन्छ। नेताहरूले कर्मचारीले काम गरेनन् भन्नुहुन्छ भने कर्मचारीहरू कानुन, विधि र प्रक्रिया बुझिदिनुपर्छ भन्नुहुन्छ। जननिर्वाचित भएकै आधारमा तत्काल काम गराउन खोज्ने प्रवृत्ति पनि देखिन्छ। तपाईंको अनुभवमा यस्तो राजनीतिक–प्रशासनिक द्वन्द्व किन देखिन्छ ? र, राजनीति र प्रशासनलाई एउटै लक्ष्यमा कसरी अघि बढाउन सकिन्छ ?

    जनप्रतिनिधिहरू जनताबाट निर्वाचित भएर आएका हुन्छन् र जनताका आवश्यकता तथा अपेक्षा पूरा गर्ने जिम्मेवारी उहाँहरूमाथि हुन्छ। अहिलेका नागरिक पनि नतिजामुखी छन्। त्यसैले जनप्रतिनिधिहरूले जनताका माग तत्काल पूरा गर्न खोज्नु स्वाभाविक हो।

    तर, कुनै काम तुरुन्तै गर्न सकिन्छ वा सकिँदैन भन्ने कुरा कानुन, स्थापित प्रक्रिया र परिस्थितिमा निर्भर हुन्छ। कर्मचारीको जिम्मेवारी जनप्रतिनिधिले उठाएका विषयलाई कार्यान्वयनमा लैजानु हो, तर त्यस क्रममा कानुन, विधि, नीति, जनताको वास्तविक आवश्यकता र राज्यले धान्न सक्ने क्षमतालाई पनि ध्यान दिनुपर्छ।
    यसका लागि कर्मचारीले ‘हुँदैन’ भनेर मात्र रोक्ने होइन, समस्या कहाँ छ र त्यसलाई कानुनी तथा नीतिगत रूपमा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा व्यावसायिक र वस्तुपरक सुझाव दिन सक्नुपर्छ। सही ढंगले कुरा बुझाउन सकियो भने जनप्रतिनिधिहरू पनि विश्वस्त हुन सक्नुहुन्छ।

    कतिपय अवस्थामा दुवै पक्षबाट कमजोरी हुन सक्छन्। तर त्यसलाई द्वन्द्वका रूपमा अघि बढाउनुको सट्टा समन्वय, सहकार्य र आपसी समझदारीबाट समाधान खोज्नुपर्छ। यदि कुनै कानुन वा नीतिले काममा अड्चन पुर्‍याएको छ भने क्षणिक दबाबमा प्रक्रिया मिचेर काम गर्नुको सट्टा त्यसको कानुनी गाँठो फुकाएर दीर्घकालीन समाधान खोज्नु उपयुक्त हुन्छ।

    जनप्रतिनिधि र कर्मचारी दुवैले एक–अर्काको भूमिका, अधिकार, सीमा र कानुनी प्रक्रियालाई बुझेर अघि बढ्न सके राजनीति र प्रशासनबीचको दूरी कम हुन्छ। अन्ततः दुवै पक्षको उद्देश्य एउटै हो,जनताको आवश्यकता पूरा गर्ने र राज्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने।

    १६–अन्त्यमा लोकसेवामा सफल हुन चाहने युवालाई तपाईंको सुझाव के छ ?

    पहिले आफ्नो गन्तव्य स्पष्ट बनाउनुपर्छ। बीचमा असफलता वा बाधा आए भन्दैमा यात्रा रोक्नु हुँदैन। किन सफल हुन सकिएन भनेर आफ्नो कमजोरी पहिचान गर्ने, त्यसलाई सुधार्ने र आवश्यकताअनुसार तयारीको बाटो परिवर्तन गर्ने हो। निरन्तर मेहनत, सही रणनीति, प्रविधिको उचित प्रयोग र सकारात्मक सोच राख्न सके लोकसेवामा सफलता हासिल गर्न सकिन्छ।