‘नेपालमा भविष्य छैन, पढाइ सके पनि अवसर छैन’ भन्ने निराशा पछिल्लो समय धेरै युवाको मनोविज्ञानमा देखिन्छ। तर आफ्नो क्षमता पहिचान गरेर सही दिशा, अनुशासन र निरन्तर मेहनतका साथ अघि बढे नेपालमै पनि करियरका पर्याप्त सम्भावना रहेको बताउनुहुन्छ लोकप्रिय प्रशिक्षक तथा लेखक विशाल तिमल्सिना।
लामो समयदेखि बैंकिङ तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा सहजीकरण गर्दै आउनुभएका तिमल्सिनासँग चैतन्य खबरले गरेको ‘चैतन्य संवाद’मा बैंकिङ करियर, रोजगारीका अवसर, बैंकिङ लोकसेवा तयारीको रणनीति र विद्यार्थीले ध्यान दिनुपर्ने विषयबारे विस्तृत कुराकानी गरेको छ। संवादका क्रममा उहाँले बैंकिङ तयारी कहाँबाट सुरु गर्ने, कुन विषयलाई प्राथमिकता दिने, प्रभावकारी अध्ययन योजना कसरी बनाउने र परीक्षामा ज्ञानसँगै लेखन तथा प्रस्तुतीकरण किन महत्वपूर्ण हुन्छ भन्नेबारे सरल ढंगले सुझाव दिनुभएको छ।
त्यससँगै आफ्नो शैक्षिक यात्राका अनुभव, विश्वविद्यालयको पढाइ र प्रतिस्पर्धात्मक परीक्षाबीचको अन्तर, वित्तीय साक्षरता, नेपालको बैंकिङ तथा बीमा क्षेत्रका सम्भावना र चुनौती तथा युवाले करियर छनोट गर्दा ध्यान दिनुपर्ने विषयमा पनि तिमल्सिनाले आफ्ना अनुभव र धारणा साझा गर्नुभएको छ। प्रस्तुत छ तिमल्सिनासँग चैतन्य खबरले गरेको विशेष चैतन्य संवाद
१– यहाँले आफ्नो बाल्यकालदेखि अहिलेसम्मको यात्रालाई फर्केर हेर्दा कसरी स्मरण गर्नुहुन्छ रु विशेषगरी आफ्नो अध्ययन र शैक्षिक यात्राका स्वर्णिम क्षणहरूलाई कसरी सम्झनुहुन्छ ?
मेरो जन्म काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–५, तत्कालीन साल्मेचाकल गाविसमा भएको हो। मैले कक्षा ५ सम्म नजिकैको तालेश्वर प्राथमिक विद्यालयमा अध्ययन गरेँ। सौभाग्यवश, मैले जहाँ–जहाँ अध्ययन गरेँ, चाहे विद्यालय होस् वा कलेज, उत्कृष्ट नतिजा हासिल गर्दै आएको छु। कक्षा ५ सम्म तालेश्वर प्राथमिक विद्यालयमा विद्यालय प्रथम भएको अनुभव छ।
त्यसपछि कक्षा ६ देखि ९ सम्म जनविकास उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेँ। त्यो विद्यालय मेरो घरबाट करिब एकदेखि डेढ घण्टा उकालो–ओरालो हिँडेर पुग्नुपर्ने ठाउँमा थियो। काभ्रे जिल्ला काठमाडौँ नजिकै भए पनि हाम्रो ठाउँ त्यतिबेला निकै विकट थियो। त्यहाँ पनि मैले विद्यालय प्रथम हुने अवसर पाएँ।
कक्षा १० मा पुगेपछि हाम्रो परिवार मकवानपुर जिल्लामा बसाइँ सर्यो। जुन विद्यालयमा मैले भर्ना भएर अध्ययन सुरु गरेँ, त्यहाँ पहिलोपटक माध्यमिक शिक्षा परीक्षा अर्थात् एसएलसीको पहिलो ब्याच सुरु भएको थियो। त्यहाँ पनि मैले विद्यालय प्रथम भएँ। अहिले पनि त्यहाँ जाँदा शिक्षकहरूले ‘हाम्रो पहिलो ब्याचको प्रथम विद्यार्थी, जसले विद्यालयको इज्जत राख्नुभयो’ भनेर खुसी व्यक्त गर्नुहुन्छ। त्यो मेरो लागि निकै भावुक र गर्वको क्षण हुन्छ।
त्यसपछि मैले कक्षा ११ र १२ तथा स्नातक तह व्यवस्थापन संकायको अध्ययन चाबहिलस्थित प्रिलियन्ट बहुमुखी क्याम्पसमा गरेँ। त्यहाँ दुर्गा नेपाल सरलगायत प्राचार्य तथा शिक्षकहरूले मलाई धेरै सहयोग गर्नुभयो। छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएँ र त्यहाँ पनि कलेज प्रथम भएँ।
त्यहाँ ७५ वटै जिल्लाबाट आएका करिब पाँच हजारभन्दा बढी विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्दै अध्ययन गर्ने र घुलमिल हुने अवसर पाउनु मेरो लागि निकै ठूलो अनुभव थियो।
त्यसपछि शंकरदेव क्याम्पसमा व्यवस्थापन विषयमा स्नातकोत्तर तह अर्थात् एमबीएस अध्ययन गरेँ। बिहान कलेजमा पढाउँथेँ भने बेलुका आफैँ स्नातकोत्तरको अध्ययन गर्थेँ। स्नातकोत्तर तहमा पनि लेखा विषयतर्फ उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम हुने अवसर पाएँ।
पढाइसँगै मैले २०७३ सालदेखि २०८३ सालसम्म करिब १० वर्ष विभिन्न कलेजमा अध्यापन तथा प्रशिक्षण गराउने काम पनि गरेँ। अध्यापनको पहिलो वर्षमै शतप्रतिशत नतिजा दिएर उत्कृष्ट शिक्षकको अनुभवसमेत बटुलेँ।
यसरी आफ्नो अध्ययन, अध्यापन र समग्र शैक्षिक यात्रालाई फर्केर हेर्दा म पूर्ण रूपमा सन्तुष्ट छु। मैले जुन क्षेत्रमा रुचि राखेँ, त्यसमा निरन्तर मेहनत गर्ने अवसर पाएँ र त्यसको परिणाम पनि राम्रो प्राप्त भएको महसुस गर्छु।
२– तपाईं अहिले कर्पोरेट क्षेत्रको व्यवस्थापन तथा नेतृत्व तहमा हुनुहुन्छ। एकातिर प्राज्ञिक अध्यापन र लेखनको काम छ भने अर्कोतिर कर्पोरेट नेतृत्वको जिम्मेवारी छ। यी दुई फरक क्षेत्रबीच कसरी तालमेल र सामञ्जस्य मिलाउनुहुन्छ ?
यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा समय व्यवस्थापन हो। कार्यालयको समय, जस्तै बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्मको समय, म पूर्ण रूपमा कार्यालयकै काममा समर्पित गर्छु। कार्यालयबाहेकको समय भने आफ्नो अध्ययन, अध्यापन, लेखन तथा अन्य प्राज्ञिक गतिविधिका लागि छुट्याउने गर्छु।
पढ्ने र पढाउने विषय मेरो सानैदेखिको रुचिको क्षेत्र हो। त्यसैले बिहान, बेलुका वा रातिको समयलाई आफ्नो रुचिअनुसार प्रयोग गर्छु। कहिलेकाहीँ बिहान सबेरै उठेर अध्ययन गर्छु भने कहिलेकाहीँ बेलुका वा राति अबेरसम्म पनि अध्ययन तथा लेखनमा समय दिन्छु।
पुस्तक तयारी, प्रशिक्षण सामग्री संकलन तथा लेखन मेरो नियमित कामजस्तै बनेको छ। अहिलेसम्म गोरखापत्र, नेपाल राष्ट्र बैंकका विभिन्न प्रकाशन तथा विभिन्न अनलाइन र पत्रपत्रिकामा ५० भन्दा बढी लेख प्रकाशित गरिसकेको छु।
मेरो प्रयास भनेको कार्यालयको समयमा कार्यालयको जिम्मेवारीलाई पूर्ण रूपमा निर्वाह गर्ने र कार्यालयबाहिरको समयलाई आफ्नो व्यक्तिगत अध्ययन, अध्यापन तथा लेखनमा सदुपयोग गर्ने हो। यसरी समयलाई व्यवस्थित रूपमा विभाजन गरेर दुवै क्षेत्रलाई सँगसँगै अगाडि बढाइरहेको छु।
मलाई लाग्छ, कुनै पनि क्षेत्रमा सफल हुन समयको सदुपयोग र निरन्तरता निकै महत्वपूर्ण हुन्छ। आफ्नो रुचिको कामका लागि समय निकाल्न सकियो भने व्यावसायिक जिम्मेवारीसँगै प्राज्ञिक तथा सिर्जनात्मक कामलाई पनि प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ।
३– प्राथमिक तहदेखि स्नातकोत्तर अध्ययन, अध्यापन र लेखनसम्म तपाईंको यात्रा उत्कृष्ट रह्यो। देशभरबाट लोकसेवा आयोग, बैंकिङ तथा विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका युवाले तपाईंको जस्तै उत्कृष्ट प्रदर्शन गर्न के कुरालाई आफ्नो मार्गदर्शनको आधार बनाउनुपर्छ ? तपाईंको सफलताको मार्गदर्शक सिद्धान्त के हो ?
मेरो विचारमा सबैभन्दा पहिले आफूलाई चिन्नुपर्छ। आफ्नो शैक्षिक पृष्ठभूमि, क्षमता, रुचि र आफू कुन क्षेत्रमा विशिष्ट छु भन्ने पहिचान गर्न आवश्यक छ। उदाहरणका लागि व्यवस्थापन पढेकाहरू बैंकिङ तथा वित्तीय क्षेत्रमा र लोकप्रशासन पढेकाहरू सार्वजनिक तथा निजामती क्षेत्रमा बढी उपयुक्त हुन सक्छन्।
त्यसपछि आफ्नो क्षमतालाई उपलब्ध अवसरसँग जोड्नुपर्छ। बजारमा आउने रोजगारीका विज्ञापन र अवसरलाई आफ्नो सबल पक्षसँग मिलाउन सकियो भने सफलताको सम्भावना बढ्छ।
तर नेपालमा बेरोजगारी र आर्थिक समस्याका कारण धेरै युवाले आफ्नो रुचिभन्दा पनि तत्काल रोजगारीको आवश्यकता हेरेर क्षेत्र छनोट गर्नुपर्ने बाध्यता छ। त्यसैले चाहेको क्षेत्र र उपलब्ध अवसरबीच तालमेल नहुँदा अपेक्षित सफलता हासिल गर्न कठिन हुन सक्छ।
यस्तो अवस्थामा पनि आफ्नो मुख्य क्षमता र रुचि पहिचान गरी भविष्यमा कहाँ पुग्ने भन्ने स्पष्ट दृष्टिकोण बनाउनुपर्छ। त्यसपछि सही मार्ग तय गरेर इमानदार प्रयास, नियमित अभ्यास र निरन्तरता कायम गर्न सकियो भने आफ्नो लक्ष्यमा पुग्न सकिन्छ। मेरो अनुभवमा आफ्नो क्षमता चिन्नु, अवसरसँग जोड्नु र निरन्तर प्रयास गर्नु नै उत्कृष्टताको मुख्य सूत्र हो।
४– बैंकिङ तयारीका लागि यहाँले पाठ्यक्रम र पुस्तकसमेत तयार गर्नुभएको छ। भोलि बैंकर बन्न चाहने विद्यार्थीका लागि प्रभावकारी तयारीका मुख्य आयाम वा रणनीति के–के हुन सक्छन् ?
यो मेरो आफ्नै अनुभवमा आधारित सुझाव हो। सबै प्रतिस्पर्धीका लागि एउटै तरिका हुबहु लागू नहुन सक्छ। तर प्रभावकारी तयारीका केही आधारभूत पक्ष छन्।
पहिलो, आफ्नो बलियो पक्ष र रुचिको क्षेत्र पहिचान गर्नुपर्छ। आफू कुन विषयमा राम्रो छु र कुन क्षेत्रमा रुचि छ भन्ने पहिचान गरेर त्यहीअनुसार तयारी गर्दा परिणाम छिटो र प्रभावकारी आउन सक्छ।
दोस्रो, विषयवस्तुको अवधारणा स्पष्ट हुनुपर्छ। कुनै एउटा पुस्तक वा सामग्रीमा मात्र निर्भर हुनु हुँदैन। विषयको मूल अवधारणा राम्रोसँग बुझेपछि त्यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न सक्ने क्षमता विकास गर्नुपर्छ।
तेस्रो, बैंकिङसम्बन्धी कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यासको ज्ञान आवश्यक छ। बैंकिङ क्षेत्रमा जाने हो भने नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, राष्ट्र बैंकका निर्देशन, मौद्रिक नीति, आवधिक योजना तथा बजेटका सान्दर्भिक विषय जान्नुपर्छ। त्यससँगै अन्तर्राष्ट्रिय अभ्यासलाई उत्तरमा जोड्न सकियो भने लेखाइ थप प्रभावकारी र स्तरीय हुन्छ। उदाहरणका रूपमा बैंकिङ सुपरीवेक्षणसम्बन्धी उत्तरमा बासेलका अन्तर्राष्ट्रिय मापदण्डलाई समेट्न सकिन्छ।
चौथो, लेखन शैली र प्रस्तुतिकरणमा विशेष ध्यान दिनुपर्छ। प्रतिस्पर्धात्मक परीक्षा पढाइको मात्र नभई लेखाइको पनि प्रतिस्पर्धा हो। जतिसुकै ज्ञान भए पनि तोकिएको समयमा प्रश्नले मागेको विषयलाई उपयुक्त ढाँचामा प्रस्तुत गर्न सकिएन भने त्यसको अर्थ रहँदैन। अन्ततः परीक्षाको सफलता नतिजाबाट मापन हुन्छ।
पाँचौँ, निरन्तर लेखन अभ्यास र सुधार आवश्यक छ। तयारी कक्षा, नमुना परीक्षा र प्रतिक्रियामार्फत आफ्ना कमजोरी पहिचान गर्नुपर्छ। अभ्यासमा अपेक्षाकृत कम अंक आउनु असफलताको संकेतभन्दा पनि सुधार गर्नुपर्ने ठाउँ देखाउने अवसर हो। त्यसैले निरन्तर लेख्ने, प्रतिक्रिया लिने र कमजोरी सुधार्ने बानी बसाल्नुपर्छ।
छैटौँ, धैर्यता, अनुशासन र दीर्घकालीन दृष्टिकोण राख्नुपर्छ। दिनमा १७–१८ घण्टा पढेर केही महिनामै नतिजा निकाल्छु भन्ने सोच मात्र पर्याप्त हुँदैन। मुख्य कुरा प्रश्नको मागअनुसार सही समयमा प्रभावकारी उत्तर प्रस्तुत गर्न सक्नु हो। बैंकिङलाई दीर्घकालीन करियरका रूपमा हेर्नुपर्छ। एउटा बैंकमा अवसर नपाए अर्को बैंकमा वा नेपाल राष्ट्र बैंकमा निरन्तर प्रयास गर्न सकिन्छ।
अन्ततः निश्चित समयतालिका बनाएर इमानदारी, आत्मसंयम र अनुशासनका साथ निरन्तर सार्थक प्रयास गर्नुपर्छ। ज्ञान, लेखन अभ्यास, सही रणनीति र निरन्तरताको संयोजनले नै प्रतिस्पर्धात्मक परीक्षामा सफल हुने आधार तयार गर्छ।
५– विश्वविद्यालयको पाठ्यक्रममा पढाइने विषयवस्तु र लोकसेवा, बैंकिङलगायत प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि आवश्यक ज्ञानबीच केही खाडल रहेको चर्चा हुने गर्छ। यहाँको विचारमा यो अन्तर कस्तो छ ?
मलाई लाग्छ, विश्वविद्यालयको पढाइमा मुख्यतः सैद्धान्तिक विषयवस्तुलाई बढी प्राथमिकता दिइन्छ। उदाहरणका लागि व्यवस्थापन पढ्दा व्यवस्थापन भनेको के हो, यसका सिद्धान्तहरू के–के हुन् भन्ने विषयमा बढी जोड दिइन्छ। तर प्रतिस्पर्धात्मक परीक्षामा त्यही सैद्धान्तिक ज्ञानलाई व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ।
उदाहरणका लागि व्यवस्थापनका सिद्धान्त मात्र जानेर पुग्दैन। यदि नेपालको बैंकिङ क्षेत्र वा राष्ट्रिय वाणिज्य बैंकका लागि तयारी गरिरहनुभएको छ भने त्यहाँ कुन व्यवस्थापन सिद्धान्त उपयुक्त हुन्छ र किन भन्ने कुरा विश्लेषण गर्न सक्नुपर्छ। त्यसैगरी, कार्यसम्पादन मूल्याङ्कनका परम्परागत र आधुनिक विधिमध्ये नेपालको सार्वजनिक संस्था वा बैंकिङ क्षेत्रमा कुन विधि बढी प्रभावकारी हुन्छ र त्यसको कारण के हो भन्ने विषयमा आफ्नो धारणा बनाउन सक्नुपर्छ।
अहिले विश्वमा कार्यसम्पादन मूल्याङ्कनका लागि तीन सय साठी डिग्री प्रतिक्रिया प्रणाली, सन्तुलित कार्यसम्पादन सूचकजस्ता आधुनिक विधि प्रयोग भइरहेका छन्। यस्ता विधि नेपालको बैंकिङ क्षेत्रमा लागू गर्न सकिन्छ कि सकिँदैन, लागू गर्न सकिन्छ भने कसरी लागू गर्ने र त्यसका लागि आवश्यक पूर्वाधार तथा संस्थागत क्षमता कसरी विकास गर्ने भन्ने विषयमा पनि विश्लेषण गर्नुपर्छ।
त्यसैले विश्वविद्यालयबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा नेपालको व्यवहारिक सन्दर्भसँग जोड्न सक्नुपर्छ। कुनै सिद्धान्त के हो भन्ने मात्र होइन, त्यो नेपालमा कसरी कार्यान्वयन भइरहेको छ, त्यसका कमजोरी के छन् र सुधारका सम्भावना के छन् भन्ने विषयमा गहिरो अध्ययन गर्न सकियो भने प्रतिस्पर्धात्मक परीक्षामा सफल हुने सम्भावना धेरै बढ्छ।
६– अहिले वित्तीय साक्षरताको विषयमा निकै चर्चा भइरहेको छ। तपाईंको विचारमा वित्तीय साक्षरता भनेको के हो ? नेपालको अवस्था कस्तो छ र यसलाई बढाउन के गर्नुपर्छ ?
वित्तीय साक्षरता भनेको वित्तीय प्रणालीमा उपलब्ध वित्तीय साधन, संस्था र उत्पादनलाई बुझेर त्यसको उचित प्रयोग गर्न सक्ने ज्ञान र क्षमता हो। व्यक्तिगत जीवनमा आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउने, सही वित्तीय निर्णय गर्ने, बचत गर्ने र वित्तीय अनुशासन कायम गर्ने क्षमता पनि वित्तीय साक्षरताकै हिस्सा हो।
उदाहरणका लागि आफूले कमाएको सम्पूर्ण आम्दानी खर्च नगरी भविष्यका लागि बचत गर्ने, कानुनले दिएको कर छुट तथा सुविधाको सदुपयोग गर्ने, जीवन बीमा वा अन्य वित्तीय साधनको आवश्यकता बुझ्ने जस्ता विषय वित्तीय साक्षरताभित्र पर्छन्।
नेपालको वित्तीय प्रणालीमा बैंकिङ, बीमा, पुँजीबजार, गैरबैंकिङ वित्तीय संस्था तथा सहकारी क्षेत्रलगायत विभिन्न क्षेत्र छन्। यी सबै क्षेत्रले उपलब्ध गराउने अवसर, जोखिम र वित्तीय उत्पादनका बारेमा आधारभूत जानकारी हुनु आवश्यक छ।
जस्तै, बैंकको निक्षेपमा ब्याजदर घटिरहेको अवस्थामा आफ्नो सम्पूर्ण पैसा एउटै साधनमा राख्नुको सट्टा आफ्नो जोखिम वहन गर्ने क्षमता र आवश्यकताअनुसार बीमा, पुँजीबजार वा अन्य वित्तीय साधनमा लगानी विविधीकरण गर्न सकिन्छ भन्ने जानकारी हुनु पनि वित्तीय साक्षरता हो। कुन साधनमा कति जोखिम छ र आफ्नो आर्थिक अवस्थाअनुसार कुन विकल्प उपयुक्त हुन्छ भन्ने निर्णय गर्न सक्नु अझ महत्वपूर्ण कुरा हो।
नेपाल राष्ट्र बैंकले २०७९ सालमा गरेको वित्तीय साक्षरता सर्वेक्षणअनुसार नेपालमा ५७.९ प्रतिशत जनसंख्या वित्तीय रूपमा साक्षर रहेको देखिन्छ। यो अवस्था सुधारोन्मुख भए पनि अझै ठूलो जनसंख्यालाई वित्तीय सेवाका बारेमा पर्याप्त जानकारी छैन। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा वित्तीय संस्थाको पहुँच र वित्तीय उत्पादनसम्बन्धी जानकारीको कमी चुनौतीका रूपमा रहेको छ।
वित्तीय साक्षरता बढाउन विश्वविद्यालय तथा शैक्षिक संस्थाका पाठ्यक्रममा वित्तीय साक्षरताका विषयवस्तु अनिवार्य रूपमा समावेश गर्नुपर्छ। त्यस्तै, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको वित्तीय साक्षरतासम्बन्धी निर्देशिकाअनुसार सञ्चालन हुने कार्यक्रम प्रभावकारी भए–नभएको नियमित रूपमा नियमन र अनुगमन गर्नुपर्छ।
वित्तीय संस्थाले कार्यक्रम सञ्चालन गरेको देखाउनका लागि मात्र नभई नागरिकले वास्तवमै वित्तीय उत्पादन, जोखिम, बचत, लगानी र वित्तीय निर्णयका विषयमा बुझ्ने गरी कार्यक्रम सञ्चालन गर्न सकेमा वित्तीय साक्षरताको स्तर उल्लेख्य रूपमा बढाउन सकिन्छ। अन्ततः वित्तीय रूपमा सचेत नागरिक नै बलियो र समावेशी वित्तीय प्रणालीको आधार हुन्।
७– बीमा कम्पनी भनेको के हो ? बीमाले कसरी काम गर्छ र यसको मुख्य उद्देश्य के हो ?
बीमा भनेको बीमक र बीमितबीच हुने करारीय सम्झौता हो। बीमितले निश्चित प्रिमियम तिर्छ र कम्पनीले सम्झौतामा उल्लेख भएका जोखिम बहन गर्छ। त्यसैले बीमा जोखिमविरुद्धको आर्थिक सुरक्षा कवच हो। यसले भविष्यका लागि बचत गर्ने अवसरसमेत दिन्छ।
८–बीमाले व्यक्तिको जीवनबाहेक अर्थतन्त्रमा पनि कसरी योगदान गर्छ ?
बीमाले व्यक्ति, परिवार र व्यवसायलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउँछ। दुर्घटना, स्वास्थ्य, मृत्यु, प्राकृतिक विपत्ति, सम्पत्ति तथा अन्य जोखिममा क्षतिपूर्ति उपलब्ध गराउँछ। २०७२ सालको भूकम्पजस्ता विपत्तिले पनि सम्पत्ति बीमाको महत्त्व देखाएको छ। विकसित मुलुकमा बैंकिङसँगै बीमा क्षेत्र ठूलो लगानीको माध्यम बनेको छ।
९– नेपालको बीमा क्षेत्रको वर्तमान अवस्था कस्तो छ ?
नेपालमा बीमा क्षेत्रलाई नेपाल बीमा प्राधिकरणले नियमन गर्छ। हाल १४ जीवन बीमा, १४ निर्जीवन बीमा, २ पुनर्बीमा र ७ लघुबीमा कम्पनी सञ्चालनमा छन्। तर नेपालको जीडीपीमा बीमा क्षेत्रको योगदान करिब ३.५ प्रतिशत मात्रै छ। वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्वमा बैंकिङको हिस्सा करिब ८२ प्रतिशत हुँदा बीमाको हिस्सा करिब ६–७ प्रतिशत मात्रै छ। यसले बीमा क्षेत्र अझै विस्तारको ठूलो सम्भावना रहेको देखाउँछ।
१०–बीमा कम्पनीले पैसा लिन्छ तर दाबी भुक्तानी गर्दा ढिलाइ गर्छ भन्ने गुनासो पनि सुनिन्छ। यसको मुख्य कारण के हो ?
यसको एउटा प्रमुख कारण बीमा साक्षरताको कमी हो। बीमा गर्दा कुन जोखिम कभर हुन्छ, दाबीका लागि के९कस्ता कागजात चाहिन्छ र सम्झौताका शर्त के हुन् भन्ने कुरा बीमितले बुझ्नुपर्छ। उदाहरणका लागि अग्नि बीमा गरेको सम्पत्तिमा बाढीबाट क्षति भएमा त्यसैबाट दाबी गर्न मिल्दैन, यदि बाढीको जोखिम सम्झौतामा समावेश छैन भने।
११– दाबी भुक्तानीका लागि कानूनी व्यवस्था के छ ?
आवश्यक प्रक्रिया र कागजात पूरा भएको अवस्थामा जीवन बीमाको दाबी तोकिएको कानूनी समयभित्र, सामान्यतः ७ देखि १५ दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ। सम्झौताका शर्त पूरा हुँदा कम्पनीले भुक्तानी गर्नैपर्छ। भुक्तानीमा समस्या आएमा बीमितले नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न सक्छ। त्यसैले बीमा क्षेत्रप्रतिको विश्वास बढाउन बीमा कम्पनी र बीमित दुवैले सम्झौताका शर्त, जोखिम र दाबी प्रक्रियाबारे स्पष्ट जानकारी राख्नु आवश्यक छ।
१२– अन्त्यमा अहिले धेरै युवामा ‘नेपालमा भविष्य छैन, पढाइ पूरा गरे पनि अवसर छैन’ भन्ने निराशा देखिन्छ। तर नेपालमै इमानदारी, अनुशासन, समर्पण र प्रतिबद्धताका साथ अघि बढ्ने हो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणहरू पनि छन्। विदेश गएपछि ठूलो मेहनत गर्ने तर नेपालमै त्यही मेहनत गर्न नसक्ने प्रवृत्ति पनि देखिन्छ। त्यसैले मेचीदेखि महाकालीसम्मका युवालाई नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु पर्दा तपाईं के भन्नुहुन्छ ?
मलाई लाग्छ, कुनै पनि व्यक्तिले सबैभन्दा पहिले आफ्नो सामर्थ्य र शक्ति पहिचान गर्नुपर्छ। तपाईं पढाइमा अब्बल हुनुहुन्छ भने लोकसेवा वा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि तयारी गर्न सक्नुहुन्छ। प्राविधिक ज्ञान वा कुनै विशिष्ट सीप छ भने त्यही क्षेत्रमा आफ्नो भविष्य खोज्नुपर्छ। त्यसैले पहिलो कुरा आफ्नो क्षमता, रुचि र प्राथमिकता पहिचान गर्नु हो।
अर्को कुरा, भूमण्डलीकरणको आजको समयमा सिङ्गो विश्व नै एउटा बजारजस्तो बनेको छ। स्वदेश होस् वा विदेश, आफ्नो सीप र क्षमताअनुसार श्रमको सम्मान र मेहनतको उचित प्रतिफल पाइन्छ भने त्यसलाई अवसरका रूपमा लिनुपर्छ।
लोकसेवा पढेर नाम निकाल्नु नै जीवनको एकमात्र विकल्प होइन। अन्य पेसा, व्यवसाय, नेतृत्व विकास, कृषि, पर्यटनलगायतका क्षेत्रमा पनि धेरै सम्भावना छन्। नेपाल कृषि र पर्यटनको उच्च सम्भावना भएको देश हो।
मुख्य कुरा भनेको आफ्नो रुचि र क्षमता भएको क्षेत्र पहिचान गरेर निरन्तर, अनुशासित र आत्मनियन्त्रित भएर अघि बढ्नु हो। आफ्नो मूल्याङ्कन गर्न, आत्मसम्मान कायम राख्न र आफूलाई नियन्त्रणमा राख्दै निरन्तर मेहनत गर्ने हो भने जुनसुकै क्षेत्रमा पनि उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ।